गण्डकी प्रदेशमा ८ लाख पर्यटक भित्र्याउने लक्ष्य

पोखरा-नेपालमै सबैभन्दा धेरै पर्यटकीय गतिविधि भएको गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल भ्रमण वर्ष सन् २०२० को विभिन्न जनजातिको भेषभूषा, झाँकीसहित बुधबार उद्घाटन गरिने भएकोे छ । बुधबार काठमाडौंको दशरथ रंगशालामा भव्य कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेखि भण्डारीले भ्रमण वर्षको उद्घाटन गरेसँगै हरेक प्रदेशमा पनि बुधबार नै प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशमा पनि भ्रमण वर्षको उद्घाटन भएको थियो ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि नेपाल भ्रमण वर्षको भव्य रूपमा शुभारम्भ गर्ने तयारी गरिएको नेपाल भ्रमण वर्ष–२०२० गण्डकी प्रदेशका संयोजक तथा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार ३ बजेपछि नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने भएका हुन् ।
पोखराको लेकसाइडस्थित फिस्टेलगेट अगाडिदेखि विभिन्न जनजातिको भेषभूषामा झाँकीसहितको बृहत् -यालीले प्रदर्शन गरी बाराहीघाटमा पुगेर औपचारिक शुभारम्भ गरेको घोषणा गर्ने मन्त्री लम्सालले बताए । उनले भने, “हाम्रो प्रदेशले सन् २०१९ लाई प्रदेशको आन्तरिक भ्रमण बर्षको घोषणा गरेका थियौं, त्यसको समिक्षा हुँदै नेपाल भ्रमण वर्षलाई प्रदेशबाट कसरी सहयोग पु-याउन सकिन्छ त्यसको बारेमा चर्चा गरिन्छ ।” प्रदेशका पर्यटकीय गतिविधिसहित यहाँको कला संस्कृतिलाई समेटेर नेपाली, अंग्रेजी र चाइनिज भाषामा पुस्तकसमेत प्रकाशनको तयारी गरिएको मन्त्री लम्सालले जनाए ।
नेपाल सरकारको भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने अभियाना आफ्नो क्षेत्रबाट समेत सकारात्मक पहलन हुने बताएका मन्त्री लम्सालले प्रदेशले गत वर्ष घोषणा गरेको १ सय १० पर्यटकीय गन्तव्यमा यसै वर्ष केही पर्यटकीय गन्तव्यको छनोट गरी सरकारले केही लगानी गर्ने भएको बताए । उनका अनुसार प्रदेशका ११ जिल्लाहरूमध्ये हरेक जिल्लामा करिब ४ वटा पर्यटकीय गन्तव्यको रूपमा पूर्वाधार तथा सौन्दर्यकरणका लागि ४० लाखको दरले अनुदान दिने तयारी गरिएको जनाए । प्रदेश सरकारले प्रति जिल्ला १ करोड ६० लाखको दरले प्रदेशका ११ जिल्लामा १७ करोड ६० लाख रुपैयाँ पर्यटन पूर्वाधारमा लगानी गर्ने भएको हो । उक्त बजेट विनियोजना गर्न कार्यविधिसमेत निर्माण गरिएको उनले जनाए ।
निर्वाचित सांसदको संयोजकत्वमा गठित समितिको सिफारिसको आधारमा प्रदेशले जारी गरेको पर्यटकीय गन्तव्यलाई नै प्रथामिकतामा राखेर लगानी गर्न लागेको मन्त्री लम्सालले जनाए । आगामी वर्षमा दोस्रो प्रथामिकताको आधारमा पुनः पर्यटकीय गन्तव्यमा लगानी गर्दै जाने प्रदेश सरकारको योजना रहेको उनले जनाए ।
