युवा उद्यमीलाई आकर्षित गर्ने कार्यक्रम रोकियो
महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले युवा उद्यमीलाई आकर्षित गर्ने कार्यक्रम रोकिएको बताएको छ । २०७७ सालमा सञ्चालनमा ल्याइएको मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिना धितो, बिना ब्याज अनुदान ऋण सहुलियत कार्यक्रम अहिले रोकिएको हो ।
भीमदत्त नगरपालिका र नेपाल राष्ट्र बैंकको आपसी समन्वयमा २०७७ सालमा उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७७ सालमा नगरपालिकाले सञ्चालन गरेको बिना धितो, बिना ब्याज अनुदान ऋण सहुलियत कार्यक्रममा युवा उद्यमीहरूलाई आकर्षित गर्न भीमदत्त नगरपालिकाले २ करोड ३ लाख रुपैयाँ बिना ब्याज, बिना धितोको अनुदान तथा सहुलियत ऋण युवा उद्यमीहरूलाई दिएको थियो । बैंकका शाखा प्रबन्धक महेशराज जोशीले उद्यमीहरूका लागि निकालिएको बिना ब्याज र धितोको ऋण युवा उद्यमीले नतिरेपछि त्यसको खण्डमा भीमदत्त नगरपालिकाले सबै पैसा तिर्नु पर्ने अवस्था सिर्जना भएका कारण हाल उक्त कार्यक्रम सञ्चालनमा हुन नसकेको बताएका छन् ।
शाखा प्रबन्धक जोशीका अनुसार नगरपालिका र बैंकको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट भीमदत्त नगरपालिका भित्र रहेका सबै वडाहरूमा प्रत्येक युवा उद्यमकर्ताहरूलाई वडा कार्यालयले सिफारिस गरेअनुसार बिना ब्याज र धितोमा २३ जना युवा उद्यमीहरूलाई तीन महिनामा ३३ हजार रुपैयाँ किस्ता मात्र तिर्ने गरी प्रत्येक उद्यमकर्ताहरूलाई ५–५ लाख रुपैयाँ ऋण दिइएको थियो । ऋण लगेपछि केही उद्यमीहरूले किस्ता तिर्न अटेरी गरेपछि उक्त ऋण भीमदत्त नगरपालिकाले नै तिर्दै आएको छ ।
बैंकका तथ्यांकका अनुसार माछा पालनदेखि बंगुर, कुखुरा, बाख्रा, भैंसी, केरा तथा कृषि खेतीका लागि १२ जना युवा उद्यमीहरूलाई ७६ लाख रुपैयाँ ऋण दिइएको थियो । दूध डेरी उद्योग, साइकल स्टोर, फर्निचर उद्योग, सान हाउस, इन्जिनियरिङ कार्यशाला, सपिङ सेन्टर, कस्मेटिक पसल, सिलाइ कटाई तथा पेन्टिङ, फोटो स्टुडियो, मोबाइल तथा गिफ्ट ग्यालरी सञ्चालनका लागि ५/५ लाख रुपैयाँका दरले ऋण दिएको बैंकले जनाएको छ । २ करोड ३ लाख रुपैयाँ निकालिएको ऋणबाट अहिलेसम्म ९२ लाख रुपैयाँ मात्र उद्यमीहरूले चुक्ता गरेका छन् । एक करोड १० लाख रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको शाखा प्रबन्धक जोशीले बताए ।
बिना धितो दिएको ऋणको ब्याज तिर्दै
