निजी क्षेत्र : राज्यको स्पष्ट नीति अभावमा छैन आकर्षित
देशमा केही छैन भन्ने नकारात्मक प्रचार बढी हुँदा पनि विदेश जान आकर्षण बढेको मात्र छैन । यसको संख्या दैनिक वृद्धि भइरहेको छ ।
राज्यको स्पष्ट लगानीमैत्री नीति नहुँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको आर्थिक क्षेत्रका अगुवाहरुको भनाइ छ । भएका उद्योगहरु समेत बन्द हुने क्रम बढ्दै गएको छ । उद्योगले उत्पादन गरेका वस्तु खपत हुन छाडेपछि उद्योगहरु बन्द हुन थालेका हुन् । बढ्दै गएको वैदेशिक पलायन तथा पर्यटन क्षेत्रको विकास हुन नसक्दा निरासा थपिँदै गएको निजी क्षेत्रको भनाइ छ ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ८० करोड ६८ लाख रुपैयाँ लगानी भएको छ । यो लगानीमा एक हजार १२८ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् भने यस अवधीमा ७४२ वटा उद्योग बन्द भएका छन् । त्यसैगरि वाणिज्यतर्फ २ अर्ब ४३ करोड १६ लाख लगानी भएको छ । जसमा एक हजार ५२४ वटा फर्म दर्ता भएका छन् । सोही अवधीमा ७८२ वटा वाणिज्य फर्म बन्द भएका छन् । राज्यको अस्पष्ट नीतिले उद्योग तथा वाणिज्य क्षेत्रमा लगानी बढ्न नसकेको आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।
प्रदेशमा पहिलो चौमासिकसम्म घरेलु तथा उद्योग थपिनुलाई सकारात्मक रुपमा लिनु पर्ने डा. सुदनकुमार वली बताउँछन् । ‘अहिले अवस्थामा एक हजारभन्दा बढी घरेलु तथा साना उद्योग थपिनुलाई सकारात्मक रुपमा लिनु पर्दछ’ डा वलीले भने । उद्योग वाणिज्य थपिनु तथा बन्द हुनु नियमित प्रक्रिया रहेको उनको भनाइ छ । ‘उद्योग तथा व्यापार सञ्चालन गर्दा दीर्घकालीन योजना निर्माण नगरि सञ्चालन गर्दा पनि समस्या हुने गरेको छ’ डा वलीले भने, ‘देखासेखीमा उद्योग तथा व्यापार सञ्चालन गर्ने प्रवृत्तिाले पनि समस्या देखिएको छ’ ।
सेवामुलक उद्योग तथा व्यापार धेरै खुल्ने र बन्द हुने गरेकोसमेत उनी बताउँछन् । उद्योग तथा व्यवसाय दर्तामा समेत समस्या रहेको उनले बताए । ‘एउटा उद्योगी तथा व्यवसायीले ३ तहका सरकारलाई कर तिर्नु पर्दछ’ उनले भने, ‘लगानी गर्न सहज वातावरण निर्माण गरिनु पर्दछ’ । स्थानीय तहले नियमनको भूमिका निर्वाह गरेर बजार खुल्ला छोडिनु पर्ने उनी बताउँछन् । राज्यले बजार नियन्त्रण गर्न हुँदैन् । ‘राज्यले वातावरण बनाउने र निजी क्षेत्रले उद्योग तथा व्यापार व्यवसाय गर्ने हो’ उनले भने ।
व्यावसायिक वातावरण निर्माणका स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने भएपनि त्यस्तो वातावरण सिर्जना भइनसकेको उनको तर्क छ । ‘उत्पादनको बजारीकरणमा समेत स्थानीय सरकारले भूमिका खेल्नु पर्दछ तर त्यसको गरेको पाइदैन्’ उनले भने, ‘जनप्रतिनिधिले नेतृत्वको लिन नसक्दा यस प्रकारको समस्या भएको हो’ ।
उद्योगी व्यवसायी टिकाउन तथा आकर्षण गर्नका लागि राज्यको नीतिमा सुधार हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् । राज्यको नीतिले पनि उद्योग तथा वाणिज्य व्यसाय बन्द हुने गरेको उनको भनाइ छ । उद्योगले उत्पादन गरेका वस्तुहरु खपत नहुँदा उद्योग बन्द हुने गरेका छन् । ‘बाहिर निर्यात गर्न समस्या छ आन्तरिक रुपमा खपत हुँदैन’ अध्यक्ष शर्माले भने, ‘वस्तु नै खपत नभएपछि कसरी उद्योग सञ्चालन हुन सक्दछन् ?’
