संघीयताले मूर्ति बनाउने पेशा नै संकटमा «

संघीयताले मूर्ति बनाउने पेशा नै संकटमा

मुलुकमा कच्चा पदार्थको अभावले ढुंगाको मूर्ति बनाउने पेशा नै संकटमा पर्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता जनाएका छन् । ढुंगाको मूर्ति बनाउनका लागि आवश्यक पर्ने ब्ल्याक लाइमस्टोनको ढुंगाको सहज आपूर्ति हुन नसक्दा पेशा नै संकटमा पर्दै गएको हो ।
ढुंगाको मूर्ति बनाउन चुनाको मात्रा बढी भएको ब्ल्याक लाइमस्टोन प्रयोग गरिन्छ । तर, यसको सहज रूपमा उपलब्ध हुन नसक्दा नयाँ पुस्ता यस क्षेत्रमा प्रवेश गर्न नचाहेको जानकारहरू बताउँछन् । यतिमात्र नभइ पुरानो पुस्ताले पनि हात झिक्दै गएको यस क्षेत्रसँग सम्बद्ध व्यवसायी तथा कलाकारहरू को भनाइ छ । मूर्ति बनाउनका लागि पहिले हात्तिवनको ग्वाल्ठाबाट ढुंगा ल्याउने गरिन्थ्यो ।
त्यसपछि चन्द्रागिरी पहाडको फर्पिङ, टिस्टुङ क्षेत्रबाट ल्याउने गरेकोमा हाल त्यस क्षेत्रमा किनबेच नै बन्द भएपछि पेशा समस्यामा परेको उनीहरूको भनाइ छ । ढुंगाको मूर्ति व्यवसायमा आवद्ध कलाकारहरूका अनुसार २०४६ सालपछि ढुंगाको मूर्तिमा चासो र माग बढ्दा व्यवसाय फस्टाए पनि मुलुक संघीयतामा गएपछि कच्चा पदार्थकै अभाव झेल्नु परेको गुनासो गर्छन् ।
विशेष गरेर स्थानीय सरकार अनुसारका फरक–फरक नियम कानुन र एक अर्का तहबीच समन्वयको अभावका कारण ढुंगाको अभाव भएको कलाकार तथा प्राज्ञ धर्मराज शाक्य बताउँछन् ।
गुणस्तरीय ढुंगा नपाएपछि कम गुणस्तरको ढुंगाबाट मूर्ति बनाउँदा स्तरीय नहुने र समग्र व्यवसाय नै बद्नाम हुने जोखिम पनि बढेको शाक्यले उल्लेख गरे । ढुंगा नपाएका कारण मूर्ति बनाउने पेशा गर्दै आएका कलाकारहरू अन्यत्र जाने क्रम बढेकाले सिंगो व्यवसाय नै संकटमा पर्ने तथा परम्परागत कला र संस्कृति नै लोप हुने खतरा बढेको छ । कलाकार शाक्यले यसको विकास र प्रर्वद्धनका लागि छुट्टै अध्ययन अध्यापन गर्ने गरी स्वायत्त संस्था गठन गर्नुपर्ने, छुट्टै औद्योगिक ग्राम बनाउनुपर्ने लगायतका सुझाव दिए ।
विगतको तुलनामा स्वेदशी बजार माग घटेपछि विदेशमा अझै पनि नेपाली कला र संस्कृति झल्किने ढुंगाको मूर्तिको माग बढ्दो रहेको छ । बजारमा आकार हेरेर एउटा मूर्तिको १ लाख ५० हजारदेखि १५ लाख, २० लाख, २५ लाखसम्म पर्ने र कुनै कुनैको अझै बढी पनि पर्छ । एउटा सामान्य आकारको भैरवको मूर्ति बनाउन ६ महिना लाग्ने कलाकारहरूकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्