मेलाको हर्षोल्लासले तीस किलोमिटरसम्म व्यापार
बारा– प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाको हर्षोल्लासले यस पटक तीस किलोमिटरसम्मका बजारमा व्यापार बढाएको छ । बलिको चर्चा र मन्दिरको गाथाले प्रसिद्ध बढाएको मेलामा दर्शनार्थीहरूको बसाई लम्बिएपछि रौतहटको चन्द्रपुर, गौर, गरुडा, बाराको पथलैया, सिमरा, अमलेखगन्ज र पर्साको वीरगन्जसम्म मेलाले व्यापार बढाएको हो ।
‘मन्दिरको प्रसिद्धि यस पटक इन्टरनेटको पहुँचले देश तथा विदेशमा व्यापक प्रचार भएपछि मेला हेर्न आएका धार्मिक पर्यटकले बसाई लम्ब्याउँदा मेलाको व्यापार तीस किलोमिटर वरपरका सहर, बजारसम्म फैलियो ।’ मेलालाई नजिकबाट नियालेका जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले यस पटकको मेलामा श्रद्धालुहरूको सुविधाका लागी व्यवस्थापन राम्रो भएको कारण दर्शनार्थीहरु दुई तीन दिन बस्ने र मेला बाहेक वरपर सहर, बजार घुम्ने र थप किनमेल गरेको बताए ।
मेलाको हर्षोल्लासले चारैतिर सबै क्षेत्रका व्यापार व्यवसायमा करोडौंको व्यापार भएको थियो । विशेष गरी होटल, रेस्टुरेन्ट, रैथाने नेपाली उत्पादनको व्यापार असीमित भएको थियो भने साना तथा ठूला सवारी साधनले यात्रु सेवा वापत लाखौँको व्यापार गर्न सफल भएको यातायात व्यवसायीहरू बताउँछन् ।
औपचारिक रूपमा मंसिर महिनाभर गढीमाई मेला लाग्ने भए पनि देश विदेशका श्रद्धालुहरू आउने क्रम नरोकिएकोले यस पटक माघे संक्रान्तिसम्म मन्दिरमा श्रद्धालुहरूको भिड रहने गढीमाई मेला व्यवस्थापन समितिका महासचिव वीरेन्द्रप्रसाद यादबले बताए । मेलाको बलि दिने समयमा छुटेका बलि माघे संक्रान्तिका दिन मात्र चढाइने भएकाले पनि मेलाको असर दुई तीन महिनासम्म रहने हुँदा यसको प्रत्यक्ष लाभ व्यापारमै पर्ने महासचिव यादबको भनाइ छ ।
मेला स्थलभन्दा २६ किमी पर सिमरा, पथलैया, अमलेखगन्जका पाँच तथा तीन तारेदेखि सामान्य प्रकृतिका सयौँ होटलले अत्यधिक भिडका कारण सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न नसकेको दुखेसो गरे । होटल व्यवसायी संघ बाराका वरिष्ठ उपाध्यक्ष शम्भु श्रेष्ठले क्षमताभन्दा बढी सेवा दिने प्रयास भएको तर उच्च चाप भएपछि भने जस्तो सेवा दिन नसके पनि प्रयास गरेको बताए । होटल, रेष्टुरेन्टले बढी लाभ लिन मेला परिसरमा भारतबाट ल्याइएका मनोरञ्जनका साधनहरू रोटे पिङ, सर्कस, रोलरकोस्टर, थिएटर सञ्चालन गरेका थिए ।
मेला स्थल बाहेक ५ किमी पर रहेको बाराको सदरमुकाम कलैयामा सेकुवा, मदिरा, कपडा, पूजा सामग्री, मिनिरल वाटर, खाद्यान्न व्यापार महिनाभर पाँच गुणसम्म वृद्धि भएको व्यवसायी सुजन महतोले बताए । सामान्य पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएको महतोले मंसिर भर १३ लाख बढीको व्यापार गरेको बताए । महासचिव यादबले यस पटक मेला भर्न आएका लाखौँ श्रद्धालुहरू मेला र मन्दिरको व्यवस्थापनबाट विगतमा जस्तो दिक्क बन्नु पर्ने अवस्था अन्त्य भएको दाबी गरे ।
मेलामा यस पटक मन्दिर दर्शनको व्यवस्थित प्रक्रिया, सुरक्षा घेराबन्दी, पंक्तिबद्ध दर्शन प्रणाली, विशेष पूजा गर्न टिकट, नि:शुल्क स्वास्थ्य शिविर, आकस्मिक सेवा टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्वयंसेवकहरूको परिचालन गरिएको थियो । गढीमाईसँग भाकल माग्ने र पूरा भएपछि पशु बली चढाउने परम्पराले बढाएको मेलाको हर्षोल्लास नेपालकै सांस्कृतिक सम्पदाको रूपमा स्थापित बन्न पुगेको छ ।