Logo

समृद्धिका लागि कृषिमा लगानी

नेपाल जल, जमिन, जडिबुटि, जंगल र युवा जनशक्ति जस्ता स्रोतहरुले भरिपूर्ण देश हो । यीनै क्षेत्रहरुमा देखिएका प्रचुर सम्भावनाहरुको खोजी, परिचालन एवं उपयोग बिना समृद्ध नेपाल निर्माण सम्भव देखिँदैन । नेपालको भौगोलिक बनोट, विविधतायुक्त जलवायु, उर्वरशील कृषि क्षेत्रले अझ अपार सम्भावना बोकेको छ ।

देशको कूल जनसंख्याको करिब दुईतिहाइ निर्भर रहेको र कूल गार्हस्थ्य उत्पादनमा समेत महत्त्वपूर्ण योगदान रहेको कृषि क्षेत्रमा सामान्य परिश्रम तथा सानो लगानीबाटै प्रशस्तै परिणाम प्राप्त गर्न सकिने, खाद्य संप्रभुताको सुनिश्चित र निर्यात प्रवर्द्धन गर्दै मुलुकलाई आत्मनिर्भरताको बाटोमा उन्मुख बनाउने धेरै सम्भावना बोकेको कृषि क्षेत्रलाई नेपाल सरकार समेतले दिएको प्राथमिकता र बनाइएका नीति तथा कार्यक्रमअनुसार कृषि क्षेत्रमा लगानी विस्तार, सीपमूलक कार्यक्रमहरुको सञ्चालन, नयाँ उद्यमीहरुको उत्पादन, स्वउद्यमशिलताको विकास तथा विस्तार गर्दै कृषि क्षेत्रलाई आधुनिकिकरण एवं व्यवसायीकरण गर्दै जानु आजको मुख्य आवश्यकता बनेको छ ।

अहिले नेपालको अर्थतन्त्र विषम् परिस्थितिबाट गुज्रिरहेको छ । धेरै मानिसले अहिलेको अवस्थालाई संकटको अवस्था समेत भनेका/भन्ने गरेका छन् तर म त्यो भन्ने पक्षमा छैन । अहिले हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुसँग पर्याप्त तरलता छ । ब्याजदर घट्दो क्रममा रहेको छ । यद्यापि अर्थतन्त्रका आन्तरिक सूचकहरुमा केही समस्या एवं चुनौतीहरु देखा परेका छन् । तीनै तहका सरकार र समग्र निजी क्षेत्रको सहकार्यमा सुधार र स्तरोन्नतिका थोरै मात्र प्रयास गर्‍यौं भने यो चुनौतीलाई सामना गरेर आर्थिक विकासको नयाँ चरणमा र सुदृढ अर्थतन्त्र निर्माणको नविन यात्रामा फर्कन सक्छौं ।

समग्र निजी क्षेत्र उत्साहित एवं जागरुक बनेको अवस्थामा अर्थतन्त्रमा बाउन्सब्याक भई समग्र आर्थिक क्षेत्रहरुले स्थिरतासहितको लय पक्रनेमा म आशावादी छु । जुनसुकै अप्ठ्यारो परिस्थितिमा पनि देश सुहाउँदो, जनअपेक्षित र सुझबुझपूर्ण नीति एवं रणनीतिहरू अवलम्बन गर्ने क्षमताको विकास गर्दै जाने हो भने उत्पन्न समस्या एवं चुनौतीलाई सामना गर्न सकिन्छ भन्ने उदाहरण हामीसँग छ । त्यसकारण अर्थतन्त्रमा छिट्टै सुधार हुनेमा म आशावादी छु । निजी क्षेत्र फेरि चलायमान हुने कुराका सुखद् संकेतहरू नेपालको पर्यटन क्षेत्र, जलविद्युत लगायतको पूर्वाधारको विकासका कारण स्पष्ट देखिन्छ ।

निर्वाहमुखी बन्न पुगेको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै लैजान अत्यावश्यक छ । तसर्थ कृषि क्षेत्रमा प्रवाह भएको कर्जा र सहुलियतको वस्तुनिष्ठ मूल्यांकन गर्दै देखिएका नीतिगत र व्यवहारिक कठिनाईहरुलाई सहज र सरल बनाउन जरुरी छ । उत्पादनमा आधारित हुनुपर्ने हाम्रो अर्थतन्त्रको संरचना मूलत: ट्रेडिङमै आधारित छ ।