प्रदेशका ११ जिल्लाका कला संस्कृति झल्कने गरी सरकारी तथा गैरसरकारी विभिन्न संघ–संस्थाहरूको सहभागितामा जनवरी एक तारिकमा पोखरामा पनि नेपाल भ्रमण वर्षको अवसरमा भव्य उद्घाटनको तयारी गरिएको नेपाल भ्रमण वर्ष–२०२० गण्डकीका सहसंयोजक अग्नी कंडेलले बताए । पोखरा महानगरपालिकाका ३३ वटै वडाबाट समेत नेपाल भ्रमण वर्षको अवसरमा भिजिन नेपाल–२०२० लेखिएको लोगो अंकिल बेलुन उडाउने कार्यक्रम राखिएको उनले जनाए । प्रदेशका पुरातात्विक तथा ऐतिहासिक वस्तुको संरक्षणमा आफूहरूको ध्यान जाने भएको सहसंयोजक कँडेलले बताए । प्रदेशका नयाँ पर्यटकीय पदमार्गको खोजी र पुराना पदमार्गको मर्मत संहारमा गर्नुपर्ने अबस्था रहेको उनले जनाए । पोखराका फेवा, बेगनास, रूपालगायतका ९ वटा तालको संरक्षण र तालमा जान आउनको लागि यातायाताको कनेक्टिङ गर्ने सहसंयोजक कँडेलले जनाए । प्रदेशमा करिब ८ लाख पर्यटक भिœयाउने लक्ष्यका साथ आफूहरूले गृहकार्य गरेको उनले जनाए । पर्यटन प्रबद्र्धन गर्न मात्र १८ करोडको योजना बनाएको सहसंयोजक कँडेलले बताए । ७५ करोडको लागतमा ५ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सेमिनार हल निर्माण गर्ने योजनासहित एक अर्बको योजना बनाएको उनले जनाए ।
पोखराको ऐतिहासिक हिमागृह र रत्नमन्दिर खुला गरी नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने आन्तरिक तयारी गरिए पनि हाल हिमागृह र रन्तमन्दिर खुला नहुने भएको उनले गुनासो गरे । उनले भने, “यो हाम्रो क्षेत्रको पर्यटकीय गन्तव्य हो, यसलाई पार्कका रूपमा पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनुपर्छ नकी कसैलाई ठेक्कामा दिएर रिसोर्ट चलाउनु दिन हँुदैन यसमा पोखरेलीको विरोध हुन्छ ।” पोखरा पर्यटकीय दृष्टिले निकै रमणिय सहर भएकाले पोखरासँग जोडिने देशका अन्य सहरहरूबीचको सडक सञ्जाल फराकिलो र सहज हुनुपर्ने पोखरा पर्यटन परिषद्का महासचिव दिल गौतमले बताए । नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउनु ठूलो कुरा नभएको बताएका उनले सडक मार्गसँगै हवाई मार्गबाट समेत पोखरालाई अन्य प्रदेशसँगको कनेक्टिभिटिमा जोड दिए ।
यसैबीच, पोखरामा पनि नेपाल भ्रमण वर्षको सबै जातजाति तथा संघ–संस्थाको सहभागितामा नेपाल भ्रमण वर्षको बुधबार उद्घाटन हुने तयारी गरिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । उक्त उद्घाटनको अवसरमा पन्चे बाजासहित लिम्बु, पुन, गुरुङ, मगर लगायतका समुदायको नृत्यको साथमा कौडा, घाँटु, थाल, लठ्ठी, कृष्ण चरित्र, तायाः मचा नृत्य प्रस्तुत गरिने भएको सांस्कृतिक संयोजक गणेश भट्टराइले बताए । रत्नमन्दिर र हिमागृह पर्यटकीय गन्तव्यको रूपमै केही हप्तामै खुल्ला गरिने भएको मन्त्री लम्सालले बताए । भ्रमण बर्षको अवसरमा खुला गर्ने भनिए पनि आन्तरिक तयारी नपुगेको भन्दै नेपाल ट्रस्टले केही सातामा खुला गराउने भएको उनले जनाए ।