Logo

भैरहवा सानो सहरको ठूलो योजना

भैरहवा– रुपन्देही हुँदै बग्ने दुई नदी तिनाउ र रोहिणीभित्रको क्षेत्रमा रहेको भैरहवा । सिद्धार्थनगर नगरपालिका बन्नुभन्दा पहिला पक्लिहवा गाउँ विकास समिति थियो । गाउँ हुँदै सहर बनेको भैरहवा रुपन्देहीको मात्र नभई मुलुककै सानो स्थानीय तहका रूपमा सिद्धार्थनगर (भैरहवा) रहेको छ । नगरको नाम सिद्धार्थनगर भए पनि देशभित्र मात्र नभई विदेशमा पनि भैरहवा नामबाट चर्चित र लोकप्रिय छ ।

भैरहवा त्यसै भैरहवा भएको होइन । सामान्य तेल मिल, राइस मिल र गल्ला (धान,चामल) को व्यवसायबाट बसेको यहाँको उद्योगको जगले वर्तमान अवस्थामा मुलुककै ध्यान केन्द्रित छ । २०७३ सालमा भारतको नाकाबन्दीका समयमा काठमाडौं बचाउने लाइफलाइन भैरहवा नाका भएपछि झनै यहाँको महत्त्व बढेको सबैलाई अवगत नै छ । बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहनु, मुलुकको विशेष आर्थिक क्षेत्र, देशको दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, देशकै ठूलो गल्ला व्यवसाय साथै भैरहवासँंगै विकास भएका वरपरका क्षेत्रका औद्योगिक विकास एवं बढ्दो व्यवसाय, पर्यटन गतिविधि, स्थलमार्ग हुँदै बढी विदेशी एवं भारतीय पर्यटक प्रवेश गर्ने नाकासमेत भैरहवा भएकाले यहाँको महत्त्व बढ्दै गएको हो । अर्थतन्त्र चलायमान बनाउन भैरहवाको भूमिका नकार्न सकिँदैन । भैरहवा आफैमा चलायमान अर्थतन्त्रको प्रतिक हो भन्नेमा दुईमत छैन । २०१० साल तिरबाट यहाँ व्यवसायले गति लिन थालेको थियो । तत्कालीन समयमा गोरुगाडामा समेत मालसामान ढुवानी गरेर ब्यापार सुरु भएको यो क्षेत्र अहिले पूर्वाधार विकासले मनलाग्दो प्रगति गरेको छ । देशमा संघीयता आएपछि पूर्वाधार विकाशले छलाङ मारेको हो ।

भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा निर्माण सम्पन्न भई सञ्चालित छ । देशको पहिलो आर्थिक क्षेत्र सेज, चौडा सडक, सुविधा सम्पन्न अस्पताल, चारैतिर सडक सञ्जाल विस्तार, पर्यटक लक्षित सामान्यदेखि पाँचतारे सम्मका होटल लगायतमा धेरै फड्को मारेको छ भैरहवाले त्यसैले त भैरहवाको नाम देशमा अन्यभन्दा अग्रस्थानमा आउँछ ।

सिद्धार्थनगर नगर पालिका (भैरहवा) नेपालको सानोमध्येको एक नगरपालिका हो । ३६.०३ वर्ग किलोमिटर क्षेत्रफल रहेको भैरहवाको जनसंख्या २०७८ को जनगणना अनुसार ७६ हजार ३०७ रहेको छ । सीमित आन्तरिक आयस्रोतमै निर्भर यो नगरले योजना भने ठूलाठूला ल्याएको छ । विकास पूर्वाधारमा आफ्नो मात्र आर्थिक हैसियतले नपुग्ने भएपछि संघीय सरकार, प्रदेश सरकारमात्र होइन दातृ निकाय एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा विकास निर्माणका काम गर्दै आएको छ ।