तर, अब यसमा सबैभन्दा ठूलो कुरो अर्थात् ध्यान केन्द्रित गर्नुपर्ने विषय भनेको नेपाल सरकारले आफ्ना योजना, नीति तथा कार्यक्रमहरुको सार्थक कार्यान्वयनमा कस्तोे सक्रियता देखाउँछ भन्ने कुराले महत्त्वपूर्ण अर्थ राख्नेछ । जनआन्दोलन भयो, त्यसपछि महाभूकम्प तथा नाकाबन्दी दुवै सामना गर्नुपर्‍यो । त्यसपछि कोरोना महामारीको संकट समेत हामीले भोग्यौं । त्यसपछिको रसिया–युक्रेन युद्धले उत्पादन र आपूर्तिको श्रृंखला नै अवरुद्ध बन्दा हामीले समेत आपूर्तिमा विविध समस्या भोग्यौं । यद्यापि ती यावत् समस्याहरुलाई हामी सामना गर्दै अगाडि बढिरहेका छौं ।

अरु देशका अर्थतन्त्रको तुलनामा हाम्रो अर्थतन्त्र राम्रै किसिमले अगाडि बढिरहेको छ । तथापि अर्थतन्त्रमा अन्योलता भने कायमै छ । माथि भनिएका विभिन्न समस्याहरूका कारण अर्थतन्त्रलाई चुनौती सिर्जना त भयो भयो, त्यसपछि हामी संघीयतामा गइसकेपछि थप असर र चुनौतीहरू हाम्रासामु देखा पर्दै गए । आर्थिक रूपमा यसले असर पार्दै गएको छ । मुलुक संघीयतामा गइसकेपछि एकातिर बजेट कन्स्टे्रन्ट भएको छ भने अर्कोतिर पुँजीगत खर्च गर्न नसकेको परिस्थिति सिर्जना भएको छ ।

विगतको सशस्त्र द्वन्द्वकालमा नेपालका उद्योग धन्दाहरु विस्तारै बन्द हुँदै गए । त्यसले शिक्षा र रोजगारीमा गम्भीर समस्या सिर्जना गर्‍यो । नेपाल बस्नुभन्दा विदेश जाँदा भविष्य सुरक्षित गर्न सकिने आम विश्वास कायम भयो । राष्ट्र निर्माणको संवाहक ठानिएका युवा पुस्ता उच्च शिक्षा र रोजगारीका लागि विदेशिने प्रवृत्ति ह्वात्तै बढ्यो जो अहिले पनि जारी छ । उत्पादनमूलक कार्यमा सक्रियतापूर्वक लाग्नुपर्ने युवा जनशक्ति विदेशिने प्रवृत्तिको दुरगामी असर हामीले अहिले पनि भोगिरहेका छौं ।

सरकारले पूँजीगत खर्च गर्न नसक्ने, रोजगारी तथा लगानीका अवसरहरु सृजना गर्नेतर्फ गम्भीर नहुने, युवापुस्तामा देशभित्र केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावना विकास नगर्ने र रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी नगरी विलासितामा मात्र खर्च गर्ने आम प्रवृत्ति जारी रहँदासम्म अर्थतन्त्रमा सुधार होइन, बरु दीर्घकालीन रुपमा समस्या देखिने विषयमा अत्यन्तै सावधान हुन जरुरी छ । उत्पादनमा आधारित हुनुपर्ने हाम्रो अर्थतन्त्रको संरचना मूलत: ट्रेडिङमै आधारित छ ।

त्यसो हुनेबित्तिकै सरकारको स्रोत पनि ट्रेडिङमै निर्भर हुन्छ । जब हामी ट्रेडिङमा निर्भर हुन्छौं, बैंक तथा वित्तले यसमै लगानी बढाइरहेका हुन्छन् । ट्रेडिङमा लगानी बढ्नु भनेको हामी अर्थतन्त्रका वास्तविक क्षेत्र तथा उत्पादनमूलक क्षेत्रतर्फ ध्यान दिन र अग्रसर हुन सकिरहेका छैनौं भन्नु हो । सरकारले पुँजीगत खर्च गर्न नसक्नुको कारण यो पनि हो । त्यसकारण अहिले धेरै किसिमका समस्या सिर्जना भइरहेका छन् । लगानी भनेको नदीजस्तै हो, जता बगिरहेको छ त्यतै जान्छ । जहाँ सम्भावना देखिन्छ निजी क्षेत्रले त्यतै लगानी गर्छ ।

