स्थानीय सरकारको ध्यान सडकमा
दोलखा– दोलखाको कालिञ्चोक गाउँपालिकामा एक वर्षको बीचमा १८ किलोमिटर सडक सेतोपत्रे (ढलान) भएको छ । गाउँपालिकाभित्रका सडक व्यवस्थित गर्ने क्रममा सडक ढलानलाई ध्यान दिइएको हो ।
पहाडी क्षेत्रमा भिरालो जमिन भौगोलिक रुपमा अप्ठ्यारो भएकोले ढलान गर्न थालिएको हो । वडास्तरका सडकलाई व्यवस्थित गर्नका लागि वडा कार्यालयले नै छनौट गरेका सडकहरुका महत्त्वपूर्ण ठाउँ स्वदेशमै पाउने सिमेन्ट, डण्डी र स्थानीयस्तरमा निर्माण सामग्री गिटी बालुवा प्रयोग गरी ढलान गरिन्छ ।
गाउँपालिकाले पालिकास्तरका र वडास्तरका सडक वर्गीकरण गरेको छ । ९ वटा वडा रहेको कालिञ्चोकमा गत आर्थिक वर्ष २०७९–८० मा हरेक वडामा एक किलोमिटरका दरमा ९ किलोमिटर कालोपत्रे भएको थियो । चालु आर्थिक वर्षको असारसम्ममा थप ९ किलोमिटर सडक ढलानको काम भएको गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिए ।
कालिञ्चोक गाउँपालिकाले सडक ढलानमा यो वर्ष मात्रै होइन, स्थानीय तह गठनदेखि नै प्रमुख प्राथमिकतामा राखेका बजेट विनियोज गर्दै आएको छ । हरेक वडामा अप्ठ्यारा ठाउँमा गाडी सहज सञ्चालनका लागि ढलानको काम गराउँदै आएको छ । ट्रयाक मात्रै खनेका सडकहरु विस्तारै स्तरोन्नति हुँदै गए । सडकको शत्रु भनेकै पानी हो । वर्षाको पानीलाई सही रुपमा कटाएर सडक सुरक्षाका लागि नाली बनाउने, भएको सडक चौडा गर्ने र सोलिङ, ग्राभेल गर्दै सडकलाई १२ महिना चल्ने बनाउने काम गरेको हो । ‘सीमित बजेट, असीमित योजनाका कारण एकै पटक सबै पूरा गर्न सकिँदैन,’ गाउँपालिका अध्यक्ष शिवाकोटीले भने, ‘अत्यावश्यक ठाउँहरुमा भए पनि विस्तारै ढलानको काम गराउँदै छौं ।’ वडास्तरका योजना विशेष गरी गाउँपालिकाले काम गराउँदै छ । ९ वटा वडा रहेको कालिञ्चोकमा वडास्तरका मात्रै २ सय ५० किलोमिटर सडक बनेका छन् ।
गाउँपालिकाभित्रको महत्त्वपूर्ण सडक मध्ये सुन्द्रावती खोलादेखि सिङ्गटीसम्मको मुख्य राजमार्ग भएकाले कालोपत्रे भइसकेको छ । सिसा गोलाईदेखि क्याम्पोल २७ किलोमिटर सडक मध्ये २० किलोमिटर सडक कालोपत्रेको काम भइसकेको छ । यसले वडा नं. २ बाबरेको सिमानासम्म पुगेको छ ।
दुई घण्टाभित्र हरेक वडा पुगिने बैतेश्वर
दोलखाकै केन्द्र भागमा रहेको बैतेश्वर गाउँपालिकामा ८ वटा वडा छन् । वडा नं. १ देखि ८ सम्म २ घण्टामा सबै वडा केन्द्र पुग्न सकिन्छ । छोटो समयमा सबै वडा पुग्न सक्ने नेटवर्क गाउँपालिकाले सडकबाटै जोडेको हो ।
बैतेश्वर गाउँपालिकाले सुरुवाती वर्षदेखि नै सडकमै प्राथमिकता राखेर काम गर्दै आएको छ । बैतेश्वर गाउँपालिकाले वडा नं १ गैरीमुदीदेखि वडा नं. ८ क्षेत्रपासम्म द्रुत गतिको सडक भनेर सडक खनेको छ । पुराना ट्रयाकलाई समेत जोडेर नयाँ ट्रयाक जोड्दै हरेक वडाबाट एक घण्टाभित्र गाउँपालिका कार्यालय पाँडुडाँडासम्म पुग्ने व्यस्था गरेको छ ।
बैतेश्वर गाउँपालिकाको बीचबाट लामोसाँघु–जिरी सडक २०४४ सालमै तयार भएको छ । त्यसको समेत थप विस्तार भएको छ । यो सडक वडा नं. ६ तामाकोसी बजारदेखि वडा नं. ३ खावाडाँडासम्म २५ किलोमिटर छ । यही मुख्य राजमार्गबाट हरेक वडा कार्यालयसम्म पुग्ने गरी गाउँपालिकाले कालोपत्रे र ढलान सडकले जोड्ने अभियान सुरुवात गरेको छ ।
