डेढ दशकमा अर्थतन्त्र बल्दैछ आशाको दियो

नेपाली अर्थतन्त्रमा पछिल्लो डेढ दशकलाई फर्केर हेर्दा आशाभन्दा निराशा बढी देखिन्छ । राजनीतिक परिवर्तनमा फड्को मारेको नेपालले अर्थतन्त्रको विकास र विस्तारमा भने सुस्त प्रगति हासिल गरेको देखिन्छ । आर्थिक विकासका क्षेत्रमा जनताका चुलिँदो अपेक्षा पूरा हुन नसक्दा निराशा बढी देखिन्छ भने यही निराशाका कारण राजनीतिक परिवर्तनका उपलब्धिहरूमाथि नै प्रश्न उठ्न थालेका छन् । रेमिटेन्सबाहेक आन्तरिक उत्पादन र विकास पूर्वाधारका क्षेत्रमा प्राप्त उपलब्धिमा सन्तोष मान्न सकिने ठाउँ देखिँदैन । यसअघि सधैँजसो आशावादी देखिने निजी क्षेत्रका अगुवाहरू पनि उत्तिकै निराश देखिन थालेका छन् ।
प्रकोप र महामारीले थलिएको अर्थतन्त्र
राजनीतिक अस्थिरतालाई बिर्सने हो भने पनि नेपालको अर्थतन्त्रको विगत १५ वर्षको समीक्षा गर्दा प्रकोप र महामारीले समेत थलिएको छ । यस अवधिमा भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप र भारतीय नाकाबन्दीलगायत अन्तर्राष्ट्रिय सम्बन्धहरूले पनि अर्थतन्त्रलाई प्रभाव पारेका छन् । पछिल्लो पाँच वर्षमा त झन् कोरोना महामारी तथा रसिया–युक्रेन युद्धलगायतले पनि अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । यद्यपि, विभिन्न चरणमा उल्लेखनीय प्रगति, चुनौती र आर्थिक संरचनामा भएका परिवर्तनहरू देख्न सकिन्छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक हेर्दा अर्थतन्त्रको तस्बिर दर्साउने कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर त्यति सन्तोषजनक देखिँदैन । सन् २००८–२०१५ मा राजनीतिक अस्थिरता र द्वन्द्वपछिको पुनर्निर्माणको प्रभावले आर्थिक वृद्धि औसत ३ देखि ४ प्रतिशतमा सीमित रह्यो भने २०१५–२०१६ मा विनाशकारी भूकम्प र भारतको नाकाबन्दीका कारण आर्थिक वृद्धि शून्यको हाराहारीमा पुगेको थियो ।
यद्यपि, २०१७–२०२३ मा आर्थिक वृद्धिमा केही सुधार भएको छ । महामारीको कारण २०२०–२०२१ मा गिरावट भए पनि २०२२ देखि क्रमिक सुधार देखिएको छ । कोभिड–१९ ले पर्यटन, साना व्यवसाय र रोजगारीमा ठूलो गिरावट ल्यायो । सरकारको राहत प्याकेज र खोप अभियानले २०२२ देखि आर्थिक सुधार गर्न सहयोग पुर्याएको थियो । यद्यपि, अझै पनि कोभिडका बाछिटा अर्थतन्त्रमा देख्न सकिन्छ ।
अर्थतन्त्रको फेरिँदो संरचना
यस अवधिमा अर्थतन्त्रको संरचनामा भने परिवर्तन महसुस गर्न सकिन्छ । खासगरी कृषि, उद्योग र सेवा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा हिस्सा गणना गर्दा यसको पुष्टि पनि हुन्छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घटेको छ, जसअनुसार सन् २००८ मा ३५ प्रतिशत रहेकोमा २०२३ मा लगभग २५ प्रतिशतमा सीमित भएको छ । यद्यपि, कृषि उत्पादनमा सुधार देखिए पनि कृषिको आधुनिकीकरण र बजारीकरण सन्तोषजनक छैन ।
उद्योग क्षेत्र पछिल्लो १५ वर्षमा उत्साहजनक रहन सकेन । कुल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा लगभग स्थिरजस्तै देखिन्छ । यस अवधिमा जिडिपीमा उद्योग क्षेत्रको योगदान १४ देखि १६ प्रतिशत रहे पनि उत्पादनमूलक उद्योगको योगदान भने ५ प्रतिशत हाराहारीमा सीमित छ । उद्योगका निमित्त यस अवधिमा ऊर्जा संकट, लगानीमैत्री नीतिको अभाव र सरकारको आयातमुखी नीति नै मुख्य चुनौती बनेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन् ।
