Logo

दुर्गम क्षेत्रमा सडकले जगाएको विकास आशा

धनकुटा– संघीयता कार्यान्वयन हुनुभन्दा पहिला अढाइ सय वर्षदेखि पूर्वको प्रशासनिक केन्द्रको रूपमा रहेको धनकुटा पूर्वीपहाडी जिल्लाको प्रवेशद्वारको रूपमा समेत रहेको छ । संघीयता कार्यान्वयनमा आउनुभन्दा अगाडि पूर्वाञ्चलको सदरमुकामको रूपमा समेत रहेको थियो । सुनसरी, मोरङ, इलाम, भोजपुर, तेह्रथुम र संखुवासभा जिल्लाको बीचमा रहेको यस जिल्लाको मुख्य आम्दानीको स्रोत भनेको कृषि र पशुपालन नै रहेको छ ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका दूध र तरकारी उत्पादनका लागि प्रख्यात छ । त्यस्तै एसियाकै रसिलो सुन्तला पाइने स्थानको रूपमा सहिदभूमि गाउँपालिकाको खोकुलगायत खाल्सा क्षेत्र चर्चित छ यहाँको मुख्य आम्दानीको स्रोत नै सुन्तला रहेको छ । त्यस्तै नेपालमा उत्पादन हुने ८० प्रतिशत हिस्सा ओगटेको एभोकाडोको राजधानी घोषित धनकुटामा धनकुटा नगरपालिकाले एभोकाडो खेतीको प्रवर्द्धन गर्दै किसानलाई यस खेतीतर्फ आकर्षित गर्दै लगेको छ ।

पर्यटकीय सम्भावना बोकेको साँगुरीगढी गाउँपालिकामा पर्यटकीय पूर्वाधारको विकास भइरहेको छ । कृषि क्षेत्रको विकासमा अनुसन्धान गर्नका लागि धनकुटा नगरपालिकाको पारिपात्लेमा राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम, पाख्रिवासमा बंगुर अनुसन्धान कार्यक्रम तथा पाख्रिवास कृषि अनुसन्धान केन्द्र सञ्चालनमा रहेका छन् । यहाँबाट विकास गरिएको पाख्रिवासे कालो बंगुर नेपालभरि लोकप्रिय रहेको छ ।

कालोपत्रे भएसँगै दुर्गम क्षेत्रमा सडकले आशा जगाउँदै
धनकुटामा बुहप्रतीक्षित तीनवटा सडक एकसाथ निर्माण र कालोपत्रे भएसँगै दुर्गम क्षेत्रमा सडकले आशा जगाउँदै लगेको छ । धनकुटा सदरमुकमको बिहीबारे हटिया–तेलिया हुँदै तेह्रथुम जोड्ने सडक, गुठीटारबाट बाघखोर हुँदै छिँडी जोड्ने सडक र हिलेबाट छिन्ताङ हुँदै त्रिवेणी पुग्ने सडक निर्माण तथा कालोपत्रे भएसँगै धनकुटाको दुर्गम क्षेत्र जोड्ने यी सडक कोशी राजमार्गको सोझो सम्पर्कमा जोडिएका छन् ।

प्रदेश सरकार र स्थानीय सरकार स्थापना भएपछि प्रदेशको लगानीबाट ती सडक कालोपत्रे भएका हुन् । पछिल्लो अवधिमा सडक कालोपत्रे नहुँदा खासगरी वर्षायाममा हिलोको कारण बन्द हुने ती सडक कालोपत्रे भएपछि ग्रामीण क्षेत्रको उत्पादनले बजारमात्र पाएको छैन, सदरमुकाम र तराई नजिकिएको छ भने पहाडी जिल्लाबाट हुने तीव्र बसाइँसराइ रोक्नका लागि समेत सडकले भूमिका खेलेको छ ।

तीन वर्ष अघिसम्म धनकुटाको छथर जोरपाटी गाउँपालिका तेलियाका छगेन्द्रप्रसाद पराजुलीले हाटबजार र प्रशासनिक कामकाजका लागि सदरमुकाम धनकुटा बजार जान आउन सात घण्टा पैदल हिँड्नु पथ्र्यो । गाडीमा सदरमुकाम जानुपर्दा काजिमान, चुलाचुली, जोरपाटी, हिलेको घुमाउरो सडकमै दिन बित्थ्यो । तर, अहिले पराजुलीको घर मार्से र धनकुटा बजारबीचको भौतिक दूरी सडकले छोट्याएको छ ।