केही समयअघि गार्मेन्ट क्षेत्रतर्फ लगानी निकै बढ्यो । निर्यातका लागि एकदमै सम्भावना बढेको समय थियो त्यो । त्यसपछि कार्पेट हुँदै पस्मिनातर्फ लगानी गयो । पर्यटनमा लगानी कहिले पनि रोकिएन । पर्यटनमा विविधिकरण पनि भइरहेको छ । विगतमा पर्यटन भन्नेबित्तिकै होटल भन्ने बुझिन्थ्यो । तर अहिले यसमा दीगो पर्यटन, शैक्षिक, सांस्कृतिक एवं साहसिक पर्यटन वा अन्य विभिन्न क्षेत्रतर्फ पर्यटन अगाडि बढिरहेको छ । यस क्षेत्रतर्फ धेरै लगानी बढिरहेको छ ।

अहिले निजी तथा बैंकिङ क्षेत्रले जहाँ जहाँ सम्भावना देख्यो त्यहाँ त्यहाँ लगानी गर्दै आएको छ । बैंकिङ क्षेत्र आफैंमा उद्यमी होइन । बैंकिङ क्षेत्रलाई यसमा यो यो क्षेत्रमा मात्रै लगानी गर्‍यो भन्ने कुरा आउँछ । कुनै समयमा स्कुल कलेजमा बैंकिङ क्षेत्रको लगानी थिएन । जब कम्पनी ऐनले सहज बनायो, लगानी गर्न थाल्यो । स्वास्थ्य क्षेत्रमा पनि त्यस्तै हो । कुनै समयमा जलविद्युत कसैले नबुझेको क्षेत्र थियो । तर बैंकिङ क्षेत्रले नै नेतृत्व लिएर त्यसतर्फ लगानी बढाउँदा मुलुक अहिले विद्युत निर्यात गर्न सक्नेसम्मको क्षमता बनाउन सफल भएको अवस्था विद्यमान छ ।

त्यसकारण अर्थतन्त्रको अहिलेको समस्या सिर्जना हुनुमा निजी तथा बैंकिङ क्षेत्रको दोष म देख्दिनँ । सरकारले वातावरण र पूर्वाधारहरू तयार गरिदिनुपर्छ । अहिले सरसर्ती हेर्दा सम्भावना भएको क्षेत्र जलविद्युत, यातायात, टेलिकम्यूनिकेशन लगायत हो । यसमा लगानी राम्रो भएको छ । त्यसबाहेक जलवायु, प्रविधि लगायतमा लगानी भइरहेको छ, जसको नतिजा देखिन थालेको छ । आईटी निर्यात नै पर्यटनको लेवलमा आइरहेको छ । मुलुकले आर्थिक उदारिकरणको नीति अवलम्बन गरेसँगै कुन कुन क्षेत्रमा के कसरी उदारिकरण भयो भन्ने विषयमा पुनरावलोकन गरिनुपर्छ ।

बैंकिङ क्षेत्र, स्वास्थ्य, शिक्षा लगायतमा उदारीकरण भयो । जब सरकारले लगानीका लागि जुन जुन क्षेत्रमा शुरुवात गर्‍यो, तब मात्र त्यसतर्फ माहोल सिर्जना भएको हो । निर्माण क्षेत्रतर्फको सिमेन्ट उद्योगमा उत्तिकै लगानी भएको छ । सरकारले बाटो खोलेको ठाउँमा बैंकिङ क्षेत्रबाट उल्लेख्य रुपमा लगानी भएको छ । त्यसकारण बैंकिङ क्षेत्र आफैं उद्यमी हुन सक्दैन, तर उद्यमी आइसकेपछि लगानी गर्छ । लाभ लिन सकेपनि वा नसकेपनि हामीले लगानी धेरै गर्नुपर्ने क्षेत्र कृषि हो । किनभने अहिले संसारमा नै खाद्य सुरक्षालाई उच्च प्राथमिकता दिएको देखिन्छ ।

