सिंजाको सडकमा लगानी, फेरिँदै कहानी

जुम्ला– सिंजा गाउँपालिका–६ निवासी ६० वर्षिय काली बुढाका पाँच दशक गाउँमा सडक नदेखेरै बित्यो । गाउँमा सडक पुग्दा उनले यात्रामा मात्र कठिनाई भोगिनन् । गाउँमा उत्पादित कृषि उपजले समेत बजार पाउन सकेन । दु:ख बिराम पर्दा पनि डोकोकै सहारामा अस्पताल पुर्याउनुपर्ने कष्टकर जीवनशैलीसँग समेत जुधिन् । गाउँमा राम्रो स्वास्थ्य सेवा र सडक नपुग्दा भोग्नुपरेका कठिनाइ पुरानो जीवनलाई काली बुढा शब्दमा बयान गर्न सक्दिनन् ।
गाउँमा सडक पुग्ने, घरबाटै गाडी चढेर काठमाडांै, नेपालगन्ज, सुर्खेतसम्म जाने र उत्पादनले सहजै बजारमा पुग्ने कल्पना समेत थिएन । तर स्थानीय सरकार सञ्चालनको केही वर्षमा गाउँमै ग्राभेल सहितको चौडा सडक पुगेपछि उनी दंग छिन् । गाउँमा सडक पुगेर सरर गाडी चढ्न पाएपछि हिजोको जीवनशैली सम्झिँदा निकै कहालीलाग्दो रहेको अनुभूति हुन्छ ।
काली रावत भन्छिन्, ‘अहिले गाउँमै ठूलाठूला गाडी पुग्न थालेका छन् । विगतको गोरेटो बाटो अहिले डबल गाडी गुड्ने सडकमा बदलिएको छ । पालिकाले बेला बेला आँखा, कान, नाक हाडजोर्नी, पाठेघर सम्बन्धि विशेषज्ञ नि:शुल्क शिविर चलाएर गाउँमै स्वास्थ्य सेवा पाएका छौं ।’
विगत सम्झिँदै काली सुनाउँछिन्, ‘कठ्ठ बाब, अहिले जस्तो कहाँ थियो । सडक पुग्ला, गाडी आउला गाउँमै स्वास्थ्य सेवा पाउँला भन्ने कल्पना थिएन । तर अहिले गाउँमा सडक मात्र पुगेन । जीवनशैली फेरियो, गाउँको कहानी बदलिएको छ । दुर्गम भनेर चिनिने गाउँमा दुई लेनको बाटो पुगेको छ । सडक स्वास्थ्य राम्रो नहुँदा हामी हिजो जेजति कष्ट भोग्यौं, अब हाम्रा छोरानातिले ती समस्या भोग्न नपर्ने भयो । यसमै खुसी छांै । हाम्रो विगत कहानी जस्तै छ ।’
हड्डी, घुँडा र नसा दुखेर थलिएकी सिंजा–६ कै आदी रावत घर नजिकैको स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकको सेवा लिन पाउँदा दंग छिन् । गाउँमा सडक नहुँदा अस्पताल पुग्न कठिनाइ थियो । वर्षाैपछि गाउँमा सडक पुग्दा आर्थिक अभावले उनी थलिन बाध्य थिइन् । तर एकाएक गाडी चढेर सेता एप्रोन लगाएका विशेषज्ञ डाक्टर गाउँमै पुगेर उनको हाडजोर्नी सम्बन्धि समस्या निको पारेपछि खुसी नहुने कुरै भएन । ‘वर्षाैदेखि नसा रोगबाट थलिएर घरमै थन्किन बाध्य थिएँ । अस्पताल जान आर्थिक अभाव थियो । रोग पालेर गाउँमा बस्दाको मेरो जस्तै कष्टकर जीवनशैली धेरैले बिताउन बाध्य थिए । बाटो नहुँदा न बोक्ने मान्छे नै हुन्थे न उपचार गराउने पैसा । घरमै जडीबुटीबाट उपचार त गराइरहेको थिएँ । जति दुखे पनि सहरे बस्नुपथ्र्यो । तर आज गाउँमै डाक्टर पुग्न थाले । अहिलेको विकास र सेवाले हाम्रो विगत कहानी जस्तो लाग्न थाल्यो,’ उनले भनिन् । सिंजाले गाउँ–गाउँमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर पालिकाका झण्डै ३ हजार विपन्न नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको छ ।