अहिले उनी गाउँमा चल्ने सार्वजनिक यातायातका साधनको प्रयोग गरेरै पनि डेढ घण्टामा सदरमुकाम आउजाउ गर्छन् । ७० वर्षसम्म थाप्लोमा गह्रुँगो भारी बोकेर आउजाउ गरेको सिधुँवा, तांखुवा खोला र खनियाँबासको उकालोमा सरर मोटर गुडेको देख्दा ८६ वर्षीय गुरुप्रसाद ओझालाई सपना जस्तो लाग्छ । पत्यारै लाग्दैन, भन्छन्, ‘बल र बैंस, यही ठाउँमा उकालो र ओरालो गरेरै बिताइयो, अब बाटो पनि राम्रो भयो, बजारका मान्छे नउठ्दै आइपुग्न सक्ने अवस्था भयो ।’

तेलियाको मुख्य हाटबजार सदरमुकामको बिहीबारे हो, त्यहाँका अधिकांश स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल र प्रशासनिक कामकाजका लागि पनि हिँडेरै बजार पुग्नुपर्ने बाध्यता थियो । अब त्यो अन्त्य भएको छ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ६० करोड ३६ लाख रुपैयाँ लागतमा पहिलो खण्डअन्तर्गत धनकुटाको बिहीबारे हटिया, बञ्चरे, तेलिया हुँदै तेह्रथुमको म्याङलुङ सडकको २३ किलोमिटर कालोपत्रे भएपछि स्थानीयको दैनिकी फेरिएको छ ।

सडक छेउमा स्थानीयले बाख्रा, तरकारी र फलफूल उत्पादन फार्ममा लगानी बढाएका छन् । सडकले छुने छथर जोरपाटी–४ तेलियाको गुठमा रहेको बाकेडाँडाँमा जोरपाटीका उपेन्द्र राईले करिब ५० रोपनी क्षेत्रफलमा बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् । अकबरे, केप्सीगम, गाँजर, गोलभेँडा जस्ता ताजा तरकारी र बाख्रा फार्मबाट उनले आम्दानी गर्न थालेका छन् । उनको उत्पादन बजार पुर्‍याउन कालोपत्रे सडकले सहज भएको छ ।

उपेन्द्रजस्तै मार्से, ओख्रे र परेवादिन क्षेत्रका किसानले पनि दूध, तरकारी र फलफूलका नयाँ व्यावसायिक परियोजना सुरु गरेको स्थानीय चन्द्र लिम्बु बताउँछन् । उनले भने, ‘मेहेनतका साथ काम गर्नेलाई नयाँ युगको सुरुवात भएको छ, उत्पादित वस्तु बिक्रीको समस्या छैन । बिहान, बेलुका जुनसुकै बेला यातायात र ढुवानीका साधन पाइन्छन् ।’ सदरमुकाम जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय किसानमा जागरण मात्र आएको छैन, आफ्नो घर जग्गा त्यत्तिकै छाडेर बसाइँ हिँडेका पनि व्यावसायिक योजना बनाएर गाउँ फर्कन थालेका छन् ।

१७ वर्षअघि बसाइँ सरेर मोरङको सलकपुर झरेका कर्कलेका बाबुराम निरौलाको परिवारले आफ्नो झण्डै १५० रोपनी जमिनमा आँप, लिचि तथा फलफूल र काष्ठ उत्पादन परियोजना सुरु गरेका छन् । दशकौं अघि बसाइँ सरेका छथर जोरपाटी–४ का भूपाल थापा र तेजप्रसाद दाहालले यो वर्ष पुरानै ठाउँमा नयाँ घर बनाएका छन् । स्थानीय मेघराज खतिवडा कालोपत्रे सडकले निर्जन गाउँमा आशाको सञ्चार गराएको बताउँछन् । उनका अनुसार अहिले पुराना मान्छे फर्केर आउँदैछन्, कसैले नयाँ घर बनाए, कसैले पुराना संरक्षण र मर्मत गर्दैछन् ।

वडा सदस्यसमेत रहेका ओखे्रका खिन्द्रबहादुर अधिकारी खतिवडाको भनाइमा सहमत छन् । उनी भन्छन्, ‘मार्से, कर्कले, पिप्ले, गुठलगायतका ठाउँ खाली थिए, पुराना घर डढेलोले खायो, धेरै भत्किए पनि । अहिले भने ती गाउँमा राता, सेता, निला छाना टल्किन थालेका छन् ।’ खाद्य बाली, फलफूल र पशुपालको सम्भावना प्रचुर रहेको यस स्थानमा ठूला साना लगानी आवश्यक रहेकोले सम्बन्धित निकायले यसमा विशेष लगानी गर्न आवश्यक रहेको छथरजोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए ।