उत्पादनमूलक उद्योगको जिडिपीमा योगदान बढाउन सम्भव रहे पनि सरकारी नीतिकै कारण नसकिएको उनको भनाइ छ । अर्थतन्त्रको सबल पक्ष भनेको सेवा क्षेत्रको विस्तार नै हो । सेवा क्षेत्र जिडिपीमा सबैभन्दा तीव्र वृद्धि गर्ने क्षेत्र भएको छ । खासगरी पर्यटन, वित्तीय सेवा र दूरसञ्चारले जिडिपीमा योगदान वृद्धि गरी २०२३ मा लगभग ५५ प्रतिशत पुर्याएका छन् ।
दीर्घकालीन रणनीति र सही नेतृत्वको सहायताले नेपाललाई आर्थिक रूपमा सशक्त राष्ट्र बनाउने सम्भावना प्रबल छ । निजी क्षेत्रको विकासले सर्वसाधारणको दैनिकीमा समेत गुणात्मक परिवर्तन ल्याएको सूचना प्रविधि क्षेत्र हो । सूचना प्रविधि क्षेत्रले नयाँ स्टार्टअपहरू जन्माइरहेको छ । खासगरी फिनटेक, ई–कमर्स र सफ्टवेयर सेवाहरूमा निजी क्षेत्रको उपस्थिति बढ्दै गएको छ ।
निर्विकल्प वैदेशिक रोजगारी
नेपाल र नेपालीका लागि वैदेशिक रोजगारी र त्यसबाट प्राप्त हुने रेमिटेन्स विकल्पहीनजस्तै बनेको छ । पछिल्लो १५ वर्षमा रेमिटेन्स आय नेपालको अर्थतन्त्रको मुख्य आधार बन्यो । सन् २००८ मा जिडिपीको १७ प्रतिशत बराबर रेमिटेन्सबाट आउँथ्यो भने २०२३ सम्म यो लगभग २४ प्रतिशत पुगिसकेको छ र अहिले पनि बढ्ने क्रममा छ । यद्यपि, रेमिटेन्स जिडिपीमा गणना भने हुँदैन । जतिसुकै रेमिटेन्स भित्रिए पनि त्यसको उपयोगिताका सम्बन्धमा भने प्रश्न उठिरहेकै छ । विदेशी रोजगारले उपभोग वृद्धि गराए पनि उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न नसकिएको देखिन्छ ।
निजी क्षेत्रको फराकिलो भूमिका
निजी क्षेत्रको भूमिका र योगदान फराकिलो बन्दै गएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले गरेको अध्ययनले कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान रहेको उल्लेख गरेको छ । यस्तै, नेपालको कुल रोजगारीमा निजी क्षेत्रकोे योगदान ८५.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । ‘नेपालमा निजी क्षेत्रको अवस्था र योगदान’ शीर्षकको उक्त प्रतिवेदनले आर्थिक वर्ष सन् २०११–१२ देखि २०२०–२१ सम्मको तथ्यांकलाई विश्लेषण गरेको छ ।
अध्ययनले गत तीन दशकमा निजी क्षेत्रको आकार पनि ३० गुणाले विस्तार भएको देखाएको छ । विश्वका धेरैजसो मुलुकमा निजी क्षेत्रका प्रतिष्ठानले नै सबैभन्दा बढी रोजगारी दिने गरेका छन् । विश्वव्यापी रूपमा ८० प्रतिशत रोजगारी निजी क्षेत्रबाटै सिर्जना भएको देखिने प्रतिवेदनमा उल्लेख छ । अझ विकासशील राष्ट्र निजी क्षेत्रले रोजगारी सिर्जनामा ९० प्रतिशत हाराहारी योगदान गर्ने गरेको छ । निजी क्षेत्रले सन् २०२१/२२ सम्ममा ५५ लाख रोजगारी दिएको जनाइएको छ ।
यसरी अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अपेक्षाकृत रूपमा बढ्दै गएको पाइन्छ । यस अवधिमा निजी क्षेत्र नेपालको अर्थतन्त्रको विशेष गरी उत्पादन, सेवा र व्यापार क्षेत्रमा मुख्य स्रोतका रूपमा रह्यो । निजी क्षेत्रको योगदानले वित्तीय सेवा, निर्माण, पर्यटन र शिक्षा क्षेत्रमार्फत आर्थिक वृद्धिमा प्रमुख भूमिका खेलेको पाइन्छ । तर, उत्पादनशील क्षेत्रमा अपेक्षाकृत कम प्रभाव देखियो, जसले गर्दा अर्थतन्त्रमा आयात–निर्भरता उच्च रह्यो ।
बैंक, बिमा र सहकारी क्षेत्रले निजी क्षेत्रका खेलाडीहरूमार्फत उल्लेखनीय प्रगति गरेको छ भने डिजिटल भुक्तानी प्रणालीको विकासले वित्तीय पहुँचमा सुधार ल्यायो, जुन निजी क्षेत्रकै पहलमा सुरु भएको हो । यस्तै, सहरीकरणले रियलस्टेट र निर्माण उद्योगलाई तीव्र रूपमा विकास गरेको छ । निजी क्षेत्रले उच्चस्तरीय आवास, सपिङ मल र व्यवसायिक संरचना निर्माणमा लगानी बढाउँदा अर्थतन्त्र चलायमान मात्र बनाएको छैन, सहरी सौन्दर्य पनि बढाएको छ । निजी क्षेत्रको बलियो उपस्थिति भएको क्षेत्र हो, पर्यटन उद्योग ।