गाउँमा प्राय: पाठेघर क्यान्सर, तल्लो पेट दुख्ने, हाडजोर्नी, आँखा नदेख्ने, नाक–कानको रोग पालेर बसेका विपन्न नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालनदेखि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा समेत सिंजा गाउँपालिकाले ठूलो लगानी गर्दै आएको छ । सिंजाका नागरिकले सडक र स्वास्थ्य क्षेत्रको विकासले स्थानीय सरकारको अनुभूति गर्न थालेका छन् ।
अझ बढी गाउँगाउँमा पुगेको सडक विकासले नागरिकमा सन्तुष्टि छ । विगतमा उत्पादन कृषि उपज स्याउ, सिमि, ओखरले बजार नपाएर घरमै थन्किन्थ्यो । तर आजभोलि मालवाहक गाडी गाउँमै पुगेपछि उत्पादनले पनि सहजै बजार पाएको सिंजा–६ का प्रेम दमाईले बताए । उनका अनुसार कृषि उपजको बजारीकरणका लागि त्यति धेरै समस्या अहिले छैन ।
सिंजाले पालिकाको भौगोलिक विकटता, उत्पादन सम्भावना, स्वास्थ्य क्षेत्रको समस्यालाई मध्यनजर गर्दै सडक र स्वास्थ्यमा उल्लेखनीय रुपमा लगानी गर्दै आएको छ । सिंजा गाउँपालिकाले ठूला आयोजनाका रुपमा अहिले पनि सडक निर्माणलाई नै प्राथामिकता दिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल बताउँछन् । काम शिक्षा, कृषि, पर्यटन, पूर्वाधार क्षेत्रमा पनि भएका छन् । तर विकासको मेरुदण्ड सडक र स्वास्थ्यमा लगानी पहिलो प्राथमिकतामा छ ।
एउटै सडकमा करोड बढी बजेट छ । एउटै स्वास्थ्य चौकीमा करोड बजेट छुट्याइएको छौ । लगानीले प्रतिफल दिँदैछ । पालिकाका ६ वटै वडाका सबै बस्तिमा सडक पुगिसकेका छन् । विगतको जस्तो दु:ख कतै छैन । पालिकाको आफ्नै प्रशासकिय भवनदेखि ६ वटै वडा कार्यालयका आफ्नै पक्की भवन बनेका छन् । अझै पूर्वाधार विकासका कामलाई प्राथमिकता दिएर अघि बढाइएको अध्यक्ष धितालको भनाइ छ ।
सिंजाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर शाहीले विगतदेखि नै सिंजाले सडकमा प्राथमिकता दिएको उल्लेख गरे । ‘सडक विकासको मेरुदण्ड हो । यो वर्षमा पनि पालिकाकै ठूलो आयोजनाका रुपमा वडा नं. ३ धितालिहिदेखि वडा नं ६ को भाडगाउँ सम्मको सडक निर्माण रहेको छ । राजमार्ग मापदण्डकै ८ मिटर चौडा ११ किमी दूरी रहेको उक्त सडक निर्माण गरिएको हो । करिब डेढ करोड लगानीमा आफ्नै ८ मिटरको चौडा बाटो बनाउँदैछौं,’ उनले भने । पालिकाकै आफ्नै डोजर, रोलर लगायतका मेसिन भएकोले सडक निर्माणमा सहज भएको छ । ट्रयाक खोल्नेदेखि स्तरोन्नति निरन्तर चलिरहेको शाहीले उल्लेख गरे ।
पालिकाले योजना निर्माणको कामलाई छिटोछरितो बनाउन थाले पनि सरकारले आर्थिक वर्षको अन्तिमतिर बजेट कटौती गर्ने भएकोले काम गर्न निकै समस्या भएको उनको भनाइ छ । बजेट कटौतीले अगाडि काम गर्ने उपभोक्ता समितिलाई समेत मर्का परेको छ ।
