पातारासीमा सडक समृद्धि
जुम्लाको पातारासी गाउँपालिका कृषि, पर्यटन, जडीबुटी र जलविद्युतमा प्रचुर सम्भावना बोकेको पालिका हो । विश्वकै अग्लो स्थानमा मार्सी धान उत्पादन हुने छुमचौर ज्युलो, एक रुपैयाँको नोटमा भएको चंखेली हिमाल, पातारासी हिमाल, शंकर झरनालगायत धार्मिक तथा प्राकृतिक पर्यटन र कृषिका प्रशस्त सम्भावना पातारासीमै छन् । पातारासी जुम्लाको अन्न भण्डार पनि हो ।
७ वडामा फैलिएको पातारासीमा कुल ३ हजार ४ सय घरधुरीका १७ हजार भन्दा बढी जनसंख्या छ । पातारासीका सबै घरधुरी कृषि, जुडिबुटी र पशुपालन व्यवसायमा निर्भर छन् । तर गाउँमा उत्पादित कृषि वस्तुले बजार नपाउँदा किसान मर्कामा परेका थिए । गाउँमा सडक नहुँदा बिहानै डोकोमा तरकारी बोकेर बजार धाउनुपर्ने बाध्यता थियो भने दु:ख बिरामी पर्दा अस्पताल तथा स्टेचरमा बोध्नु पर्ने सास्ती थियो ।
पातारासीका कृषि, पर्यटन, विद्युत, जडिबुटीलगायतका सम्भावनालाई अवसरमा रुपान्तरण गर्न पूर्वाधार विकासलाई विशेष प्रथामिकता दिइएको छ । भौगोलिक रुपमा विकट पातारासीका २६ वटै गाउँ बस्तीलाई संघीयता कार्यान्वयन र स्थानीय सरकारको अनुभूति दिलाउने गरी पूर्वाधार विकासलाई विशेष जोड दिइएको छ ।
सिमी, कोदो, फापर, मकै, आलुलगायतका रैथाने अन्नबाली उत्पादनका हिसाबले पातारासी जिल्लाकै अन्न भण्डारका रुपमा रहेको छ । तर, सडक पूर्वाधार अभावका कारण सबै गाउँको उत्पादनले बजार पाउन सकेको छैन । किसानको जीविकोपार्जनमा सुधार ल्याउन र उत्पादनको बजारीकरणलाई ध्यानमा राखी सडक पूर्वाधार विकासमा जोड दिइएको छ ।
पातारासी गाउँपालिका प्राविधिक शाखाको प्रतिवेदन अनुसार पातारासीमा दुई वर्षको अवधिमा मात्रै ३ हजार ४५८ मिटर ग्राभेल सडक निर्माण गरिएको छ । पातारासीका ईन्जिनियर नवीन शाहीका अनुसार दुई वर्षमा पातारासीमा ग्रामीण सडक १४ हजार ५८९ मिटर निर्माण भएको छन् भने गोरेटो बाटो मात्रै २९ हजार मिटर निर्माण भएको छ । सोलिङ बाटो १० मिटर, पिसीसी बाटो ७ हजार मिटर निर्माण भएको इन्जिनियर शाहीले जानकारी दिए ।
गाउँ–गाउँमा सडक पुगेपछि यातायातमा सहज हुनुका साथै उत्पादनले समेत सजिलै बजार पाउन थालेको छ । पातारासीका २६ वटा गाउँबस्तीका ३५ सय घरधुरीलाई पाँच वर्षमा पूर्ण विद्युतको पहुँचमा पुर्याउने लक्ष्य राखिएको छ । यहाँको भौगोलिक स्थितिलाई मध्यनजर गरी विगतका जनप्रतिनिधि र वर्तमान कार्यसमितिले सडकलगायतका पूर्वाधार विकास र स्तरवृद्धिलाई प्राथमिकतामा राखेका छन् । सातवटै वडामा सडक पुगिसकेका छन् । स्तरवृद्धि नहुँदा सबै गाउँमा यातायात पहुँच पुग्न सकेको छैन । यद्यपि मोटरसाइकल भने गुडिरहेकै छन् ।
बढ्दो रैथाने बालीको उत्पादन वृद्धि, छुमचौर ज्युलोको पर्यटन प्रवर्द्धन, पुल निर्माण र सातवटै वडामा पुगेका सडकको स्तरवृद्धिमा लगानी बढाइएको छ । पातारासीका विकट बस्तीलाई निकट गर्न, गाउँका कृषि उत्पादनलाई बजारसम्म पुर्याउन तथा पर्यटन प्रवर्द्धनका लागि सडक स्तरवृद्धिमा जोड दिएको हो । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा पालिकामा सडक विकासपछि नागरिकको जीवनस्तर सुधार हुँदै गएको बताउँछन् ।
