Logo

नयाँ वर्षमा धुलिखेल र नगरकोटमा पर्यटकको घुइँचो

काभ्रे-अंग्रेजी नयाँ वर्ष मनाउन धुलिखेल आउने आन्तरिक र बाह्य पर्यटकका कारण धुलिखेलका होटेलहरू भरिभराउ भएका छन् । पाँच दर्जनको हाराहारीमा रहेका होटलहरूको भरिने दर ‘अकुपेन्सी’ ८० प्रतिशतमाथि छ । नयाँ वर्षको पूर्वसन्ध्यामा धुलिखेलका सबैजसो होटेलहरू भरिएको क्षेत्रीय होटेल एसोसिएसन काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकजूले बताए ।
“अंग्रेजी नयाँ वर्ष बुधबार परेको र ‘न्यू इयर इभ’ मंगलबार परेको कारण सरकारी बिदा छैन, बिदा नभएका कारण सोचे अनुरूप त आन्तरिक पर्यटकको ‘फ्लो’ कमै छ, यद्यपि यो वर्षको ‘अकुपेन्सी’ ७५ देखि ८० प्रतिशतमाथि नै हुन्छ,” उनले भने, “क्रिसमस लगत्तै आउने न्यू इयरलले बाह्य पर्यटक कम भए पनि आन्तरिक पर्यटकले भरिभराउ हुने धुलिखेलका होटलहरूमा बिदा नभएका कारण सोचे अनुरूप आन्तरिक पर्यटकको ‘अकुपेन्सी’ कम छ ।”
यो वर्षका लागि जिल्लाको अर्को मुख्य पर्यटकीय गन्तव्य नगरकोटमा पनि करिब ८० प्रतिशत होटेल भरिएका स्थानीय होटेल व्यवसायी विनोद बजगाईले बताए । यद्यपि, कर र खाल्डाखुल्डी बाटोका कारण अघिल्लो वर्ष झै यो वर्ष पनि पर्यटकको चाप कमी रहेको उनको भनाइ छ । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा उपत्यकाको पूर्वीनाका जगातीबाट अन्य दिनको भन्दा ज्यादा सवारीहरू बाहिरिएको प्रहरीको तथ्यांक छ । पछिल्ला केही वर्षहरूमा अंग्रेजी नयाँ वर्षको अवसरमा पारिवारिक घुमघामको संस्कृति बढेसँगै जिल्लाको धुलिखेल र नगरकोटका होटेलहरू भरिभराउ हुने गरेका छन् । नयाँ वर्षको अवसरमा बल्थली, नमोबुद्ध, दोलालघाट, पलाञ्चोक लगायतका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ ।

कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्