बागलुङको पर्यटन धान्दै ढोरपाटन
पर्वत– बागलुङ, पूर्वी रुकुम र म्याग्दीको एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षले बागलुङको पर्यटन व्यवसायलाई धानिरहेको छ । साहसिक सिकारसँगै प्रकृति प्रेमीहरूका लागि ढोरपाटन उपयुक्त गन्तव्यको रूपमा विकास हुँदै गएको हो ।
‘शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा यहाँ पुग्ने जो कोही पर्यटकले समय बितेको पत्तै पाउँदैनन् । समुद्री सतहदेखि दुई हजार मिटरदेखि सात हजार मिटर उचाइसम्म अवस्थित ढोरपाटन विविधताको खानी हो । सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहन सहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचढी ढोरपाटनको आकर्षण र विशेषता हुन् ।
ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । हरेक वर्ष वसन्त र शरद याममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारीहरू आउने गर्छन् । २०४४ सालमा ढोरपाटनलाई सिकार आरक्ष घोषणा गरिएको थियो । विभिन्न कम्पनीहरूले ठेक्का प्रतिस्पर्धामार्फत सरकारलाई राजस्व तिरेर सिकार गर्न पर्यटक ल्याउँछन् । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र एक सय ३७ प्रजातिका पक्षीहरू छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट चार करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । २०६७/६८ देखि हालसम्म ३ सय ९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुन्डमा एक हजार २ सय ९० नाउर भेटिएका थिए ।
आर्थिक वर्ष २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र ८ झारल, २०७७/७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो । सिकार कम्पनी ग्लोबल सफारी काठमाडौंका सिकार गाइड मानबहादुर पुनका अनुसार स्पेन, अमेरिका, रसिया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउँछन् ।
विश्वका धनाढ्य व्यक्तिहरू जंगली जनावरको सिकारको सोख पूरा गर्न करोडौं खर्चेर ढोरपाटन आउने गरेका हुन । ढोरपाटनमा विदेशी सिकारीबाहेक पछिल्ला केही वर्ष यता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक ढोरपाटन घुम्न आउने क्रम बढेको छ । आरक्षका रेन्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ सम्म ५ सय ८१ जना आन्तरिक पर्यटकले ढोरपाटन भ्रमण गरेका छन् । आर्थिक वर्ष ०८०/८१ मा १५ हजार ५ सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।
ढोरपाटन उपत्यकाको प्रवेश बिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोस्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १५ सय र अन्य देशकाले तीन हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ ।
गत आर्थिक वर्षमा ४ करोड ७१ लाख २ हजार ६ सय २८ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ४८ लाख राजस्व संकलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउमा सिकारी छानिने अवसरले राजस्व बढेको आरक्षले जनाएको छ ।
गत आवमा सार्क राष्ट्रका ४ र अन्य देशका १ सय २ जना पर्यटक ढोरपाटन आएका थिए । सडक यातायात, होटल तथा घरबास सुविधा, सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिक जसो पर्यटक आउने गरेका स्थानीयवासी बताउँछन् ।
सिकार आरक्ष कार्यालय परिसरको सूचना केन्द्र छ । आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत संग्रहालयमा राखिएको छ । ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन् । जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ । ढोरपाटन आरक्ष कार्यालयको तीन किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने गन्तव्य हो । ढोरपाटनबाट २२ किलोमिटर दूरीमा रहेको जलजलाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