सडक बनेसँगै यहाँका बाँझो जमिनलाई सदुपयोग गर्दै उत्पादन बढाउनका लागि पालिकले सक्ने कोशिस गरिरहेको र कृषिका ठूला कार्यक्रम सञ्चालनका लागि प्रदेश र संघ सरकारसँग समेत सहयोगका लागि प्रस्ताव गर्ने र त्यसका लागि पहल कदमी गर्ने काम भइरहेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । बिहीबारे हाट, बञ्चरे, तेलिया सडकले परेवादिन, तेह्रथुमको हमरजुङ, शुक्रबारे, फाक्चामारा, ओख्रे र सदरमुकाम म्याङ्लुङलाई धनकुटामा कोशी राजमार्गसँग छोटो दूरीमा जोड्छ ।

धार्मिक, राजनीतिक र ऐतिहासिक पर्यटनलाई टेवा
ट्र्याक सुरु भएको झण्डै ४० वर्षपछि हिले, उत्तरपानी, छिन्ताङ खण्डको १० किलोमिटरमा कालोपत्रे भएको छ । धनकुटाको सहिदभूमि गाउँपालिको मुख्य यो सडक पूर्वाधार विकास कार्यालय भोजपुरको ३० करोड ७७ लाख रुपैयाँको लागतमा धनकुटा नगरपालिकाको हिले बजारदेखि उत्तरपानी हुँदै थलथलेसम्मको १० किलोमिटरमा कालोपत्रे गरिसकिएको छ । २०३६ सालमा भोकमरी विरुद्धको आन्दोलनमा तत्कालीन पञ्चायती शासकद्वारा १६ सर्वसाधारणको हत्या गरिएको यो गाउँ धार्मिक, ऐतिहासिक र राजनीतिक महत्त्वले उत्तिकै चर्चित छ ।

२०५८ सालमै यो सडकको ट्रयाक खोलिएको थियो । सहिदभूमि गाउँपालिको खोकु गुणस्तरीय सुन्तला उत्पादनका लागि मुलुकमै प्रख्यात छ । अब यहाँबाट सुन्तलासँगै अदुवा, गोलभेडा र केरा निकासीमा सहज हुने स्थानीयको भनाइ छ । खाल्सा क्षेत्रका इस्टदेव बुढाहाङ राजाको दरबार, किराँती समुदायको आस्थाको प्रतिक त्रिवेणीस्थित खुवालुङ र प्रसिद्ध छिन्ताङ भगवतीको दर्शनका लागि पुग्ने यात्रीलाई पनि सहज भएको सहिदभूमि गाउँपालिका धनकुटा अध्यक्ष मनोज राईको भनाइ छ ।

धार्मिक, ऐतिहासिक र राजनीतिक अनुसन्धानको सर्किटको रूपमा विकास गर्ने गाउँपालिको योजना रहेको उनले सुनाए । जीविकोपार्जन सुधारका लागि यो सडक लाइफलाइन भएको थलथलेका नरेन्द्र राईको भनाइ छ । यद्यपि हिलेदेखि त्रिवेणीसम्मको बाँकी २३ किलोमिटर सडक सुधार र स्तरोन्नतिका लागि लगानी बढाइनुपर्ने उनको माग छ । यो सडकले सहिदभूमि गाउँपालिका भएर अरुण, तमोर र दूधकोशी नदीको संगममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी जिल्ला जोड्छ ।

सडक निर्माणको काम पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राई बताउँछन् । हिले–छिन्ताङ सडकले उत्तरपानी सिमसार, गोलभेंडा, अदुवा र सुन्तला पकेट क्षेत्र आँखीसल्ला, खोकु र ऐतिहासिक छिन्ताङ हुँदै धनकुटा, उदयपुर, भोजपुर र सुनसरीको संगम सप्तकोशीको जलमार्ग त्रिवेणी क्षेत्रका नागरिक लाभान्वित हुन्छन् । सहिदभूमिका सातवटै वडामा आन्तरिक सडक सञ्जाल विस्तार भइसकेकाले स्थानीयलाई उत्पादित कृषि उपज निकासीमा सहज भएको छ ।

गेलभेडा पकेट क्षेत्रमा सडकले जगाएको उत्साह
लामो समयको प्रतीक्षापछि धनकुटाको गुठिटार, बेलहरा, बाघखोर, छिँडी क्षेत्रका स्थानीयले कालोपत्रे सडकमा यात्रा गर्न पाएका छन् । २४ करोड ९९ लाख ५७ हजार रुपैयाँको लागतमा निर्माण भएको १२ किलोमिटर लामो सडक कालोपत्रेको काम पूरा भएपछि स्थानीयको उत्पादनले राम्रो मूल्य र बजार पाउने अवस्था बनेको छ । २०७६ सालमा कालोपत्रे सुरु भएको यो सडकको काम सक्न पाँच वर्ष लाग्यो ।

