Logo

कृषि र पर्यटनमा लम्किँदै

माथि–माथि शैलुंगेमा चौँरी डुलाउनेलाई
उनको यो हत्केलामा मनै डुलाउनेलाई…

कुन्ती मोक्तानको आवाजमा तीन दशकअघि चर्चित गीत अहिले पनि उत्तिकै कर्णप्रिय छ । यही गीतले नै धेरैलाई सैलुङ खुबै राम्रो होला भन्ने कौतुहलता जगाएको छ । गीतमा भने झैँ चौँरी चरिचरन, भेडी गोठ र हरियालीले सैलुङ प्रशिद्ध छ ।

सैलुङ महाभारत पर्वतको सबैभन्दा अग्लो डाँडो हो । सय वटा थुम्का भएकाले तामाङ भाषामा सैलुङ भएको हो । डाँडामा पुगेपछि एकै ठाउँ थुम्का थुम्का परेका सयभन्दा बढी एकै ठाउँ डाँडा भएको र त्यहाँबाट चाँदी झैँ टल्कने हिमाल र चारैतिरका गाउँ बेसी दृश्यावलोकन गर्न सकिने भएकाले पनि पहिलो सैलुङ पुग्नेहरू जो कोही स्वर्ग पुगेको महसुस गर्छन् ।

सैलुङमा प्राकृतिक मनोरञ्जनसँगै धार्मिक यात्रा र गीतको बोलमा भने झैँ चौँरीसँगको सामिप्य, भेडा र घोडासँग राम्रै भलाकुसारी गर्न पाइन्छ । केही वर्ष अघिसम्म सैलुङ कहाँ होला भन्ने धेरैको जिज्ञासा हुन्थ्यो । तर, सडक पूर्वाधारका कारण यात्रा सहज भएपछि सैलुङले धेरैलाई नजिक बनाइ दिएको छ । काठमाडौँबाट १२० किलोमिटर मात्रै यात्राबाट सैलुङ गाउँपालिका– ८ कालापानी पुगिन्छ । त्यहाँ अहिले होटल रिसोर्टहरु थपिदैं गएका छन् । केही वर्षयता मुडेदेखि कालापानीसम्मको सडक सहज भएसँगै दुई वर्षयता पर्यटकहरू बढ्न थालेका हुन् ।

पर्यटकीय पूर्वाधार तयार हुँदै
सैलुङमा पर्यटक बढ्नुको मुख्य कारण सैलुङको प्रचारप्रसार र पूर्वाधार तयारी नै मुख्य कारण हो । राजधानीको नजिकै भएर पनि प्रचारप्रसार र पूर्वाधारका करण ओझेल परेको सैलुङमा पछिल्लो समय आन्तरिक पर्यटकहरू बढ्न थालेका हुन् । नयाँ नयाँ गन्तव्य खोजी गर्ने पर्यटकहरूका लागि राजधानी र तराईबाट नजिकैको दुरीमा रहेको सैलुङ महत्त्ववपूर्ण गन्तव्य हो ।

सैलुङको प्राकृतिक सौन्दर्यलाई यहाँ बनेका पूर्वाधारले अझै थप श्रृगार थपेको छ । बागमती प्रदेश सरकारको सहयोगमा सैलुङ गाउँपालिकाले निर्माण गरेको सैलुङको वालले पछिल्लो समय पर्यटक आकर्षणमा टेवा पुगेको छ । चीनको ग्रेट वालको झल्को दिने गरी निर्माण गरेको यो वाल सडक यात्रा पूरा भएसँगै कालापानीबाट सुरु हुन्छ । सैलुङको तल्लो थुम्कोसम्मको एक किलोमिटर पैदल यात्रामध्ये अहिले पाँच सय मिटर पूरा भएको छ । थप संरक्षण क्रमश: निर्माण गर्दै जाने सैलुङ गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले जानकारी दिए ।

दोलखाको सैलुङ गाउँपालिका– ८ कालापानीमा पर्यटकहरूका लक्षित गरी पर्यटक आवास गृह (गोलघर) निर्माण हुँदै छ । सिन्धुपाल्चोक, दोलखा र रामेछापको दोरम्बासम्म पर्यटन करिडोरको रूपमा विकास गर्न बागमती प्रदेश सरकारले पर्यटन पूर्वाधारका संरचना निर्माण गरिरहेको हो ।

पैदल यात्रुहरुका लक्षित गरी सैलुङको बाघखेर बजारदेखि थुम्कासम्म पानी र हिउँ पर्दा ओत लाग्ने गरी प्रतीक्षालय निर्माण भएको छ । सैलुङ क्षेत्रमा जानका लागि र त्यहाँ रहेका धार्मिक स्थल साथै महत्त्वपूर्ण स्थलको चिनारी राखिएको छ ।