ढोरपाटन उपत्यकाको पुरानो हवाईमैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन् । त्यसका साथै गुर्जाघाट, जलजला र माथिल्लो भागमा बुकीलगायतका बस्ती यहाँका अन्य रमणीय स्थान हुन् ।
पर्यटकहरूको बसाइ लम्ब्याउनका लागि सहायक गन्तव्य पहिचान गरेर संघीय, प्रदेश सरकार र नगरपालिकामार्फत पूर्वाधार निर्माण थालिएको ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाले जनाएको छ । यस वर्ष प्रदेश सरकारको सहयोगमा पाखाथरमा होमस्टे सञ्चालन, काडेको डाँडाखेदी किटेनी जोड्ने पदमार्ग र गर्पाछेडाको बुकीमा ‘ब्लु सिप गोठ स्टे’ सञ्चालन गरिएको छ ।
पोखरादेखि मध्यपहाडी लोकमार्ग भएर बस, गाडी वा मोटरसाइकलमा बागलुङ सदरमुकाम हुँदै झन्डै पाँच घण्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङ पुगेपछि लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप र मोटरसाइकलमा दुईदेखि तीन घण्टामा ढोरपाटन पुगिन्छ । म्याग्दीको बेनी हुँदै धवलागिरि गाउँपालिकाको मुनासम्म ४५ किलोमिटर सडकमा र त्यसपछि मरेनी जलजला हुँदै दुई दिन पैदलयात्रा गरेर ढोरपाटन पुगिन्छ । पूर्वी रुकुमको टकसेरा हुँदै पनि ढोरपाटन आउन सकिन्छ । गुरिल्ला पदमार्गले समेटिएको ढोरपाटन हुँदै डोल्पा पनि जान सकिन्छ ।
ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीका अनुसार सिकार आरक्षको ३४ स्थानको करिब १ सय ८५ हेक्टरमा ३ सय ११ घरधुरीले वन तथा खर्क क्षेत्रमा बसोबास र खेतीपातीको लागि अतिक्रमण गरिएको छ । त्यो क्षेत्र खाली गराउन सरकारका विभिन्न निकाय एवं सबै सरोकारवालाहरूबीच संवाद, समन्वय र सहकार्य भएको छ । सिकार आरक्षको वन पैदावार संकलन, खर्क व्यवस्थापन, पर्यटकीय पूर्वाधार निर्माण कार्यलाई थप प्रभावकारी बनाउन सिकार आरक्षसम्बन्धी नियमावलीको तर्जुमा एवं कार्यान्वयन तथा यथाशीघ्र मध्यवर्ती क्षेत्र घोषणा गर्न पहल भएको छ । सिकार आरक्षको सुरक्षाका लागि २०७२ सालदेखि नेपाली सेनाको गुल्म रहेकोमा गण राखेर दुले, रन्मा, मैकोट, तकसेरा, मरेनी र गुर्जाखानीसहित कम्तीमा पाँच स्थानमा यथाशक्य चाँडो सुरक्षा पोस्ट विस्तार गर्न अति आवश्यक देखिएको छ ।
बागलुङको बुर्तिवाङ देखि ढोरपाटनसम्मको ३६ किमी सडक खण्ड अझैपनि जोखिम मोलेर हिड्नुपर्ने अवस्थाको छ । पाँच वर्षअघिको ढोरपाटनको पहिरोले यहाँका १ सय २६ घर बगेका थिए । सडकसमेत बगाएको थियो । त्यसपछि स्थानीयले सामान्य मर्मत गरेर सञ्चालन गरेको सडक अझै स्तरोन्नतिसमेत हुन सकेको छैन । वर्षातमा ढोरपाटन पुग्न सास्ती छ । हिउँदमा समेत अप्ठ्यारो गरी ढोरपाटन पुग्नुपर्छ ।
आरक्षमा सयौं पर्यटक घुम्न गए पनि स्तरीय होटल छैनन् । यहाँ पर्यटक पुग्दा सुरक्षको समेत अभाव छ । केही वर्षदेखि सेना बसेकोले केही सुरक्षाको अनुभूति भएको गलकोटबाट घुम्न गएका आशिष मगर बताउँछन् ।
तर प्रहरीको उपस्थिति अझै हुन सकेको छैन । साथै स्तरीय होटल र खानपिन नहुँदा कतिपयले ढोरपाटनको उपत्यका हेरेर मात्रै फर्कन्छन् । ‘संसारकै गन्तव्य बनाउन सकिन्छ, तर राज्यको लगानी छैन, स्थानीय तहको लगानीले ढोरपाटनको विकास सम्भव छैन’ नगरपालिकाका कावा प्रमुख धनबहादुर कायतले भने, ‘संघको एकमुष्ट लगानी भएमा ढोरपाटनले राज्यलाई फेरि करोडौं तिर्न सक्छ ।’ मध्यवर्ती क्षेत्र बारे सबैपालिकासँग छलफल गर्ने उनले बताए ।
ढोरपाटनबासी स्वास्थ्यको पहुँच बाहिर छन् । सिकारका लागि मात्र ढोरपाटन उत्कृष्ठ गन्तव्य हो भन्नेहरु धेरै छन् । विशेषगरी यहाँ युरोप, अष्ट्रेलिया र अमेरिकाका सिकारी आउँछन् ।
ढोरपाटन सिकार आरक्ष मात्र हैन यो धार्मिक गन्तव्य हो भने पशुपालनको विशाल क्षेत्र पनि हो । उत्तरगंगा यहाँको उत्कृष्ट धार्मिक तीर्थस्थल हो । ढोरपाटन पुग्नेले यहाँको दर्शन गरेरै फर्कन्छन् । जनै पूर्णिमा, वैशाख पूर्णिमालगायतमा यहाँ हजारौं भक्तजन पुग्छन् । छेन्टुङ गुम्बा, तिब्बतीहरुको शरणार्थी शिविर, आर्युवेद औषधालय, रुद्र ताल धार्मिक रूपमा चर्चित छन् । दशकअघि पुजारीको हत्यापछि गुम्बा जीर्ण छ । आयुर्वेद औषधालय द्वन्द्वमा विस्थापित भएको हो । रुद्रताल संरक्षण अभावमा सुकेको छ ।