निर्माण कम्पनीसँग सम्झौता भएपछि कोरोना महामारीका कारण केही समय समस्या भएको थियो । गुठीटार छिँडी सडकले गोलभेंडा उत्पादन पकेट क्षेत्र र प्रस्तावित बेलहरा विमानस्थल क्षेत्रका स्थानीयलाई सुविधा पुगेको वडाध्यक्ष टंकप्रसाद रोइलाले बताए । सडकले कोशी राजमार्गको गुठिटारबाट सहिदभूमि गाउँपालिकाको प्रवेशद्वार छिँडी जोड्छ । यो सडक हिले, उत्तरपानी छिन्ताङ सडकको सहायक मार्गको रुपमा छ ।

यही सडकबाट बेलहरा हुँदै सहिदभूमि पुग्न सकिन्छ । २०८१ वैखाशमा कालोपत्रे सकिएको सडक छेउमा पसल र तरकारी संकलन केन्द्र सञ्चालनमा आउँन थालेका छन् । जसबाट स्थानीय किसानले आफ्नो उत्पादन घरछेउबाटै बिक्री गर्न पाएका छन् । सडक कालोपत्रे भएसँगै किसानको दैनिकी सहज भएको छ । स्थानीय रामप्रसाद लामिछाने सडक कालोपत्रेबाट दैनिक उपभोग्य वस्तुको बिक्री तथा उत्पादित कृषि उपज निर्यातका लागि सुविधा पुगेको बताउँछन् ।

सडक सञ्जाल व्यवस्थित भएसँगै ब्यापारीसमेत किसानका बारीमै पुग्न थालेका छन् । जसले गर्दा मूल्य पनि राम्रो पाउन थालेको उनीहरूको अनुभव छ । वडाध्यक्ष रोइलाका अनुसार व्यापारीमा मात्रै नभएर उत्पादित चिजवस्तु बिक्रीमा सहजता भएसँगै उत्पादनको क्षेत्रसमेत विस्तार हुँदै गएको छ । सदरमुकाम र तराईका उपभोक्ताले पनि ताजा तरकारी उपभोग गर्न पाउने अवस्था सडकले बनाएको छ ।

सडक उपयोगको खाँचो
धनकुटाको बिहीबारे हटिया तेलिया, हिले उत्तरपानी छिन्ताङ र गुठिटार बाघखोर छिँडीसम्मको सडक कालोपत्रे गर्न कोशी प्रदेश सरकारको झण्डै एक अर्ब १६ करोड रुपैयाँ लगानी भएको छ । लामो समयदेखि लघुउद्यम प्रवर्द्धन र ग्रामीण विकासका क्षेत्रमा काम गर्दे आएका विश्लेषक राजेन्द्रबहादुर प्रधान सडक समृद्धिको साधन भए पनि साध्य भने नभएको बताउँछन् ।

सडक र पूर्वाधार भएर मात्रै ब्यक्ति धनी र सम्पन्न हुन नसक्ने उनको भनाइ छ । सडक सञ्जाल व्यवस्थित भएका क्षेत्रमा सम्भाव्यताको पहिचान गरी उत्पादनमा लगानी बढाउनुपर्ने र त्यसका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारसहित किसान तथा उद्यमी लाग्नु पर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘पूर्वाधारमात्रै बनाएर हामी आर्थिक समृद्धिको लक्ष्य भेट्न सक्दैनौं, त्यसका लागि भएका पूर्वाधारको अधिकतम् उपयोग गर्नेतर्फ योजना बनाएर कार्यान्वयनमा लाग्न आवश्यक छ ।’

सडकको सही उपयोग गर्नका लागि अब उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्रदेश र केन्द्र सरकारलाई बाध्य पार्नुपर्ने विज्ञहरूको सुझाव छ । कृषि पर्यटन अभियन्ता तथा लेखक जीवनप्रसाद राई धनकुटामा प्रदेश सरकारले निर्माण गरेका तीनवटा सडक धनकुटाको आर्थिक समृद्धिको आधार तयार भएको भएको बताउँछन् । यी सडकका माध्यमले ग्रामीण क्षेत्रमा लघुउद्यम, घरबास कार्यक्रम र अर्गानिक उत्पादन फस्टाउने मौका पाउनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्