हरेक मुलुकले यसलाई महशुस गरिसकेका छन् । यो नभई नहुने कुरा हो । कृषिमा केही हदसम्म माथि उठ्न सकेमा त्यसले धेरै क्षेत्रलाई सहज बनाउँछ । यस्तै ऊर्जा क्षेत्रमा पनि लगानी उत्तिकै बढाउन सक्नुपर्छ भने स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । विगतमा हामीले खाद्यान्न निर्यात गर्ने गरिएकोमा अहिले आयातमै भर पर्नुपर्ने अवस्था छ । कृषिमा नयाँ सुरुवात गरिएन भने खाद्य संकटको सामना गर्न कठीन हुन सक्छ । कुनै समयमा प्याजमा भारतले कर बढाउँदा र निर्यात प्रतिबन्ध लगाउँदा नेपालमा हाहाकार मच्चिएको थियो ।

यस्तै खाद्यान्नमा भारतले कडाइ गर्ने हो भने हामीलाई धेरै कठिनाइ हुन्छ । त्यसकारण कृषि क्षेत्रमा लगानी बढाउनु अनिवार्य आवश्यकता बनेको छ । साथै, प्रचुर सम्भावना बोकेको कृषि क्षेत्रमा लगानी विस्तारसहित रोजगारी र स्वउद्यमशिलताको विकास गरेर युवा जनशक्तिलाई विदेशिनबाट रोक्न, विदेशबाट फर्काएर र विभिन्न सीप, दक्षता, अनुभव लिएर विदेशबाट फर्किएका जनशक्तिलाई योजनाबद्ध रुपमा कृषिलगायतका अन्य व्यवसायमा लगाउन सक्नुपर्छ, तबमात्र मुलुकले दिगो आर्थिक विकासको गति लिनेछ । पर्यटन नेपालका लागि ठूलो अवसर हो ।

पर्यटनले नै नेपालको भविष्य परिवर्तन गर्न सक्छ । त्यसका लागि पूर्वाधार आवश्यक पर्छ । जस्तै, ठूलो सम्भावना बोकेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने चर्चा चलेको धेरै भयो तर ठोस कार्यान्वयनमा जान सकेको छैन । विमानस्थल निर्माण सँगसँगै देशका अन्य मुख्य पर्यटकिय क्षेत्रहरु जस्तै, काठमाडौं, लुम्बिनी, पोखरालगायतसँग द्रुत मार्गहरु सञ्चालन गराउने हो भने देश निर्माणमा हरेक क्षेत्र जुट्ने अवश्यम्भावी छ । आगामी दिनमा सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रतर्फ लगानी बढाउनुपर्छ ।

विदेश गएका युवाहरू एक किसिमको बाध्यताले नै गएका हुन् । उनीहरूलाई राम्रो अवसर नेपालमा नै दिने हो भने फिर्ता हुन्छन् र काम पनि गर्छन् । त्यसकारण राज्यको ध्यान यतातर्फ हुनुपर्छ । कृषिमा पनि सरकारले लगानी विस्तार गर्ने र बजारको सुनिश्चित गर्ने काममा ढिलाई गर्नु हुँदैन । यसले नेपाललाई थप गति दिन मुख्य भूमिका खेल्नेछ । यस्तै पछिल्लो समय नेपाल पनि सूचना प्रविधिमा फड्को मारिरहेको छ । मुलुकलाई आइटीको हब नै बनाउने र यसको विकासमा लाग्ने हो भने ठूलो टेवा पुग्छ ।

आइटीमा लगानी बढाउनका लागि सहुलियत प्याकेज दिनु अपरिहार्य छ । पछिल्लो समय अर्थतन्त्रमा समस्या आएसँगै बैंकप्रति आलोचना हुने क्रम बढको छ । कतै ब्याजदर उच्च हुने अवस्था सिर्जना भएका कारण पनि आलोचना बढेको थियो भने कतै बैंक तथा वित्तीय संस्थाहरुप्रति निर्माण गरिएका अनावश्यक भ्रमको कारणले पनि भूमिका खेलेको प्रष्ट देखियो । विभिन्न कालखण्डमा बैंकिङ क्षेत्रमा ब्याजदर तलमाथि भइरहेको हुन्छ । जुन बेलामा यस क्षेत्रमा तरलता राम्रो थियो ब्याजदर घटेको थियो, तरलता कम हुँदा ब्याजदर बढेको थियो । यस क्षेत्रले गर्दा त्यस्तो भएको हो त ? पक्कै होइन ।