भीमदत्त नगरपालिका–९ की महिला उद्यमकर्ता मिना देवी कार्की विगत आठ वर्षदेखि मिना पोल्ट्री फार्म सञ्चालन गर्दै आइरहेकी छिन् । नगरपालिकाले सञ्चालन गरेको मेयर उद्यमशीलता कार्यक्रम बिना धितो, बिना ब्याज अनुदान ऋण सहुलियत कार्यक्रममा कुखुरा फार्मका लागि ५ लाख रुपैयाँ ऋण निकालेको उनले बताइन् । ‘२०७४ सालमा सञ्चालन गरिएको मिना पोल्ट्री फार्ममा हालसम्म ३५ देखि ४० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ’ उनले भनिन्,‘नगरपालिकाले उद्यमकर्ताहरूको सहजताका लागि सञ्चालन गरेको उक्त कार्यक्रममाबाट २०७७ सालमा ५ लाख रुपैयाँ निकालिएको थियो ।
ऋण निकालेको दिनदेखि तीन–तीन महिनामा ३३ हजार रुपैयाँ किस्ता तिर्दै आए पनि अहिलेसम्म बैंकले ऋण चुक्ता नभएको बताएको उनको भनाइ छ । महिनला उद्यमी कार्कीका अनुसार नगरपालिकाले बिना धितो, बिना ब्याज भनी दिएको ऋणको अहिले ब्याज तिर्नु परिरहेको छ ।
उनले हाल दुई कुखुरा फार्म सञ्चालन गर्दै आइरहेकी छन् । दुई फार्ममा उनले ६–६ सय चल्ला गरी एक हजार २ सय कुखुराका चल्लाहरू राखेकी छिन् । चल्लाहरूका लागि कञ्चनपुरको महेन्द्रनगर बजारबाट नै चारो ल्याउने गरेको उनी बताउँछिन् । कार्कीको उक्त उद्यममा उनका छोराहरूले सहयोग गर्दै आइरहेका छन् । फार्मबाट राम्रो आम्दानी कमाउन नसकेता पनि एउटा महिलाले राम्रोसँग घर खर्चदेखि लिएर छोराछोरीहरूको पडाइको लागि आर्थिक सहयोग निकै राम्रोसँग हुने गरेको कार्कीले बताएकी छिन् ।
स्थानीय सरकारले सोझा साझा जनताहरूलाई नराम्रो सँग ठगेको गुनासो उनले गरेकी छिन् ।’ त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का युवा उद्यमी प्रेम विष्ट विगत लामो समयदेखि सुमन पोल्ट्री फार्म सञ्चालन गर्दै आइरहेका छन् । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरा पालनमा लागे उनी अहिले व्यवसाय राम्रो सँग फस्टाउन नसकेको भन्दै दुखेसो पोखेका छन् । ‘गत वर्ष आएको बाढी र गत महिनामा आएको बाढीले आफ्नो व्यवसाय सखाप भएको छ,’ उनले भने, ‘गत वर्ष पनि निरन्तर आएको बाढी र पहिरोले गर्दा पुरै चल्लाहरू बगाएर लग्दा ३ देखि ४ लाख रुपैयाँसम्मको नोक्सानी बेहोर्नु परेको थियो । यसपटक बाढीले पुरै नोक्सानी गर्दा त्यति नै नोक्सानी भएको छ । नगरपालिकाले युवा उद्यमीहरूको लाई सञ्चालन गरेको कार्यक्रममाबाट पाँच लाख रुपैयाँ ऋण निकालेता पनि आफ्नो व्यवसायमा कुनै सहयोग पुगेन ।’
विष्टका अनुसार नगरपालिका र नेपाल बैंकको समन्वयमा दिएको ऋण तिर्न नसक्दा नगरपालिका देखि पटक–पटक घरमै पुगेर धम्क्याउने गर्ने गर्दछन् । ‘बाढीले गत वर्ष आफ्नो पोल्ट्री फार्म नै बाढीले बगाएर लग्दा समेत नगरपालिकाबाट कुनै साथ सहयोग र अनुदान पाइएन, उनले भने,‘यस वर्ष पनि बाढीले आफ्नो पुरै क्षेत्री गर्यो, नगरपालिकामा अनुदानको लागि पहल गर्दा अनुदानको नाममा जम्मा ८ हजार रुपैयाँ मात्र दियो ।’ विष्टले पोल्ट्री फार्मको बीमाको कुरा गर्दा बीमाबाट कुनै राहत नमिलेको बताए ।
