झापामा सुपारी बिकेन, किसान चिन्तित
बिर्तामोड– सुपारी बिक्री नभएपछि झापाका किसान चिन्तित भएका छन् । फूल लाग्दा नै बिक्री हुने सुपारी खरिद गर्न हालसम्म व्यापारी नआएपछि किसानहरू चिन्तित भएका हुन् । भदौं अन्तिमदेखि असोज १५ सम्म बोटबाटै बिक्री हुने सुपारी खरिद गर्न हरेक वर्ष व्यापारीहरूको भिडभाड हुने झापाका सुपारी उत्पादन हुने मुख्य स्थानहरु बाहुनडाँगी, शनिश्चरे र बुधवारेका सुपारी बगानमा यति वेला व्यापारीहरु देखा परेका छैनन् ।
झापा मेचीनगर–४ का जीवनकुमार पाण्डेले हरेक वर्ष आफ्नो सुपारी बगानबाट २ लाख ४० हजारसम्म आम्दानी गरिरहेकोमा यसवर्ष सुपारी किन्न अहिलेसम्म व्यापारीहरु नआउँदा आफू अचम्ममा परेको बताए । आफूले धान मकैं लगाउने बाली मासेर करिब डेढ विगाह क्षेत्रफलमा सुपारी लगाएको बताउँदै उनले सुपारी लगाएपछिको पहिलो उत्पादनबाट ५० हजार र त्यसपछि साढे २ लाख रुपैयाँसम्म आम्दानी गरेको बताए ।
गत वर्षसम्म ५/६ जना व्यापारी आएर मुल्य बढाबढ गरे पनि यस वर्ष एक जना पनि व्यापारी नआएको उनको भनाइ छ । सुपारी बेचेर धान खरिद, घर खर्च, चाडपर्व धान्ने गरे पनि अहिले सुपारी बिक्री हुने कुनै संकेत नभएकाले आफूहरु समस्यामा परेको पाण्डेकी श्रीमती चन्द्रा पाण्डे बताउँछिन् । झापामा ७० हजार परिवारको बगानमा लगाएको सुपारी बिक्री नहुँदा अलपत्र परेको नेपाल सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष नीलकण्ठ तिवारीले बताए ।
झापाका बगानमा लटरम्म सुपारी उब्जाएका किसानहरू यतिवेला व्यापारी कुर्दै बसिरहेको उनको भनाइ छ । धान मकैंभन्दा सजिलो र धान मकैंले १० वर्षमा दिने उत्पादनबराबर एकै वर्षमा दिने सुपारीमा किसानको आकर्षण बढ्दो भएको उनले बताए । तिवारीले हरेक वर्ष सुपारी लगाउनेहरु बढ्दै गइरहेको झापामा सुपारी बिक्री नहुँदा किसानलाई समस्या परेको बताए ।
गत २०७९ साउन १६ गते राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन विकास समितिले नेपालको सुपारीको डिएनए परीक्षण गरेर मात्र निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेपछि सुपारी बिक्रीमा समस्या सुरु भएको उनले बताए । डिएनए परीक्षणका लागि सरकारले अहिलेसम्म ल्याब राख्ने काम नै सुरु नगरेको तिवारीको भनाइ छ । के हो डिएनए, किन गर्ने जस्ता अन्योलका बीच सुपारीको व्यापारमा असर गरेको उनको दाबी छ ।
डिएनए सम्बन्धमा नार्कका वैज्ञानिकहरूले सुपारीको बोटको मात्र डिएनए परीक्षण सम्भव हुने बताउँदै पाकेको सुपारीको डिएनए हुँदैन भन्ने धारणा वैज्ञानिकहरूको रहेको अध्यक्ष तिवारी बताउँछन् । गत वर्ष सुपारी प्रशोधनकर्ताहरूले डिएनएका बारेमा थाहा नभएका कारण वैना गरेको सुपारी खरिद गरेर प्रशोधन गर्ने कतिपय व्यापारीहरुले अहिलेसम्म बिक्री गर्न नसकेको तिवारीले जानकारी दिए ।
उदयपुरदेखि झापासम्म एक लाख किसानले सुपारी लगाएको र अहिलेसम्म ती किसानहरूको सुपारी बिक्री नभएको उनको भनाइ छ । ३५ देखि ४० वर्षसम्म उत्पादन दिने भएपछि धेरैले धानबाली छोडेर सुपारी रोप्दै आएको उनले बताए । संसद्को विषयगत समितिले सुपारीको डिएनए परीक्षण गरेर मात्र निर्यात गर्ने अनुमति दिन सरकारलाई निर्देशन दिएका कारण पूर्वी नेपालको प्रमुख नगदे बाली सुपारीको व्यापार अन्योलमा परेको जनाए ।
सरकारी नीतिगत अकर्मण्यताका कारण झापादेखि उदयपुरसम्म सुपारी खेतीमा आवद्ध एक लाख किसानको भविष्यमाथि कालो बादल मडारिन थालेको उनको भनाइ छ । बाहुनडाँगीमा जंगली हात्तीले धान, मकैलगायतका अन्न बाली खाएर नोक्सानी गर्न थालेपछि किसानहरू जीविकाको लागि सुपारी, चियालगायतका नगदे बालीको उत्पादनतर्फ आकर्षित भएको जनाउँदै उनले सुपारीसमेत नबिक्ने समस्या आएपछि किसानहरूको विचल्ली भएको जनाए ।
सुपारी उत्पादक किसान संघका अध्यक्ष तिवारीले सुपारीको डिएनए परीक्षणमा अल्झिन नहुने बताउँदै सरकारले दानाको डिएनए परीक्षण हुनुपर्ने दाबी गरे पनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डिएनए सम्भव नहुने जनाए । झापा भारतको खुला सीमा भएको जिल्ला भएकाले दैनिकजसो खुला सीमाको फाइदा उठाउँदै सुपारी तस्करी भइरहेको बताउँदै उनले यसको नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
नेपालमा १४ टन सुपारी उत्पादन हुने र नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको उनले जनाए । झापाको बाहुनडाँगी, बुद्धशान्ति, अर्जुनधारा, मेचीनगरलगायतका बिभिन्न स्थानमा सुपारी उत्पादन हुने गरेको बताउँदै उनले झापामा मात्र करिब १० हजार टन सुपारी उत्पादन हुने गरेको जानकारी दिए ।