यसपटक त्यो कुरा प्रष्ट देखियो । कुनै समयमा एकल अंकमा रहेको ब्याजदर दुई वर्ष अघि उच्च वृद्धि भयो र फेरि घट्दै अहिले एकल अंकमा नै छ । त्यसकारण बजार, माग र आपूर्तिको परिमाण हेरेर ब्याजदर तय भएको हो । चाहेर ब्याजदर बढाएको त हैन । ब्याजदरकै कारण व्यवसाय चौपट भयो भनिएको थियो, आज त ब्याजदर कम छ । खै त व्यवसाय बढेको ? त्यसकारण यसलाई बुझ्न जरुरी छ । बैंकको निक्षेप निक्षेपकर्ताले मागेको समयमा फिर्ता दिन सक्नुपर्छ । बैंकहरू यसमा सचेत हुन्छन् । भइरहेका पनि छन् ।

यसबाहेक बैंकले लगानी गर्दा आफ्नो पुँजी अनुपात हेरेर लगानी गर्ने गर्छ । पुँजी अनुपात सहज हुँदा मात्रै लगानी बढाउने हो । यी दुई विषयलाई केन्द्रीय बैंकले सुक्ष्म तरिकाले हेरिरहेको हुन्छ । साथै बैंकले अन्धाधुन्ध लगानी गर्दैन, जुन लगानीले प्रतिफल दिने सुनिश्चित छ, त्यसतर्फ मात्रै लगानी गर्छ । बैंकहरूले सम्भावना भएका क्षेत्रहरूतर्फ लगानी गर्दै जान सक्नुपर्छ । बैंकहरूको लगानी पनि वास्तविक अर्थतन्त्रतर्फ नै सोझिएको हुनुपर्छ । बैंकिङ क्षेत्रले जुनजुन क्षेत्रमा सहयोग गर्दै गएको छ त्यो क्षेत्र फस्टाउँदै गएको देखिएको छ ।

मुनाफालाई मात्रै ध्यान दिएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा उत्पन्न हुने जोखिमप्रति बैंक तथा वित्तीय संस्थाहरु सचेत बन्दै उत्पादनमूलक र दिगो विकास हुने क्षेत्रतर्फ उन्मूख हुनुपर्ने मेरो धारणा रहिआएको छ । बैंकहरूले दिगो विकासका लक्ष्यहरूलाई सहयोग गर्ने किसिमले लगानी बढाउनुपर्छ । वातावरण जोगाउने किमिसले यस क्षेत्रले लगानी गर्नु आजको अपरिहार्यता हो । प्रकृतिका स्रोतसाधन भोलि हामीलाई चाहिँदैन भन्ने सोचेर काम गर्नु हानिकारक हुन्छ । त्यस्ता कुरामा अति नै संवेदनशील भएर काम गर्नु जरुरी छ ।

अहिले यी क्षेत्रहरूमा लगानी बढाउनका लागि निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र सरकार सबैले उत्तिकै ध्यान दिन जरुरी छ । सरकारले यसका लागि सहकार्य गरेर पूर्वाधारहरू तयार पारिदिनुपर्छ । कृषि क्षेत्र आर्थिक विकासको आधार हो । निर्वाहमुखी बन्न पुगेको कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै लैजान अत्यावश्यक छ । तसर्थ कृषि क्षेत्रमा प्रवाह भएको कर्जा र सहुलियतको वस्तुनिष्ठ मूल्यांकन गर्दै देखिएका नीतिगत र व्यवहारिक कठिनाईहरुलाई सहज र सरल बनाउन जरुरी छ ।

हाल सबै पालिकाहरुमा बैंक तथा वित्तीय संस्थाको सञ्जाल पुगिसकेको अवस्थामा स्थानीय, प्रादेशिक र संघीय सरकार तथा मातहतका निकायहरुको वीचमा सघन समन्वय र सहकार्यमा वित्तीय पहुँच, वित्तीय साक्षेरता र वित्तीय समावेशीता अभिवृद्धि गर्न पनि जरुरी छ । स्वउद्यमशीलताको विकास, सीपमूलक तालिम, बीउमलको व्यवस्था, आवश्यक सिंचाई सुविधा, बजार तथा भण्डारको व्यवस्थासहित उपयोग र निर्यात प्रवर्द्धन गर्दै यस क्षेत्रको यान्त्रिकरण, आधुनिक र व्यवसायीकरणका लागि लगानी विस्तार गर्न सकेमा आर्थिक समृद्धको यात्रा त्यहिबाट तय गर्न सकिनेछ ।

(सिबिफिन अध्यक्ष उपेन्द्र पौडेलसँग परिवर्तन देवकोटाले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्