कालापानी क्षेत्र, ढुंगेमा व्यवसायीहरूले होटल, रिसोर्ट निर्माणमा लगानी बढाउँदै छन् । पर्यटकहरू बढ्दै गएपछि सुरक्षाका लागि प्रहरी पोष्टसमेत स्थापना भएको छ । पर्यटक आकर्षित गर्न महत्त्वपूर्ण व्यक्तित्वहरू ल्याएर विभिन्न कार्यक्रमबाट समेत सैलुङ प्रवर्द्धनमा स्थानीय जुटेका छन् ।

कालापानीमा गोलघर तयार भएको छ । निजी होटल पर्याप्त हुन नसक्दाको अवस्थामा पर्यटकका बसाइलाई महत्त्वपूर्ण हुने गरी गोलघर तयार गरेको हो । ‘कालापानीमै बसेर सैलुङको सूर्योदय र सूर्यास्त सबैको प्रकृतिसँगै मज्जा लिन सकिने भएकाले यहाँ गोलघर निर्माण गरिएको हो’ गाउँपालिका अध्यक्ष श्रेष्ठले भने ।

सैलुङ भ्रमणमा आउने पर्यटकहरू लक्षित गरी कालापानीमा गाउँपालिकाले जग्गा व्यवस्थापन गरेर स्थानीयले होटल सञ्चालनमा ल्याएका छन् । चाँदीका घेरा जस्तै सगरमाथादेखि गणेश हिमालसम्मका हिमालहरूको अवलोकन, दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बु, ओखलढुंगा जस्ता आधा दर्जन जिल्लाका भूभाग एउटै विन्दुबाट अवलोकन गर्न सकिने भएकाले पनि सैलुङ आउने पर्यटकहरू बढ्दो क्रममा छन् ।

दैनिक सयौँ पर्यटक सैलुङ पुग्ने गरे पनि बस्ने खाने व्यवस्था राम्रो नहुँदा फर्कन बाध्य छन् । गत वर्ष बागमती प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा सामुदायिक लज निर्माण गरिदिएको छ । केही स्थानीयले समेत निर्माण गरेका होटलमा एक सय जनासम्म बस्न मिल्ने भएको छ ।

कृषिमा अब्बल सैलुङ
काठमाडौंको बजारमा सैलुङको आलु र तरकारी भनेपछि हरेकको रोजाइमा पर्छ । हिमाली क्षेत्रको कृषिजन्य उत्पादन आफैमा स्वास्थ्यकर मानिन्छ । त्यसमाथि सैलुङको आलु उपभोक्ताहरूको प्रमुख रोजाइमा पर्छ ।

सैलुङ गाउँपालिकाको– ८ वटा वडामध्ये सबै वडाको माथिल्लो क्षेत्र आलु उत्पादनको पकेट क्षेत्र हो । अनौपचारिक तथ्यांकअनुसार सैलुङमा आलु र तरकारीबाट वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी रकम भित्रिने गरेको आकलन छ । हिमाली र पहाडी क्षेत्रमा गाउँ छाडेर खेतबारी जंगलमा परिणत हुँदै जाँदा चिन्ताको विषय बनेको छ । तर यहाँका हरेक किसान आलु र तरकारीमा लागेका छन् । खेती विस्तार बढ्दै गएको छ । यसले किसानहरूको आयआर्जनमा पनि धेरै सुधार ल्याएको छ । सैलुङ पुग्दा बाँझो जग्गा देख्नै मुस्किल पर्छ ।

काठमाडौँमा प्राय: मुडेको आलुको नामले चिनिन्छ । मुडेको आलु भन्ने ब्राण्ड बन्नुको कारण दोलखाबाट काठमाडौँ जाँदा दोलखा र सिन्धुपाल्चोकको सिमानामा रहेको बजार सैलुङ प्रवेश गर्ने मार्ग हो । सैलुङ पुग्नुअघि हालको सैलुङ गाउँपालिका भित्रका साबिक ६ वटा गाविस र रामेछापका दोरम्बाको मुख्य बजार नै मुडे हो । यहाँबाटै पहिला पैदल यात्रा सुरु हुन्थ्यो । शैलङ क्षेत्रको आलु पनि यही बजारमा ल्याएर किसानले बिक्री गर्ने र त्यहाँबाट पर्यटक र व्यापारीले शहर पठाउने हुँदा मुडेको आलुको ब्राण्ड बनको हो ।

सैलुङमा उत्पादन हुने ब्राण्ड कायमै राख्न स्थानीय सरकारले पहल जारी राखेको छ । स्थानीय सरकारले पोका पार्ने बोरा र झोलामा सैलुङ आलु भनेर छपाएको छ । हरेक वर्ष किसानलाई त्यस्ता झोला र बोरा वितरण हुँदै आएको छ ।