रुपन्देहीका १६ स्थानीय तहमध्ये भैरहवा (सिद्धार्थनगर) ले देखिने गरी पूर्वाधार लगायतका क्षेत्रमा काम गरेको छ । सडक निर्माण, पर्यटन क्षेत्र, शिक्षा, स्वास्थ्य, ढल नालालगायतका क्षेत्रमा नगरले प्राथमिकता दिएको छ । नगरले पछिल्लो समय सबैभन्दा बढी सडक तथा नाला निर्माणमा लगानी गरेको सिद्धार्थनगर नगरपालिकाका योजना प्रमुख इन्जिनियर साकार श्रेष्ठले बताए ।

इन्जिनियर श्रेष्ठका अनुसार दातृ निकाय एडीबीको ऋण सहयोगमा आईयूडीपी परियोजना एशियाली विकास बैंक (एडीबी) को ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ सञ्चालनका लागि नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र सात प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट सिद्धार्थनगरमा २५ किलोमिटर बढी नालासहितको सहरी सडक निर्माणका लागि एक अर्ब १८ करोड बढीको लागतमा निर्माण सुरु हुनेछ, श्रेष्ठले भने ।

यो परियोजना अन्तर्गत नगरपालिका क्षेत्रमा ‘इडब्लूसीडी’ मानकसहितको फुटपाथ, नाला, साइकल लेन, सडक निर्माण र डण्डा नदीलाई करिडोरको रूपमा विकास गरिनेछ, कम्तीमा २५ किमि सडक निर्माण हुनेछ, श्रेष्ठले भने । परियोजनाले हरियाली पार्क र खुला ठाउँहरू सहित सार्वजनिक क्षेत्रको समेत सौन्दर्यीकरण गर्ने, डण्डा नदीको किनारका जग्गामा आकर्षक पूर्वाधार निर्माण गर्ने योजना छ ।

यसअघि नगरपालिकाले आईयूडीपी र आरयूडीपी परियोजना अन्तर्गत ३५ किमिभन्दा बढी भित्री सडक, ढल नाला निर्माण गरिसकेको छ । हामीसँग सीमित आयस्रोत छ । संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तोकिएको ठाउँबाहेक अन्यत्र खर्च गर्न पाइँदैन । हाम्रो सीमित आयस्रोत परिचालन गर्दै सहुलियतपूर्ण ऋण लिँदै नगरमा पूर्वाधार विकास गरिरहेका छौं, सिद्धार्थनगर नगर पालिकाका प्रमुख इश्तियाक अहमद खान भन्छन् ।

देखिने गरी निर्माण कार्य भएका छन् हाम्रो क्षेत्रमा, अरु थप काम अघि बढेको छ, प्रमुख खानको भनाइ छ । सिद्धार्थनगरले गत ४ आर्थिक वर्ष (२०७७।७८देखि २०८०।८१)मा मात्रै सडक, ढल नालालगायतका पूर्वाधारतर्फ ९९ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ ।

नगरभित्र सडक नाला पूर्वाधारका अलावा पर्यटनतर्फ आठ करोड बढीको लागतमा पर्यटक गेट, दरखसवा पार्क, वडा नम्बर २ मा पञ्चबाटिका पार्क, नेपाल भारत सिमानाका बेलहियामा एक करोड ६५ लाख रुपैयाँमा नेपाल प्रवेशद्वार निर्माणको अन्तिम चरणमा छ । यो प्रवेशद्वार स्टिल फ्रेम स्ट्रक्चरमा निर्माण भइरहेको छ । त्यसैगरी ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको सिद्धार्थनगरको ५ नम्बरमा रहेको करणीमाई मन्दिरको जीर्णाेद्धार, वडा नम्बर ५ मा ब्यारेकमा रहेको छठ पोखरीको जीर्णोद्धार साथै मास्टरप्लान अनुसार निर्माण कार्य वडा नम्बर ३ मा बुद्धपार्क निर्माण भएका छन् । त्यसैगरी सहरलाई उज्यालो बनाउन स्मार्ट लाइट, विभिन्न चोकमा हाइमास्ट लाइट र सडक छेउका विद्युतपोलमा रंगिन लाइन विद्युत जडान साथै हरियाली र फुलैफूलको सहर बनाउने र बोटानिकल गार्डेन निर्माणको योजनासमेत रहेको नगरप्रमुख खान बताउँछन् । हरियाली र फूलको काम सुरु भइसकेको खानको भनाइ छ ।