यहाँको पाटन (मैदान) आफैमा आकर्षण छ । पशुको चरन क्षेत्र भएकोले यहाँ सयौं गाईभैसी र घोडा देख्न सकिन्छ । ढोरपाटनमा समयअनुसार पुग्दा फरक फरक दृश्य देखिन्छ । चारैतिर हरियाली, बीचमा मैदान, उत्तरगंगाले यहाँको रौनकता बढाउँछ । चैत वैशाखमा रातो, गुलाबी, सेतो जस्ता रंगीबिरंगी गुराँसले ढकमक्क हुन्छ । साउन भदौमा पहेलपुर फुल र मंसिरदेखि सेताम्मे हिउँले ढोरपाटनको बहुरंग देखिन्छ ।
चर्चामा रहेको उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना ढोरपाटनमा पर्छ । यो आयोजना निर्माण भए नेपालकै समृद्धिको ढोका खोल्ने स्थानीय बताउँछन् । २०७२ देखि उत्तरगंगाको चर्चा सुरु भएपनि अझै डिपिआर बनेर सञ्चानलमा आउन सकेको छैन् ।
८ सय ८२ मेगावाटको आयोजना बनाउन २० खर्ब खर्च हुने प्रारम्भिक अनुमान छ । सिकारी र विदेशी पर्यटक हेलिकोप्टर लिएर सिकार गर्न यहाँ आउँछन् । आन्तरिक पर्यटकहरू जिप चढेर जान्छन् । तर दैनिक आउँजाउँ गर्नेलाई साधन अभाव छ ।
भएको सडक जीर्ण छ । बोबाङदेखि अधिकांश बालबालिका, बुढाबुढी समेत लठ्ठी टेकेर पैदलै ढोरपाटन जान्छन् । बालबालिकाहरूको विद्यालयसमेत जाडोमा बेसीमा, गर्मीमा लेकमा सर्ने भएकोले पैदलै यात्रा गर्न बाध्य छन् । यहाँका मनिसले शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका लागि बढी सास्ती खेप्नुपर्ने अवस्था छ ।
गर्भवती र प्रसुतीकालागि बढी सास्ती छ । ३६ किमी परको बुर्तिवाङ पुग्न सवारी साधान पाए तीन घण्टा लाग्छ । ढोरपाटनका विद्यालयहरु जीर्ण छन् । उत्तरगंगामा पुल अभावमा धेरै बालबालिका जंघार तर्न बाध्य छन् । यहाँ खानेपानीको समस्या छ । उत्तरगंगा र ढोरखोलामा बगेको पानी खाएर जीवन कटाएकाहरू धेरै छन् । नवी, स्यालपाखे, भण्डारीगाउँ जस्ता गाउँमा धारा अभावमा खोलाको पानी ल्याएर खानु परेको स्थानीयको गुनासो छ ।
यतिमात्र हैन ढोरपाटनमा स्याउ पनि फल्छ । तर ढोरपाटनको स्याउ मुस्ताङ र जुम्लाको जस्तो गुलियो छैन । सजिलै बजारमा नबिक्दा वैकल्पिक परिकार बनाएर बिक्री गर्नु पर्छ । तर, उनीहरूले तालिम तथा प्राविधिक सहयोग नपाएको गुनासो गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ढोरपाटनमा स्याउको उत्पादन बढाउन बिरुवा वितरण गरेको छ । वैकल्पिक उपायबाट स्याउ बजार पठाउन पहल गर्ने परियोजनाका बागलुङ कार्यालय प्रमुख नारायण पौडेलले बताए ।
ढोरपाटन उपत्यका सबै व्यक्तिको जग्गाको होइन । हजारौं रोपनी सरकारी जग्गा छ । तर घरछेउबाट क्रमश: अतिक्रमण बढिरहेको छ । कम्पाउण्ड बढाएर अतिक्रमण गर्ने क्रमले यहाँको २ सय ४० हेक्टरभन्दा बढी जमिन अतिक्रमणमा परेको आरक्षको तथ्यांक छ । केही वर्षअघि अतिक्रमण हटाउने प्रयास भए पनि संस्थागत रूपमा बढेकोले सम्भव नभएको हो ।
यहाँको लाखौंको जडीबुटी र काठसमेत तस्करी हुने गरेको आरक्षको तथ्यांक छ । चोरी तस्करी र चोरी सिकार गर्नेको हतियार बरामद गर्नका लागिसमेत यहाँ सुरक्षा पोष्ट छैनन् ।
बागलुङमा मुख्य कार्यालय रहे पनि आरक्षको अधिकांश भूगोल रुकुममा पर्छ । केही खण्ड म्याग्दीमा पनि छ । आरक्षका ७ वटा ब्लकमध्ये तीन वटा रुकुम, तीन वटा बागलुङ र एक वटा म्याग्दीमा छ । लाइसेन्स प्राप्त सिकारीले राष्ट्रिय वन्युजन्तु संरक्षण विभागको अनुमतिले सिकार गर्न आउने गरेका छन् । करोडौं राजस्व उनीहरुले तिर्छन् । गृहमन्त्रालयको अनुमति पाएका हतियारबाट सिकार गर्न पाइने प्रावधान छ ।
बहुविशेषताले भरिपूर्ण ढोरपाटनलाई समुचित विकास गर्न सके विश्वकै आकर्षक गन्तव्य बन्ने निश्चित देखिन्छ । तीनै तहका सरकारले ढोरपाटनको विकासमा ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।