सैलुङमा मंसिर पुससम्म जग्गा तयार गर्ने, पुस र माघमा रोप्ने र असारदेखि भदौसम्म आलु खन्ने, भण्डारण गर्ने र बजार लैजाने काम हुन्छ । आलु किसानले उत्पादन गरे मात्रै पुग्छ । खरिदका लागि व्यापारीहरू आफैँ बारीमै पुग्छन् । चलेको मूल्य व्यापारीले दिन्छन् । कतिपय किसानहरू आफैँ पनि बजार लैजान्छन् ।

बजारमा आलुको आपूर्ति बाहिरबाट कम हुने समयमा सैलुङमा बर्षे आलु उत्पादन हुने हुँदा बारीबाट सोझै बजार पुग्छ । मूल्य पनि राम्रो पाइने भएकाले किसानहरू यस तर्फ आकर्षित भइरहेका छन् ।

केही वर्षसम्म आलु उत्पादन हुने सिजन असारदेखि असोजसम्म वर्षात्ले सडक अवरुद्ध हुन्थ्यो । ढुवानी खर्च बढ्दा किसानले मूल्य राम्रो पाउँदैनथे । तर अहिले मुडेदेखि बाघखोरसम्म कालोपत्रे भइसकेको छ । बाघखेर भैँसे, र बाघखेर ढुंगेसम्म सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी ठेक्का लगाएर काम जारी छ । वडा स्तरका सडकहरू पनि १२ महिना गाडी चल्ने गरी सडक सिलिङ भएका छन् । स्थानीय सरकारले सडककै लागि ठूलो लगानी गरेकाले पनि यसको प्रत्यक्ष फाइदा किसान र पर्यटकलाई भएको छ ।

सैलुङमा आलु मात्रै होइन किवी खेती पनि बढ्दै छ । धेरै किसानहरू व्यावसायिक किवी खेतीतर्फ आकर्षित हुँदै छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा गाउँपालिकाले आलु र किवी व्यावसायिक रूपमा गर्ने किसानहरूका लागि अनुदानको समेत व्यवस्था गरेको छ ।

सैलुङ गाउँपालिका– ५ र ७ तल्लो क्षेत्रमा पर्ने वडा हुन् । तुलनात्मक रूपमा अन्य वडाभन्दा यसमा अलि बढी गर्मी हुन्छ । यहाँका किसानहरू सुन्तला, ड्रागन, गोलभेँडा खेतीमा लागेका छन् ।

सैलुङ गाउँपालिका–७ का पुरुषोत्तम बुढाथोकी पेसाले सरकारी जागिरे हुन् । तर उनको ध्यान अहिले सुन्तला खेतीमा छ । गाउँमा उनले २० रोपनी क्षेत्रफलमा करिब ६ सय बोट सुन्तला लगाएका छन् । सुन्तलाभित्र अदुवा खेती छ । अदुवा र सुन्तलाबाट मात्रै उनले वार्षिक १५ लाख रुपैयाा आम्दानी गर्छन् ।

उमेरमा सरकारी जागिर खाए पनि निवृत्त जीवनका लागि उनी खेतीमै रमाइरहेका छन् । बुढाथोकी जस्तै अहिले ६० भन्दा बढी किसान सुन्तला खेतीमा लागेका छन् । सुन्तला खरिदका लागि व्यापारीले बगैँचा नै खरिद गर्छन् र आफैँ टिपेर बजार लैजान्छन् । एउटा वडामा मात्रै सुन्तला बिक्रीबाट वार्षिक एक करोड रुपैयाँ बढी भित्रिने किसानहरूको भनाइ छ । सुन्तला हुने क्षेत्रमा गाउँपालिकाले वडा कार्यालयमार्फत प्रत्येक वर्ष हजारौँ बिरुवा अनुदानमा वितरण गर्दै आएको छ ।

संघीय संरचनापछि धेरैले आलोचना पनि गर्ने गरेका छन् । तर सीमित साधन स्रोतमा स्थानीय तहले स्थानीय पूर्वाधार विकास र आयआर्जन वृद्धिका लागि काम गरेका छन् । गाउँघर छाडेर हिँड्ने र जमिन बाँझो हुने समस्या एकातिर छ । तर, व्यावसायिक रूपमा कृषिमा लाग्नेहरूले गरेका उत्पादनबाट गाउँमा राम्रो पैसा पनि आर्जन भएको छ । उत्पादन प्रवर्द्धनका लागि सैलुङ सरकारले गरेको काम र किसानहरूले गरेको परिश्रम उदाहरणीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्