त्यसैगरी नगरपालिकाले दुईवटा सामुदायिक कृषि भवनमध्ये ब्लक ए निर्माण सम्पन्न गरेको छ भने बी ब्लक निर्माणकै क्रममा छ । ११ करोड १७ लाख रुपैयाँमा कृषि भवन निर्माण भएको छ । वडा नम्बर पाँचमा निर्माण गरिएको ए ब्लक भवन अण्डर ग्राउण्ड पार्किङसहित पाँच तल्लाको छ । भवनमा एकपटकमा १४ जना अट्न सक्ने लिफ्ट जडान गरिएको छ । यस्तै, २७ वटा चारपाँग्रे कार र ५० वटा मोटरसाइकल अट्ने अन्डरग्राउण्ड पार्किङ बनाइएको छ । भूकम्पप्रतिरोधी भवनमा आपतकालीनद्वार समेत राखिएको छ । ५७ वटा सटर रहेको उक्त भवनमा कृषि थोक सामानलाई विशेष प्राथमिकता दिएर राखिने योजना नगरपालिकाको छ ।

त्यसैगरी नगरले शिक्षा क्षेत्रतर्फ पनि भवन निर्माणमा रकम खर्चेको छ । संघीय अनुदानका साथमा प्रत्येक वर्ष सामुदायिक विद्यालयमा भवन निर्माण गर्दै आएको छ । भानु मावि, नवदुर्गा मावि, पक्लिहवा मावि, भैरहवा बालबहिरा विद्यालय, सु–संस्कृत मावि, खजहना मावि, भैरहवा मावि, लिलाराम मावि, महात्मा गौतमबुद्ध मावि लगायतमा नगरपालिकाले पूर्वाधार निर्माणमा खर्च गरेको छ ।

त्यसैगरी नगरपालिकाले २२ करोड लागतमा प्रशासकीय भवन निर्माण गरेको छ । यसै आर्थिक वर्षभित्रै कार्यालय सार्ने योजनाअनुसार निर्माणका बाँकी काम भइरहेको र बौद्ध संस्कृति झल्कने स्वरुपमा निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत जनक थापा बताउँछन् । नयाँ भवन निर्माण सम्पन्न भएपछि नगरबासीलाई थपसेवा पुग्ने थापाको भनाइ छ ।

नगरपालिकाले खेलकुदतर्फ पनि एक करोड बढी खर्चेर खेल मैदान निर्माण सुरु गरेको छ । सिद्धार्थनगर–३ डन्डा नदीको पूर्वमा भैरहवा रंगशालाका नाममा निर्माणको प्रारम्भिक काम भएका छन् ।

कृषितर्फ सिँचाइका लागि ठूलो नहर तथा कुलो निर्माण नभए पनि पुरानै नालामार्फत् सिँचाइ भएका छन् । नगरको क्षेत्रफल सानो भएकाले कृषि क्षेत्र पनि कम नै रहेको छ ।

नगरको अहिलेको महत्त्वाकांक्षी क्षेत्र भनेको डन्डा नदी पर्यटकीय करिडोर हो । ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’को दोस्रो चरणमा यो कार्य सुरु हुने र यस्को लागत अर्ब बढीको छ । भैरहवा क्षेत्रफल र आयस्रोतमा देशकै सानो नगर भए पनि यसले अहिलेसम्म गरेका काम योजना भने ठूलै छन् । भैरहवाले सपना पनि ठूलै देखेको छ । एक अन्तर्राष्ट्रिय सहरको सपना ।

प्रतिक्रिया दिनुहोस्