Logo

कृषिमा युवा प्रविधि प्रयोगसँगै र रोजगारी

दाङ – जिल्लामा पछिल्लो समय युवाहरू कृषिमा आकर्षण हुन थालेका छन् । कृषि विषय अध्ययन गरेका तथा विदेश गएर कृषिको बारेमा सीप हासिल गरेकाहरू समेत कृषि पेशामा लाग्न थालेका छन् । कृषि विषय अध्ययन गरेकाहरूले पछिल्ला प्रविधिको समेत प्रयोग गदै आएका छन् । युवाहरू कृषि क्षेत्रमा लागेसँगै जिल्लामा कृषि क्षेत्रको उत्पादन वृद्धि भएको छ ।

पछिल्लो समय कृृषि जन्य वस्तु बाहिर निर्यात समेत हुँदै गएको छ । सरकारले कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रोत्साहन गरेसँगै कृषिमा लाग्नेहरूको संख्यामा समेत वृद्धि भएको छ । जसबाट जिल्लामा रकमसमेत भित्रिने गरेको छ । व्यावसायिक रूपमा कृषि पेशागर्नेहरूको संख्या वृद्धि भएसँगै रोजगारी समेत सिर्जना हुँदै गएको छ ।

तुलसीपुर उपमहानगरपालिका– १८ निवासी शकर नेपाली विगत पाँच वर्षदेखि कृषि पेशा गर्दै आएका छन् । उनले अम्विकेश्वरी बहुउदेश्यीय कृषि अनुसन्धान प्रालिमार्फत कृषिलाई अगाडि बढाएका छन् । केही वर्षअघि विदेश गएर फर्किएका उनले स्वदेशमा नै केही गर्नु पर्छ भनेर कृषि व्यवसायलाई अगाडि बढाएको बताउँछन् । ‘विदेशमा गएर अरूको काम गर्नुभन्दा आफनो देशमा मालिक बन्नुु पर्छ भनेर कृषि व्यवसायलाई अगाडि बढाएको हुँ,’ नेपालीले भने । उनले कृषि व्यवसाय गर्नका लागि ४५ विगाह जग्गा भाँडामा लिएका छन् । जसको वार्षिक २० लाख भाडा तिर्ने गरेको उनको भनाइ छ । उनले अहिले भैंसी पाडा गरेर २५ गाइ, १० बाख्रा, ८० लोकल कुखुरा तथा १५ विगाहमा तरकारी खेती गर्दै आएका छन् । उनले आफू मात्र नभइ अहिले ३५ जनालाई रोजगारीसमेत दिएका छन् । हालसम्म कृषि व्यवसायमा तीन करोड बढी लगानी भइसकेको उनको भनाइ छ ।

कृषिको हब वनाउ योजनाका साथ उनले कृषि व्यवासय सुरु गरेका थिए । ‘कृषिको पर्यटकीय हव वनाउने योजना रहेको छ’ उनले भने,‘जिल्लामा आएकालाई एक पटक कृषि फर्ममा आएर हेर्ने बनाउने योजना रहेको छ’ । जिल्लाको स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको बाहिर निर्यात गर्ने योजना उनको रहेको छ ।

कृषि क्षेत्रमा लाग्नेहरूलाई राज्यले समेत सहयोग गर्ने गरेको उनको भनाइ छ । ‘वास्तविक कृषि पेशा गर्नेहरूलाई राज्यले पनि सहयोग गर्ने गरेको छ’ उनले भने,‘राज्यले सहयोग गरेसँगै कृषिमा लाग्नेहरूलाई समेत सहजता भएको छ’ । प्रदेश सरकारबाट उनले सहुलियत रूपमा कर्जा पाएका छन् । जसले गर्दा व्यवसायमा लगानी गर्न सहज भएको उनको भनाइ छ । उनले सहुलियत रूपमा पाएको कर्जाले कृषि व्यवसायमा लगानी थप गरेको उनले बताए । ‘राज्यले सहुलियत रूपमा दिने कर्जाले धेरै सहयोग पुग्ने गरेको छ’ उनले भने,‘लगानी गर्न चाहने तथा सहज रूपमा ऋण नपाउनेहरूलाई यसले धेरै सहयोग पुग्ने गरेको छ ।’ सहुलियत कर्जामा पाँच प्रतिशत ब्याज तिर्नु पर्ने उनी बताउँछन् । सरकारले कृषिमा लाग्नेलाई सहयोग गरे पनि परम्परागत रूपमा कृषि गर्नेहरूकोे आकर्षण बढन नसकेको उनी बताउँछन् । नयाँ कृषि क्षेत्रमा आउनेहरूले महत्त्व दिएर आउने गरे पनि परम्परागत रूपमा गर्दै आएकाहरूले महत्त्व नदिएको उनको भनाइ छ । यस प्रकारको सोच परिवर्तन हुनु पर्ने उनले बताए । नेपालको विकास कृषिबाट गर्न सकिने भएकाले यसलाई अगाडि बढाउनु पर्ने नेपाली बताउँछन् । ‘रोजगारको लागि विदेशिनुभन्दा स्वदेशमा रोजगार सिर्जना गर्न लाग्नु पर्छ’ उनले भने । राज्यले कृषिमा लाग्नेहरूको सम्मान गरेमा यसमा लाग्नेहरूको संख्या बढ्ने उनी बताउँछन् ।