परम्परागत सोच र शैलीमा चलेका उद्योगमा नेतृत्व हस्तान्तरण पनि मुख्य समस्याको रुपमा रहेको छ । युवाले सहजै उद्योगधन्दा र व्यवसायमा नेतृत्व नपाउँदा दक्ष जनशक्तिले विदेश पलायनको बाटो रोजेको छ । यससँगै नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण हुँदै गएकाले पनि युवा जनशक्तिले पलायनको बाटो रोजेको छ ।
उद्योगबाट उत्पादन भएका वस्तु खपत हुन नसक्नुको कारण बढ्दो वैदेशिक पलायन तथा पर्याप्त मात्रामा पर्यटन क्षेत्रको विकास हुन नसक्नु भएको उनको भनाइ छ । अहिले धेरै युवा जनशक्ति विदेशिएको र पर्यटकहरुको आगमन बढाउन नसकेको उनले बताए । ‘अहिले उद्योग व्यवसाय सञ्चालन गरिरहेकाले समेत पुस्ता हस्तान्तरण गर्न नसक्ने अवस्था छ’ उनले भने, ‘स्वदेशमा बस्ने भन्दा विदेश जानेहरु बढेको र कसैले दिने चाहना नहुँदा पुस्ता हस्तान्तरण हुन सकेको छैन ।’
देशमा केही छैन भन्ने नकारात्मक प्रचार बढी हुँदा पनि देशमा भन्दा पनि विदेश पलायनमा आकर्षण बढ्दै गएको अध्यक्ष शर्मा बताउँछन् । देशमा आर्थिक गतिविधि चलायनमान हुँदै गएकाले निराश भइहाल्ने अवस्था नरहेको शर्माको भनाइ छ । ‘निराश भइहाल्ने अवस्था आएको छैन, आर्थिक चलायमान विस्तारै बढ्दै गएको छ’ उनले भने, ‘यसको सकारात्मक प्रभावसमेत देखिन थालिएको छ’ । उद्योग खारेजीको संख्या बढ्दै जान थालेपछि सहज रुपमा उद्योग सञ्चालनको वातावरण कसरी निर्माण गर्ने भन्नेबारे उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उपायको खोजी गर्न थालेको छ ।
रुग्ण अवस्थामा चलिरहेका उद्योग कसरी चलायमान बनाउने भन्ने बारेमा मन्त्रालयले प्रदेशका यस्ता उद्योगहरुको पहिचान गर्ने भएको छ । ‘प्रदेशका १२ वटै जिल्लाका उद्योगको अवस्था हेर्ने हो भने खारेजी हुने संख्या बढ्दै गएको देखिन्छ । यसले के पुष्टि गर्छ भने उद्योग सञ्चालनमा अहिले निकै कठिनाइ उत्पन्न भइरहेको छ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘उद्योग सञ्चालनमा देखिएका व्यवधान कसरी हटाउन सकिन्छ भन्ने विषयमा हामी गम्भिर छौं । अब यसको कारणको खोजी गरी मन्त्रालयका तर्फबाट उद्योगको सहज सञ्चालन गर्ने वातावरण निर्माण गर्न हामी गम्भिर रुपमा लाग्छौं ।’