स्थानीय सरकार सञ्चालनमा आएदेखि पातारासीमा नयाँ–पुराना १५ देखि १ सय किलोवाटसम्मका १६ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । पातारासीका ७ वटै वडामा रैथाने बाली उत्पादन वृद्धिका लागि एक वडा एक पकेट क्षेत्रसमेत निर्धारण गरिएको छ ।
उनले भने, ‘थुप्रै सम्भावनाका बीच पातारासीमा सडककै समस्याले दैनिकि कष्टकर थियो । हाल सबै समस्या हल भएका छन् । गाउँ गाउँमा सडक पुगेपछि नागरिक खुसी छन् पातारासीका चारवटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् । पातारासीका सातवटै वडाका २६ बस्तीमा सडक पुगेका छन्, । सडक स्तरवृद्धिसँगै यातायात पहुँच विस्तार गर्ने तयारीमन छौ ।’
एक वर्षमा २६४ योजना निर्माण
पातारासीले गाउँबाट माग भई आएका विनियोजित योजना निर्माणलाई समेत गति दिएको छ । पालिकाको भौगोलिक विकटतालाई मध्यनजर गर्दै कृषि, सडक, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइका पूर्वाधार विकासमा जोड दिएको छ ।
गत आर्थिक वर्षमा मात्रै पातारासीले २६४ वटा योजना सम्पन्न गरेको छ । पातारासीका ७ वटा वडामा २६४ वटा योजना सम्पन्न भएका हुन् । पालिकाको भौगोलिक विकटता र गाउँबस्तीको आवश्यकतालाई मध्यनजर गर्दै पूर्वाधार विकासलाई गति दिँदै आएको पातारासीले गत आव २०८०/०८१ मा १३ करोड ९७ लाखको लागतमा २६४ वटा योजना निर्माण गरेको छ ।
जसमा वडा–१ मा ८५ लाख लागतका २२ योजना, वडा–२ मा १ करोड ६२ लाखका ३१, वडा–३ मा १ करोड ९३ लाखका ४२, वडा–४ मा १ करोड ८३ लाखका ५० वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख शाहीले बताए । वडा–५ मा ३ करोड ११ लाखको ४२, वडा–६ मा १ करोड ७२ लाखको ४५, वडा–७ मा १ करोड २८ लाखको ३२ बटा योजना निर्माण भएको प्रगति विवरणमा उल्लेख छ । निर्माण सम्पन्न २६४ मध्ये १३९ वटा योजना वित्तीय समानीकरण अनुदानको बजेटमा बनेका हुन् । समग्रमा संघ र प्रदेशबाट प्राप्त समानीकरण, विशेष, सशर्त र निशर्त अनुदानबाट प्राप्त बजेटमार्फत गाउँ–गाउँमा योजना बनेका हुन् । समुदायस्तरबाट पूर्वाधार विकासका योजना बढी माग भई आउने भएकाले आवश्यकता सामाजिक विकास भए पनि लगानी बढी पूर्वाधार विकासमा देखिएको छ ।
पातारासीलाई कृषि र पर्यटनमा आत्मनिर्भर बनाउन पूर्वाधार विकासमा जोड दिए पनि यहाँको उत्पादनले अपेक्षित रुपमा बजार पाउन सकेको छैन । पर्यटक आगमन पनि बढेको छैन । यसका लागि सम्भावना भएका क्षेत्रमा बढी लगानी गर्न पालिकाले ठोस नीति बनाउने तयारी गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले पालिकाको विकास, सुशासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नागरिकका गुनासा सुनुवाई गर्न नियमित सार्वजानिक सुनुवाई गर्दै आएको बताइन् । समुदायका माग र आवश्यकतालाई जोड दिएर आगामी दिनमा विकासलाई अघि बढाइने उनको भनाइ छ ।
दुई वर्षको अवधिमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सशक्तिकरणमा विशेष जोड दिएको बताइन् । उनले भनिन, ‘कानुन बुझ्दै काम गर्दै छौं । अन्नभण्डार मानिने पातारासीलाई कृषिमा आत्मनिर्भर बनाउन ठोस नीति र बजेटमा पनि जोड दिएका छौं । समाज रूपान्तरणको बाधक बनेको बालविवाह र बेरोजगारी घटाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाइने छ ।’