सिंजा गाउँपालिका प्राविधिक शाखाको तथ्यांकअनुसार सिंजाका ६ वटा वडामा हालसम्म १६ किमी धुले सडक निर्माण भएको छ । सुविधायुक्त प्रशासकिय भवन निर्माण भइरहेको प्राविधिक शाखा प्रमुख इन्जिनियर राजकुमार भट्टले जानकारी दिए । त्यस्तै पालिकाका ६ वटा वडामध्ये वडा नं ३ को भवन निर्माण भइरहेको छ भने अन्य वडा आफ्नै भवनमा छन् । ग्राभेल सडक निर्माण ६ किमी, आरसिसि सडक ४ किमी, पिसिसि ५ किमी निर्माण भएको छ । पालिकाभर ८ वटा मठमन्दिर निर्माण भएका छन् । त्यस्तै एक करोड लगानीमा देवीडाँडा स्वास्थ्य चौकी भवन निर्माण भइरहेको छ । वडा नं ३ र ५ को भवन अपांगमैत्री, बालमैत्री लंैगिकमैत्री, स्तनपान कक्ष सहितको नागरिकमैत्री रहेको छ ।
सडकतर्फ चालु आवको विशेष महत्त्वको योजनाका रुपमा २ करोड लागतमा फाछेबाडादेखि पर्यटकिय क्षेत्र केदारसम्मको सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढिरहेको छ । त्यस्तै २ करोडकै लागतमा धितालिहिदेखि वडा नंं ६ को कार्यालयसम्म सडक स्तरोन्नति सम्झौता चरणमै रहेको छ । सिंजाले खानेपानीतर्फ पनि उल्लेखीय काम गरेको छ । सुस्वा परियोजना र पालिकाको समन्वय तथा संयुक्त लगानीमा घरघरमा खानेपानी पुर्याउने अभियान समेत चलाइएको छ ।
हालसम्म पालिकाको लगानीमा वडा नं ४ का ४१९ घरधुरीमा एक घर एक धारा निर्माण भइरहेको छ । उक्त आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै सिंजा–२ को विष्टबाडा गाउँमा खानेपानी आयोजना निर्माण गर्न ठेक्का आह्वान भई प्रक्रिया अघि बढेको भट्टले जानकारी दिए । विष्टबाडाका १८५ घरधुरीमा एकघर एकधारा निर्माण हुने छन् ।
कृषि, पर्यटन, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा समेत पूर्वाधार निर्माण गरेका छन् । सडक विकासले पालिकाका नागरिकको उत्पादन बजारीकरणदेखि हरेक सेवाको पहुँचमा पुर्याएकोले सडक स्तरोनन्तिको काम सिंजाको पहिलो प्राथमिकतामा छ । आगामी वर्षसम्म ६ वटै वडाका सबै बस्तिमा पुगेका सडकको ग्राभेल तथा सुधारलाई जोड दिइने छ । गाउँपालिका उपाध्यक्ष सित्तली रोकाया स्वास्थ्य, सडक, शिक्षा क्षेत्रको पूर्वाधार विकाससँगै महिलाको सशक्तिकरणका क्षेत्रमा समेत उल्लेखनीय काम भइरहेको बताउँछिन् ।
सामाजिक अन्धविश्वासका कारण महिलाहरु अहिले पनि पछि परेकोले महिलाई विकास निर्माण, उद्यमशीलता, स्वास्थ्य सेवा लगायतका पक्षमा प्राथमिकता दिएर सिंजाले काम गरिरहेको उनको भनाइ छ । घरायसी कामकै बोझले स्वास्थ्यमा प्रतिकूल असर खेपिरहेका महिलाको स्वास्थ्य सुरक्षाका लागि गाउँगाउँमा स्वास्थ्य शिविर चलाइएको छ ।
मातृ शिशुको सुरक्षाका लागि करोडौंका सुविधायुक्त स्वास्थ्य चौकीका भवन बनाइएका छन् । उनले भनिन्, ‘विगतको जस्तो दैनिकी छैन । गाउँमा बाटो पुगेको छ । उत्पादनले बजार पाएको छ । अब महिला तथा युवालाई उत्पादन बृद्धि उद्यमशीलता विकासका कामसँग जोड्न जरुरी छ । सिंजाले पालिकाका ६ वटै वडाको उत्पादन सम्भावनाका आधारमा पकेट क्षेत्र बनाएर काम गर्ने नीति लिनुपर्छ । पूर्वाधारसँगै उत्पादन बढाउनु आबश्यक छ ।’