उनका अनुसार पहिलो चरणमा प्रदेशभर रुग्ण अवस्थामा रहेका उद्योग पहिचान गरिने भएको छ । उद्योगहरु रुग्ण बन्नुको कारण खोजी हुने छ र यस्ता उद्योग चलायमान बनाउनका लागि मन्त्रालयले गर्न सक्ने आवश्यक सहयोग एवं समन्वयको योजना बनाउने भएको छ । प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयलाई यस्ता रुग्ण उद्योग पहिचान गर्न निर्देशन दिएको मन्त्री न्यौपानेले बताए । सोही निर्देशन अनुसार उद्योग कार्यालयमार्फत रुग्ण उद्योगको संख्या र अवस्था यकिन गरिने भएको छ ।
‘उद्योग व्यवसाय सहज तरिकाले चलायमान बनाउनका लागि उचित वातावरण निर्माण गरिनुपर्छ । अहिले उद्योग व्यवसाय सञ्चालन गर्न नसकेर कैयौं उद्योगी, व्यवसायी विदेश पलायन हुनु परिरहेको तीतो यथार्थ छ,’ मन्त्री न्यौपानेले भने, ‘यहाँका उद्योग सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गरेर प्रदेशको समृद्धिको लक्ष्य पूरा गर्ने योजनामा मन्त्रालय लागिपरेको छ ।’ मन्त्री न्यौपानेले यस्ता रुग्ण उद्योग पहिचानपछि सरकारका तर्फबाट आर्थिक सहायताको कार्यक्रम तय गरिने बताए । ‘रुग्ण उद्योग पहिचान गरेर उद्यमीलाई आर्थिक सहायता उपलब्ध गराउने गरी योजना बनाइने छ,’ मन्त्री न्यौपानेले भने ।
चौमासिकमा १ हजार १२८ उद्योग थप
लुम्बिनीमा चालु आर्थिक वर्षको ४ महिनामा १ हजार १२८ नयाँ उद्योग दर्ता भएका छन् । प्रदेशका १२ जिल्लामा ती उद्योग दर्ता भएका हुन् । यी उद्योग पनि उत्पादन भन्दा पनि अनुदान तथा ऋणका लागि दर्ता हुने गरेको पाइन्छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीका अनुसार चार महिनाको अवधीमा दर्ताको आधा भन्दा बढी उद्योग बन्द भएका छन् । यस अवधीमा ७४२ वटा उद्योग बन्द भएका हुन् ।
यो तथ्यांक घरेलु तथा साना उद्योग कार्यालयका पुगेर उद्योग बन्द गराउनेहरुको संख्या मात्र हो । यसबाहेर पनि धेरै उद्योग बन्द भएका व्यवसायीहरुको भनाइ छ । कतिपय व्यवसायीले बैंकको ऋण तथा विदेश जानका लागि पनि उद्योग बन्द भएपनि कार्यालयसम्म पुगेर बन्द गराउने गरेका छैन् । यस अवधीमा उद्योग बाट एक करोड ७६ लाख रुपैयाँ राजस्व असुली भएको छ ।
वाणिज्यतर्फ एक हजार ५२४ दर्ता
लुम्बिनी प्रदेशमा पहिलो चौमासिकसम्म एक हजार ५२४ वटा वाणिज्य फर्म दर्ता भएका छन् । १२ जिल्लामा यो संख्यामा वाणिज्य फर्म थपिएका हुन् । यस अवधीमा ४ हजार ३८६ फर्म नविकरण भएका छन् भने ७८२ वटा बन्द भएको मन्त्रालयको पहिलो चौमासिक तथ्यांकले देखाएको छ । वाणिज्य फर्मबाट चार महिनाको अवधीमा २ करोड २४ लाख ८१ हजार राजस्व असुली भएको मन्त्रालयले जनाएको छ । चार महिनामा ५१९ महिला र ९३३ पुरुष उद्यमी भएका छन् । यस्तै एक हजार ६४७ महिला र ३ हजार ३५ जना पुरुषले रोजगारी पाएका छन् ।