वडामै योजना सम्झौता र बैंक खाता खोल्दै पैंयू
पर्वत– दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले योजना सम्झौता तथा बैंक खाता खोल्ने कार्य वडाबाटै सुरु गरेको छ । नागरिकलाई सहज र सरल सेवा प्रदान गर्दै घण्टौंको समय लगाएर पालिका धाउनुपर्ने झन्झट हटाउनका लागि वडामै पुगेर योजना सम्झौताको काम थालिएको हो । पैयूँ गाउँपालिका–१ टकलाकबाट गत बुधबारदेखि शिविर सञ्चालन गर्न थालिएको हो पालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ अघि बढाइएको यो अभियान पालिकाका सातवटै वडामा सञ्चालन भइरहेको छ ।
पहिलोपटक गाउँपालिकाका सबै कर्मचारी वडा कार्यालयमै पुगेर योजना सम्झौताका काम गर्न थालिएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए । वडा नम्बर १, २, ३ र ५ मा गरी अहिलेसम्म ५० भन्दा बढी योजना सम्झौता भइसकेको उनले बताए । कर्मचारीसँगै स्थानीय वाणिज्य बैंकका कर्मचारीसमेत पुगेर सम्बन्धित उपभोक्ता समितिको खाता खोल्ने कार्य गरेका छन् ।
अध्यक्ष ठकुरीले वडाबाटै सम्झौता गर्ने कार्यले उपभोक्ता समिति र नागरिकलाई ठूलो राहत मिलेको छ । विशेषगरी उपभोक्ता समितिमार्फत् हुने योजना सम्झौतामा जोड दिइएको छ । सडक मर्मत, साना सिँंचाइ, खानेपानी, कृषि तथा पशुपालन फार्मका अनुदानमूलक योजना, विद्यालय मर्मत, खेलमैदान निर्माणजस्ता योजना वडामै पुगेर सम्झौता गरिएको अध्यक्ष ठकुरीको भनाइ छ ।
यो अभियानले सेवा प्रवाहमा पारदर्शिता, सहजता र सरलता ल्याउने विश्वास उनको छ । गाउँपालिकाका उपाध्यक्ष यामकुमारी रानाले यो कदमले ग्रामीण क्षेत्रमा सेवा पालिकाको पहुँच विस्तार गर्न सहयोग पुर्याएको बताए । उनले भनिन्, ‘यसले नागरिकलाई पालिकासम्म धाउनुपर्ने समस्या समाधान गरेर उनीहरूको समय र खर्च बचत गरेको छ ।’
पालिकाका प्राविधिक प्रमुख अनिलकमल न्यौपानेले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न र समय बचत गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए । उनले सम्झौता लगत्तै उपभोक्ताले सालवसाली योजनाको काम सुरु गर्ने भएकाले असारे विकासलाई रोक्न सकिने बताए । समयमै काम गर्दा गुणस्तर पनि हुने र यसमा पालिकाले आवश्यक सहजीकरण समेत गर्ने उनको भनाइ छ ।
‘पहिले पालिका धाउन धेरै समय र खर्च लाग्थ्यो । वडाबाटै सम्झौता गर्न पाउँदा हामीलाई सहज भएको छ ।’ भञ्ज्याङ पोखरी निर्माण योजनाका अध्यक्ष भवानीशंकर भुर्तेलले यो प्रयासले विकास निर्माणको कामलाई गति दिएको बताए । उनले भने, ‘योजनाका काम समयमै सम्पन्न गर्न यो कदम निकै उपयोगी भएको छ ।’
उज्यालो वडा अभियानका अध्यक्ष गंगाधर भुर्तेलले वडामा नै सेवा उपलब्ध गराउनु सकारात्मक रहेको भन्दै भने, ‘यसले नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुर्याएको छ ।’ गुरुङ गाउँ प्रतीक्षालय निर्माण योजनाका अध्यक्ष बेलबहादुर गुरुङले पनि वडाबाटै सम्झौता कार्य गर्नुले नागरिकलाई राहत दिएको बताए । उनले भने, ‘पहिले पालिका पुग्दा धेरै समस्या थियो, तर अब गाउँकै विकास सहज भएको छ ।’ यसअघि जिल्लाको महाशिला गाउँपालिका र जलजला गाउँपालिकाले पनि वडामै पुगेर योजना सम्झौता गर्ने शिविर सञ्चालन गरिसकेका छन् ।