सडक ट्रयाक खोल्ने जति खनेर भएका पनि चौडा गरेको छ । चौडा सडकलाई सोलिङ र ग्राभेल क्रमश: गर्दै लगेको छ । बागमती पदेश सरकारको समपूरक बजेटको साझेदारीमा अहिले कालोपत्रे र ढलान गर्दै छ । नाम्दुबाट गाउँपालिका केन्द्र पाँडूडा जोड्ने ४ किलोमिटर सडक मध्ये ३ किलोमिटर कालोपत्रे र ढलान भइसकेको छ । बाँकीलाई यही वर्ष जोड्ने गरी काम गरिरहेको छ ।
त्यस्तै मैनापोखरी बजारबाट वडा नं. ५ को वडा कार्यालय, बैतेश्वर अस्पताल हुँदै गाउँपालिका कार्यालय पाँडूडाडा जोड्ने गरी पनि काम जारी छ । वडा कार्यालय र अस्पतालसम्म ढलान पूरा भएको छ । गोपी खोलादेखि वडा नं. १ गैरीमुदी, बुस्तीदेखि वडा नं. २ पुतलीकाठ, मैनापोखरीदेखि वडा नं. ८ क्षेत्रपा वडा कार्यालयसम्मको सडक ४ वर्षदेखि कालोपत्रे सुरु भएको छ । यि ठाउँसम्म पुग्ने आधाभन्दा बढी सडक कालोपत्रे र ढलान भएका छन् । मैनापोखरीदेखि वडा नं. ४ को वडा कार्यालयसम्म कालोपत्रे पूरा भइसकेको छ । आफ्नो कार्यकाल भित्र महत्त्वपूर्ण सडकहरु कालोपत्रे र ढलान पूरा गर्ने गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए ।
बैतेश्वर गाउँपालिकालाई सडक सञ्जाल छिटो र छरितो बनाउन भौगोलिक रुपमा पनि साथ पाएको छ । दोलखाको ९ वटा स्थानीय तहमध्ये सबैभन्दा सानो भएकाले पनि २ घण्टाभित्र सबै वडामा पुग्न सक्ने अवस्था छ । त्यसमाथि वडा नं. १ देखि वडा नं. ८ सम्म द्रुतमार्ग बनाएपछि अझै सहज भएको छ ।
कृषि उपज उत्पादनमा पनि अब्बल रहेको बैतेश्वरको वडा नं. १, २, ३, ४ र ७ का किसानहरुलाई कृषि उपज बजारसम्म पुर्याउन पनि सहज भएको छ । गाउँपालिका गठनको ७ वर्षसम्म सडकमा लगानी बढाएको गाउँपालिकाले अब आयआर्जन, रोजगारी सिर्जनामा केन्द्रित हुने अध्यक्ष लामाले जानकारी दिए । भूगोल सानो भए पनि गाउँपालिकाभित्रका आफ्नो जिम्मेवारीमा २५० किलोमिटर सडक रहेका छन् ।
मेलुङबाट शैलुङ जोड्दै
शैलुङ महाभारत पर्वतको सबैभन्दा अग्लो र रमणीय पर्वत हो । विगतमा खासै धेरै महत्त्व नभएको यो शैलुङ अहिले दोलखा र रामेछापका स्थानीय तहहरुबीच आफ्नो भएको दाबी गर्दै आएका छन् । यसले बेला बखत विवाद पनि हुने गरेको छ । त्यही शैलुङ अहिले पर्यटकीय केन्द्र बन्दै गएकाले हरेक स्थानीय तहले शैलुङसम्म पुग्ने मार्ग व्यवस्थित गर्दै जान थालेका छन् । काठमाडौंबाट शैलुङ पुग्न मुडे–बाघखोर–कालापानी सडक सहज भए पनि तराई क्षेत्रबाट शैलुङ जानेहरुका लागि मेलुङको सडक महत्त्वपूर्ण हुन्छ ।
मेलुङ गाउँपालिकाले सित्तली–मेलुङ भैंसेसम्मको सडकलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको छ । तराईबाट आउने सवारीसाधन सहजै शैलुङ पुग्न सहज होस् भनेरै यो सडक प्राथमिकतामा राखेको मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरले बताए । संघीय र प्रदेश सरकारलाई पनि एउटामात्रै योजना छान्न लगाउँदा पनि आफ्नो यही सडक पर्ने उनले बताए । यो एउटा सडक व्यवस्थित हुँदा वडा नं. ७,६,५,४,३ का मुख्य ग्रामीण बस्ती पनि समेटिन्छ । बागमती प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा सडक स्तरोन्नति भए पनि अधिकांश ठाउँ सुधार गर्नुपर्ने अवस्था छ ।
