Logo

साउनयता पाँच महिनामा संसद् भवनको काम तीन प्रतिशतमात्र

काठमाडौं– सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनको प्रगति पाँच महिनामा तीन प्रतिशतमात्र बढेको छ । गएको साउन पहिलो साता ८१ प्रतिशत रहेको भौतिक प्रगति पुस लाग्दासम्म ८४ प्रतिशतभन्दा माथि जान सकेको छैन ।

सभामुख देवराज घिमिरेले साउनमा संसद् भवन निर्माणको प्रगति विवरण बुझ्दै निर्माणमा भएको ढिलासुस्तीप्रति सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । उनले मंसिरभित्र पाँच वटा भवनमात्र भए पनि निर्माण पूरा गरेर हस्तान्तरण गर्न भने पनि मंसिर नाघिसक्दा भौतिक प्रगति ८४ प्रतिशतमात्र पुगेको छ । संसद् भवन निर्माणको तेश्रो पटक थपिएको म्याद २०८१ चैत १८ सम्म रहेको छ ।

निर्माण सुरु भएको ३ वर्षमा पूरा गर्न पहिलो चरणको काम २०७६ असोज १६ सुरु भएको थियो । तेश्रो म्याद थप भएको ८ महिना पूरा हुन लाग्दा पनि अझै धेरै काम बाँकी छ । सम्झौताअनुसार २०७९ असोजमा भवन निर्माण भइसक्नुपर्ने थियो । कोभिडका कारण सुरुमा ६ महिना म्याद थप गरिएको थियो । त्यसअनुसार २०७९ चैत मसान्तसम्म निर्माण पूरा गर्नुपर्नेमा अर्काे एक वर्ष थपेर २०८० चैत १२ सम्म पुर्‍याउँदा पनि आयोजनाको अवस्था नाजुक थियो ।

कुल ५ अर्ब ६७ करोड २६ लाख (भ्याटसहित) लागतमा संसद् भवनको सिभिल वर्कको काम तुँदी सेक जेभीले पाएको थियो । कम्पनी र सहरी विकास तथा भवन निर्माण विभागबीच २०७६ असोज १६ मा सम्झौता भएको थियो । पहिलो चरणअन्तर्गत सिभिल वर्कको काम फिनिसिङको चरणमा रहेको विभागले जनाएको छ । दोश्रो चरणको साजसज्जाको काम पनि भइरहेको छ । अब पनि तोकिएको समयमा काम पूरा नभए हर्जाना तिराएर आयोजना पूरा गर्ने विभागले बताएको छ । २०७६ असोज १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र संसद् भवनको शिलान्यास गरेका थिए ।

सिंहदरबारभित्र १५५.७७ रोपनीमा प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, साझा लबी भवन, अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय, संसदीय समितिको भवन, संसदीय सचिवालय भवन, चमेना गृह, प्रेस भवन, सात सय सवारीसाधन अट्ने पार्किङ र सुरक्षा भवन निर्माण भइरहेका छन् । निर्माण कम्पनीले भवन निर्माण गरेर हस्तान्तरण गरेपछि पनि इन्टेरियर डिजाइन, सेक्युरिटी सिस्टम र डाटा सिस्टम थप निर्माण गर्नुपर्ने हुन्छ ।
२४ हजार ३ सय ८० स्क्वायर मिटर (ग्राउन्ड एरिया) मा १२ वटा भवन निर्माण हुनेछन् भने कुल फ्लोर एरिया ७७ हजार ६ सय ५१ स्क्वायर मिटर रहेको छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १ सय ६५ जना, समानुपातिक १ सय १० जना र राष्ट्रिय सभाका ५९ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्