किशोर–किशोरीका लागि पर्याप्त निद्रा आवश्यक

न्युयोर्क-राम्रो स्वास्थ्यका लागि वयष्कका साथै किशोर–किशोरीका लागि पनि राम्रो र पर्याप्त निद्रा लिनु आवश्यक छ । अमेरिकाको न्युयोर्कस्थित रोचेस्टर युनिभर्सिटीमा भएको शोधमा यसको खुलासा भएको हो । शोधमा के पत्ता लागेको छ भने १८ वर्षसम्मको उमेरमा किशोर–किशोरीले पर्याप्त निद्रा लिनु आवश्यक छ । यो उमेरमा युवाको मानसिक तथा शारीरिक स्वास्थ्य राम्रो होस् भन्ने विषयमा अभिभावकले ध्यान दिनु आवश्यक छ ।
निद्रा विज्ञ डा. नील स्ट्यानलीका अनुसार किशोरावस्थामा निद्रा धेरै आवश्यक छ । यसको सीधा सम्बन्ध मस्तिष्क, शारीरिक विकास तथा मानसिक स्वास्थ्यसँग हुन्छ । सुत्ने समय तय भयो भने पूरै जीवनमा यसको फाइदा मिल्छ ।
वैज्ञानिकका अनुसार किशोर पर्याप्त वा अधिक निद्र्रा लिन्छन् भने उसको मानसिक तथा शारीरिक विकास राम्रो हुन्छ । यद्यपि धेरैजसो अभिभावकले आफ्नो बच्चाका लागि न सुत्ने समय तय गरेका छन्, न सुत्ने समयमा इलेक्ट्रोनिक ग्याजेटको प्रयोगको विषयलाई लिएर कुनै नियम नै बनाएका छन् । फलस्वरूप बालबालिका लामो अवधिसम्म जागै बस्ने गरेका छन् । निद्र्रा पूरा भएन भने यसल शारीरिक तथा मानसिक विकासमा असर पार्छ ।
धेरै सुत्ने बच्चामा अधिक ऊर्जा
१६ प्रतिशत अभिभावकले बच्चाको सुत्ने समयको विषयलाई लिएर समय बनाएको शोधकर्ताले पाएका छन् । औसतभन्दा ६ मिनेट बढी सुत्ने बच्चामा अधिक ऊर्जा देखिएको छ । यस किसिमका बच्चामा तनाव तथा अवशादको समस्या पनि कमी रहेको देखिएको छ ।
बच्चा र अभिभावकको निगरानी
वैज्ञानिकले १४ देखि १७ वर्षको उमेरका १ सय ९३ युवामा अध्ययन गरेका थिए, जसमा सात दिनसम्म अभिभावक तथा बच्चाको निगरानी गरिएको थियो । यसको ७४ प्रतिशत घटनामा अभिभावकले बच्चाको सुत्ने समयको तय नगरेको पाइयो । यसैगरी ४८ प्रतिशतले साँझमा बच्चाले लिने क्याफिनको मात्रामा कुनै नियन्त्रण नगरेको पाइयो ।