बहुमूल्य जडीबुटी खेती
जिल्लामा दुर्लभ र बहुमूल्य जडीबुटी केशरको व्यावसायिक खेती सुरु गरिएको छ । करिब २४ लाख रुपैयाँ लगानी गरेर केशरको व्यावसायिक खेती सुरु गरिएको हो । भारतको पञ्जावमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेका २७ वर्षीय विवेक अधिकारीले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सनराइज कृषि फर्म स्थापना गरेर बहुमूल्य जडीबुटी केशरको व्यावसायिक उत्पादनमा लागेका हुन् ।

नेपालमा केशरको मागअनुसार उत्पादन न्यून हुने गरेकाले यसको व्यावसायिक रूपमा खेती सरु गरेको उनले बताए । नेपालमै पहिलो पटक दाङको नारायणपुरमा बन्द कोठमा दुर्लभ वनस्पति केशरलाई अनुकूल हुने हावापानी र प्रकाशको तापक्रम व्यवस्थापन गरेर केशरको व्यावसायिक उत्पादन थालेको अधिकारीले बताए । चिसो हुने हिमाली जिल्ला जुम्ला, डोल्पालगायतका सीमित क्षेत्रमा खुल्ला रूपमा माटो मै खेती गरेर उत्पादन लिन सकिने भए पनि दाङमा बन्द कोठामा हावापानी र प्रकाश व्यवस्थापन गरेर उत्पादन थालेको उनले बताए ।

‘दाङमा खुला रूपमा केशरको उत्पादन लिन सकिँदैन । त्यसैले १६/१६ को बन्द कोठामा एसीको सहायताले अहिले भारतको कास्मिरमा हुने जति तापक्रम कोठामा मेन्टेन गरेर उत्पादन थालेकका छौं,’उनले भने, ‘प्रारम्भिक चरणमा उत्पादन राम्रो दिइरहेको छ ।’ यहीबाट व्यवसायलाई बढाउँदै लग्ने योजनामा रहेका अधिकारी बताउँछन् । आफ्नो उत्पादनलाई ब्राण्डिङ गरेर बिक्रीको तयारी भइरहेको उनले बताए । ‘अहिले बिक्रीभन्दा कति गुणस्तरीय उत्पादन लिन सकिने रहेछ भनेर उत्पादन गरिरहेका छौं’ उनले भने, ‘यही उत्पादनबाट व्यवसाय बढाउँदै उत्पादन भएको केशरलाई ब्राण्डिङ गरेर बिक्रीका लागि तयारी गर्दै छु ।’

राम्रोसँग हुर्किएको केशरको बिरुवाले रोपेको तीन सातादेखि उत्पादन दिन सुरु गर्ने भन्दै अधिकारीले अहिलेसम्म चार सय ग्राम केशर दाना संकलन भइसकेको बताए । अधिकारीले तीन महिनादेखि व्यावसायिक उत्पादन थालेका हुन् । भारतको पञ्जावमा बाली विज्ञान अध्ययन गरेका अधिकारीले विदेश जानुभन्दा स्वदेशमै नयाँ प्रकारको जडीबुटीको व्यावसायिक उत्पादन थालेको बताए । ‘जिल्लामा मात्र होइन, नेपालमै पहिलो पटक कोठामा हावा र प्रकाशको तापक्रम व्यवस्थापन गरेर केशरको व्यावसायिक खेती गरिरहेको छु । अहिले भइरहेको उत्पादनले सफलता दिनेमा विश्वस्त छु,’ उनले भने ।

केशर एक बहुमूल्य तथा दुर्लभ वनस्पति भएको भन्दै उनले यो लसुन वा प्याजको आकारको सेतो गानाबाट खेती गर्न सकिन्छ । पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अति सुन्दर देखिन्छ । यो फुलेको बेला मन लोभ्याउने दृश्यसँगै स्वास्थ्यका दृष्टिले अत्यन्त फाइदा जनक भएको उनले बताए । विश्व बजारमा केशरको मूल्य प्रतिकेजी आठदेखि १० लाख रुपैयाँ रहेको छ । केशरको हुम्ला, जुम्लालगायतका हिमाली क्षेत्रसँगै पूर्वी नेपालका केही ठाउँमा खेती हुने गरे पनि व्यावसायिक रूपमा नेपालमा खेती हुन नसकेको अधिकारी बताउँछन् । उनका बुवा निमकान्तले छोरा कृषि पढेको र आफ्नै ठाउँमा केही गर्छु भनेर लागेकाले खुसी लागेको बताए । ‘छोरोले नेपालमा केशरको व्यावसायिक उत्पादनसँगै बजारको सम्भावना राम्रो देखेर उत्पादनमा लागेको छ । यो परिवारका लागि खुसीको कुरा हो’ उनले भने ।