डेरी उद्योग सञ्चालन
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का युवा उद्यमी यज्ञराज पन्तले विगत १० वर्षदेखि डेरी उद्योग सञ्चालन गर्दै आइरहेका छन् । २०७२ सालमा सञ्चालन गरेको गोवर्धन डेरी उद्योगमा हालसम्म ३० देखि ३५ लाख रुपैयाँ लगानी रहेको उनी बताउँछन् । ‘उक्त डेरी उद्योगका लागि भीमदत्त नगरपालिकाले सञ्चालन गरेको युवा उद्यमकर्ताहरूका लागि मेयर उद्यमशीलता कार्यक्रमबाट ५ लाख रुपैयाँ ऋण निकालेको थिए,’ उनले भने,‘ पारिवारिक समस्या र आर्थिक स्थितिको कारणले गर्दा राम्रो सँग व्यवसाय फस्टाउन नसक्दा डेरी उद्योगसमेत डुबेको छ ।’
पन्तका अनुसार डेरी उद्योग सञ्चालनका लागि जिल्ला भेटनरीले २० देखि ३० हजार रुपैयाँ अनुदान दिने गरेको छ । तर, स्थानीय सरकारसँग अनुदानको लागि पहल गर्दासमेत कुनै सहयोग नपाएको उनको गुनासो छ । नगरपालिकाबाट दिएको ऋणसमेत छिटो चुक्ता गर भनी बारम्बार यातना दिने गरेको पन्तले बताएका छन् ।
जिल्लामा दूध उत्पादन कम भएकाले दूध पाउन समस्या छ भने, अहिले परम्परागत रूपमा मानिसहरूले घरमै पुर्याउने गरेको ‘काँचो दूध’ खरिद गर्न मन पराउने गरेका छन् । ‘दूधका आम उपभोक्तालाई प्रशोधित दूधको महत्त्व र काँचो दूधले पुर्याउने हानिबारे सचेतना जगाउन सकिएन भने डेरी उद्योग उभो लाग्न सक्दैन, उनले भने,‘दूध उत्पादन बढाउनेदेखि गुणस्तरीय चीज उत्पादन, बजार विस्तार, उद्योगप्रति किसान आकर्षित गर्न निकै कठिनाइ रहेको छ ।’
कोरोना महामारी र लकडाउनको समयमा बिक्रीमा समस्या हुने भएपछि उद्योग सञ्चालन गरेनन् । अहिले आएर डेरी उद्योगबाट आफूले सोचे जस्तो नाफा भने कमाउन नसकिएको पन्तले बताएका छन् ।’ भीमदत्त नगरपालिकाको सामाजिक विकासका अधिकृत गोमती अवस्थीले नगरपालिकाले सञ्चालन गरेको मेयर उद्यमशीलता कार्यक्रम बिना धितो र बिना ब्याजको नै ऋण भएको दाबी गरेकी छिन् ।
‘ऋण लगेका सेवाग्राहीहरूले अहिलेसम्म कुनै पनि गुनासो गरेका छैनन्, उनले भनिन्,‘हामीले ऋण दिएका कुनै पनि युवा उद्यमीहरूबाट ब्याज लिएका छैनौँ, तर, नगरपालिकाबाट ऋण निकालेर लगेका उद्यमीहरूले किस्ता तिर्न समेत अटेरी गरेपछि भीमदत्त नगरपालिकाले पेनाल्टी गरेर पैसा तिर्दै आएको छ । ऋण लगेका उद्यमीहरूलाई किस्ता तिर्नु पर्छ भनेर भेट्न जाँदा उल्टै आफूलाई नै धम्की दिने गरेको अधिकृत अवस्थीले बताएकी छिन् ।