जसमध्ये निजी क्षेत्रको सक्रिय सहभागिताले होटल, ट्राभल एजेन्सी र साहसिक पर्यटनका क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल भएको छ । कोभिड–१९ अघि सन् २०१९ मा पर्यटन व्यवसायले उच्च बिन्दु छुन सफल भएको थियो । निजी क्षेत्रको विकासले सर्वसाधारणको दैनिकीमा समेत गुणात्मक परिवर्तन ल्याएको सूचना प्रविधि क्षेत्र हो । सूचना प्रविधि क्षेत्रले नयाँ स्टार्टअपहरू जन्माइरहेको छ । खासगरी फिनटेक, ई–कमर्स र सफ्टवेयर सेवाहरूमा निजी क्षेत्रको उपस्थिति बढ्दै गएको छ ।
उज्यालो भविष्य
अर्थतन्त्रको विगतको समीक्षा र आउँदा दिनका अवसरहरूको आकलन गर्ने हो भने भविष्य उज्यालो देखिन्छ । व्यवसायका प्रवृत्तिहरू फेरिएका छन् र नयाँ प्रविधि र उपभोक्तासँग साक्षात्कार गर्न सक्ने व्यवसायहरू सफल हुने देखिन्छ । खासगरी जलविद्युत् क्षेत्रमा देखिएको अवसर र नयाँ बजारका कारण यस क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ । निजी क्षेत्रले ठूला जलविद्युत् आयोजनामा सहभागिता देखाउन थालेको छ भने अधिकतम ऊर्जा निर्यातको सम्भावना सिर्जना गरेको छ ।
भारतले मात्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने र बंगलादेशमा पनि निर्यातको ढोका खुलेसँगै यस क्षेत्रमा आशाको सञ्चार भएको छ । डिजिटलाइजेसनमार्फत पनि नेपालले प्रगति हासिल गर्न सकिने सम्भावनाहरू देखिएका छन् । डिजिटल प्लेटफर्म र प्रविधि क्षेत्रमा निजी क्षेत्रको लगानीले नयाँ सम्भावना जन्माएको छ । सूचना प्रविधिका क्षेत्रमा ठूलो लगानी आवश्यक नहुने र युवा जनशक्तिको बाहुल्यता रहेका कारण नेपालले यस क्षेत्रमा निर्यातको सम्भावना पनि बोकेको छ ।
अझै पनि पूर्ण रूपमा करको दायरामा आइनसकेका कारण अहिले पनि वार्षिक ६० अर्बभन्दा बढीको सूचना प्रविधि सेवा निर्यात भइरहेको अध्ययन प्रतिवेदन सार्वजनिक भइरहेका छन् । युवा जनसंख्याको प्रविधिमा पहुँच र आइटी क्षेत्रमा देखिएको चासोले डिजिटल अर्थतन्त्रका लागि राम्रो सम्भावना देखिएको छ । यस्तै, अन्तर्राष्ट्रिय आउटसोर्सिङ र स्टार्टअपको वृद्धि सम्भावना छ ।
नेपाल प्रकृतिको सुन्दरता, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका लागि विश्वभर प्रख्यात छ । आधारभूत पूर्वाधार र प्रवर्द्धनमा सुधार गर्न सकेको खण्डमा पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि सम्भव छ । यस्तै, लगानीमैत्री नीति लागू गर्न सकिएमा वैदेशिक लगानी जलविद्युत्, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भित्त्याउन सकिन्छ । यसरी, नेपालको अर्थतन्त्रमा जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधि मुख्य आधार बन्ने सम्भावना छ ।
यद्यपि, राजनीतिक स्थिरता, नीतिगत सुधार र लगानीमैत्री वातावरण सिर्जना गर्न सके मात्र यी सम्भावना यथार्थमा परिणत हुन सक्छन् । दीर्घकालीन रणनीति र सही नेतृत्वको सहायताले नेपाललाई आर्थिक रूपमा सशक्त राष्ट्र बनाउने सम्भावना प्रबल छ । ठूलो संख्यामा युवा जनशक्ति विदेश पलायन हुँदा देशभित्रको श्रमशक्ति र उत्पादनशीलता प्रभावित भएको छ । रोजगारी सिर्जना गरी दक्ष जनशक्ति रोक्न आवश्यक छ ।