८४ करोडको कृषि जन्य वस्तु निर्यात
दाङबाट आर्थिक वर्ष २०८०/८१ मा ८३ करोड ६९ लाख मूल्यको कृषि वस्तु निर्यात भएको छ । कृषि ज्ञानकेन्द्रले दिएको जानकारी अनुसार गतवर्ष ताजा तरकारी, फलफूल, मह, मकै, धान, गहुँ, तोरीको बिउ, उन्नत तथा हाइब्रिड बिउको निर्यात भएको हो गतवर्ष दाङबाट सबैभन्दा धेरै ताजा तरकारी निर्यात भएको छ । ५८ करोड १२ लाख रुपैयाँको तरकारी निर्यात भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । एक वर्षमा १९ हजार तीन सय ७५ मेट्रिक टन ताजा तरकारी कृषक/बजार व्यवस्थापन समितिमार्फत जिल्ला बाहिर बुटवल, महेन्द्रनगर, सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडाैं लगायतका शहरहरूमा निकासी भएको कृषि अर्थविज्ञ एवं कार्यालयका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार तीन सय ३५ जना व्यावसायिक कृषकले उत्पादन गरेको तरकारी निर्यात भएको छ । केन्द्रका अनुसार घोराहीमा मात्रै दैनिक करिब ७० क्विन्टल तरकारी खपत हुने गरेको छ । एक वर्षको अवधिमा ६ करोड ८९ लाख मूल्यको फलफूल जिल्ला बाहिर निर्यात भएको छ । नौ सय १६ टन फलफूल ३५ जना व्यावसायिक कृषकबाट उत्पादन भई निर्यात भएको ज्ञान केन्द्रको रेकर्ड छ । दाङबाट आँप तथा ड्रागन फ्रुट, स्टोबेरी, खरबुजा, तरबुजा आदि निर्यात भएको हो । निर्यात भएका फलफूल बुटवल, पोखरा, नेपालगञ्ज, काठमाडौंका शहरमा पुगेको लामिछानेले जानकारी दिए ।

यसैबीच चार करोड ४९ लाख रुपैयाँबराबरको मकैको बिउ जिल्ला बाहिर निर्यात भएको छ । गोर्खासिड कम्पनी, नासिक सिड कम्पनी, हरित क्रान्ति कृषि सहकारी तथा सूर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्थालगायतले उत्पादन गरेको मकै, धान, गहुँ, तरकारी तथा तोरीको उन्नत तथा हाइब्रिडको बिउ निर्यात भएको छ । उत्पादन भएकामध्ये दुई सय २१ टन जिल्ला बाहिर निकासी गर्न कृषकहरू सफल भएको उनले जानकारी दिए ।

त्यस्तै दाङबाट १४ करोड १७ लाख ५० हजार मूल्यबराबरको मह पनि निर्यात भएको छ । जिल्लाबाट आर्थिक वर्ष २०८०/८१ मा तीन सय १५ मेट्रिक टन मह निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले कृषकहरू बढ्दै गएका हुन् । दाङ जिल्ला माहुरी पालनको लागि उर्वर जिल्ला मानिन्छ । कृषिको समग्र विकासको लागि सिँचाइ क्षेत्रफल बढाउन जरुरी देखिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ लामिछाने बताउँछन् ।

‘कृषि ज्ञानकेन्द्र दाङको स्वीकृत वार्षिक कार्यक्रमअनुसार सिँचाइसहित कृषि विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँको साना सिँचाइ कार्यक्रम सञ्चालन हुने र करिब ५० हेक्टर क्षेत्रफलमा थप सिँचाइ क्षेत्र विस्तार हुने देखिन्छ’ उनले भने, ‘गतवर्षको तुलनामा यस वर्ष कृषि अनुदान बजेट ३० प्रतिशत न्यून हुनुको साथै हाल राज्यले आयात गरिने प्याज, आलु, स्याउमा लगाउँदै आएको भ्याट हटाउनु र कृषि उत्पादनमा प्रयोग हुने विषादी जन्य वस्तुमा भ्याट लगाउनुले समस्या भएको छ ।’ नेपाली कृषकको लागि राज्यकै गलत नीतिले पनि कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेको कृषि क्षेत्रका अगुवाहरू बताउँछन् ।

बामे सर्दै हिड्न लागेको कृषि व्यवसायीकरणले छिमेकी चाइनिज र भारतीय कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्नु परेको अवस्थाले पलायन हुने त होइन भन्ने चिन्ता जागेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्