गाउँगाउँसम्म सडकका कतिपय वक्ररेखा कोरेजस्तो मात्र, न त त्यहाँ राम्रोसँग गाडी नै चढ्न सक्थ्यो, न त अर्को गाडी आइहाले पास दिने ठाउँ नै । यस्तो अवस्थामा भएका सडक फराकिला बनाउँदै १२ महिना चल्न सक्ने सडक बनाउने अठोट लिएरै काम सुरु भयो । यो वर्षबाट मुख्य सडकहरु वर्षात्मा पनि चल्छन् । यसअघि १२ किमी सडक कालोपत्रे थियो । नयाँ पुल पवटी सडकको टेण्डर भएर काम सुरु भइइसकेको छ भने अप्ठ्यारो ठाउँहरुमा ढलान भइरहेको छ । सोलिङ दिगो बनाउन बक्स सोलिङ भइरहेको छ ।
गाउँपालिकाभित्रका मुख्य रणनीतिक सडकका रूपमा १४ वटा सडक छनोट गरेर डीपीआर भएको पुराना सडकहरुलाई नै पक्की बनाउने काम जारी छ । सडकले अहिले गाउँपालिका केन्द्रदेखि हरेक वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकी, सामुदायिक भवनलाई छोएको छ । गाउँपालिकाभित्रका हरेक वडामा सडक पुगेको छ । गाउँपालिकाले वडा नं. १ पवटीमा रहेको पवटी भैंसे सडकका अप्ठ्यारा ठाउँहरुमा ढलान गरेकाले तामाकोसी बजार हुँदै शैलुङ जानेहरुका लागि अझ सहज भएको छ ।
गाउँकै जस्ता नगरका सडक पनि स्तरोन्नति
नगर भन्नेबित्तिकै सहर होला जहाँ सडक, विद्युत, खानेपानी, ढल, सञ्चार सबैको सुविधा सम्पन्न होला भन्ने गरिन्छ । तर दोलखाका २ नगरपालिका गाउँपालिकाभन्दा फरक छैन । भीमेश्वर नगरपालिकामा सदरमुकाम चरिकोट र जिरी नगरपालिकामा जिरी बजार बाहेक सबै ग्रामीण परिवेश छ । बत्तिमुनीको अँध्यारो भनेझै सदरमुकामबाट ५ किलोमिटर बाहिर जाने हो भने यो पनि नगरपालिका हो र भन्ने जिज्ञासा उत्पन्न हुन्छ । तर तिनै नगरपालिकाका सडकहरु पनि अहिले धमाधम स्तरोन्नति हुँदै छन् ।
चरिकोट सदरमुकाम चरिकोटबाट कालिञ्चोक जाने देउरालीसम्मको ६ किलोमिटर सडक ट्रयाक खोलेको ३० वर्षपछि बल्ल कालोपत्रे भयो । यसले प्रस्ट हुन्छ नगरपालिका कति सम्पन्न छ भन्ने । भीमेश्वर मन्दिरको नामबाट २०५३ मा नगरपालिका नामकरण भयो तर त्यही मन्दिर आसपास बस्तीका सडक र गल्लीहरुका सडक बल्ल सुधार सुरु भएका छन् ।
भीमेश्वर मन्दिरबाट नागदहतिर जाने सडक खनेको २० वर्षपछि बल्ल २ किलोमिटर कालोपत्रे भएको छ । भीमेश्वर नगरपालिकाले नगरका गौरवका योजनामा समावेश दोलखा नागदह सडक वडा नं. २ को महत्त्वपूर्ण सडक हो । नगरपालिकाले देउराली पानीघाट, मिलघुम्ती महाङ्काल सेराबेसीं निकाले सडक, अनाथालय–महाङ्काल, पाटी खोला उखुबारी, चोथाङ–सेराबेंसी सडकलाई नगर गौरवका योजनामा समावेश गरी स्तरोन्नती र कालोपत्रे ढलानको काम गर्दै आएको छ ।
अर्को महत्त्वपूर्ण समस्या बसपार्क हो । यो वर्षबाट बसपार्क निर्माण सुरु गरेर सञ्चालनमा ल्याउने भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले बताए । आवश्यक ठाउँहरुमा सडक पूर्वाधार पुगेका छन् । नगरपालिका मातहतमा ४४६ किमी सडक छन् । अब ती सडक व्यवस्थित गर्दै कालोपत्रे ढलान गर्दै दिगो बनाउने कार्यक्रमहरु छन् ।