भौतिक पूर्वाधारसँगै मानवीय विकासमा अग्रसर विराटनगर
विराटनगर– विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका हो । नेपालको राजनैतिक र आर्थिक क्रान्तिमा विराटनगरको महत्त्वपूर्ण योगदान रहेको छ । जहानिया राणा शासनविरुद्ध २००७ सालमा भएको क्रान्तिको जग विराटनगर नै हो । वि.सं. १९९३ सालमा नेपालकै पहिलो उद्योगका रूपमा स्थापित विराटनगर जुट मिलको मजदुर आन्दोलनकै जगमा टेकेर २००७ को क्रान्ति भएको देखिन्छ ।
विराटनगरले प्रधानमन्त्रीसँगै थुप्रै मन्त्री जन्मायो । तर जुन रुपमा विराटनगरले विकासको गति लिनुपर्ने हो त्यसअनुसार नलिएको विश्लेषकहरू नै बताउँछन् । पटक–पटक सत्ताको नेतृत्व गरेको विराटनगरले समग्र देशको विकासतर्फ ध्यान दिँदा विराटनगर भौतिक पूर्वाधारको विकासमा पछि परेको उनीहरूको टिप्पणी छ । ७७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगरमा १९ वटा वडा रहेका छन् । नगरपालिका, उपमहानगरपालिका हुँदै महानगरपालिकाको स्थान प्राप्त गरेको विराटनगर पछिल्लो समय भने समृद्धि र विकासको पथमा अगाडि बढिरहेको जनप्रतिनिधिहरू दाबी गर्छन् ।
भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको उनीहरूको भनाइ छ । सीमित स्रोत र साधनको बाबजुद पनि विराटनगरवासीको असीमित चाहना पूरा गर्न लागिपरेको मेयर नागेश कोइराला बताउँछन् । आन्तरिक आम्दानी एकदमै कम भएकै कारण मन फुकाएर विकास निर्माण गर्न समस्या भइरहेको कोइरालाको भनाइ छ । गत आव आन्तरिक आयतर्फ ८९ करोड ५० करोड अनुमान गरिएकोमा ६० करोड ६ लाखमात्रै आम्दानी भएको थियो । महानगरको वार्षिक प्रशासनिक खर्चमात्रै ५० करोड बढी छ । मेयर कोइरालाले भौतिक पूर्वाधारको विकास सँगसँगै मानवीय विकासलाई पनि उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको सुनाउँछन् । ‘घर–घरमा सिंहदरबार’ भनेर संविधानले परिकल्पना गरेको काम स्थानीय तहले पूरा गरिरहेको मेयर कोइरालाले बताए ।
दुई वर्षमा ४६ किलोमिटर कालोपत्रे
आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म विराटनगर महानगरपालिकाले २९ किलोमिटर सडक कालोपत्रे गरेको छ । भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको महानगरले खाल्डाखुल्डीरहित महानगर अभियान पनि सञ्चालन गरिरहेको छ । कालोपत्रे सडकमा रहेका खाल्डाखुल्डी तत्कालै पुर्ने गरेको छ ।
सीमित स्रोत र साधनका बाबजुद पनि विराटनगरवासीको चाहना परिपूर्ति गर्न लागिपरेहेको महानगरका मेयर नागेश कोइराला बताउँछन् । पछिल्लो साढे २ वर्षमा २९ किलोमिटर कालोपत्रे गरेको महानगरले ४६ किलोमिटर नयाँ सडकमा ग्राभेल, ४३ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेरिङ वाल निर्माण गरिएको छ ।
बहुवर्षीय योजनाअन्तर्गत १ अर्ब १५ करोडभन्दा बढीका योजना सञ्चालन
हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् । वडास्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजना निर्माणको चरणमा रहेका छन् । सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रूपमा अगाडि बढाइरहेको मेयर कोइरालाले बताए । उनका अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन अवस्थामा रहेका छन् ।
वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक अब कालोपत्रे हुनमात्रै बाँकी रहेको मेयर कोइरालाले जानकारी दिए । वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्र सभागृह हस्तान्तरणको चरणमा पुगेको छ । वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ ।
वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको छ । विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ । विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ ।
महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए । करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको उनले बताए ।
१७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ । सिंढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको छ । त्यस्तै विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रंग लगाएर चिटिक्क पारिएको छ । वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ ।
सडक सौन्दर्यकरण र ट्राफिक लाइट जडान
बरगाछी–रानी सडकको सौन्दर्यकरण अभियान जारी रहेको छ । विराटनगरमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको आर्थिक सहयोगमा सो सडकको सौन्दर्यकरण भइरहेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हालसम्म १४ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २४ लाख ५० रुपैयाँ जम्मा गरिसकेका छन् । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।
रगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ । बाँकी १३ वटामा पुस मसान्तभित्रै सक्ने गरी कार्य भइरहेको महानगरका तर्फबाट सो परियोजना हेरिरहेका पुनमकुमार दाहालले जानकारी दिए । महानगरले उद्योगी एवं समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा उपभोक्ता समिति नै गठन गरेर सौन्दर्यकरण कार्यलाई अगाडि बढाएको छ । महानगरले विराटनगरको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन कञ्चनबारी, तीनपैनी, जलजला, रोडशेष र घाँसचोकमा ७७ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान गरेको छ ।
उज्यालो विराटनगरले सार्थकता पाउँदै
महानगरपालिका विराटनगरवासीलाई अँध्यारोबाट मुक्त गर्ने अभियानमा पनि लागेको छ । हाल मुख्य र सहायक सडकका हरेक पोलमा बत्ती बल्नै पर्ने नीति लिइएको छ । मेयर कोइराला राति आफैं सडक बत्तीको अनुगमनमा निस्कने गरेका छन् । ‘राति म आफैं अनुगमनमा निस्कने गरेको छु,’ उनले भने, ‘जुन पोलमा बत्ती बलेको छैन तत्कालै प्राविधिक टोलीलाई बोलाएर बत्ती बालेर हिंँड्छु ।’ राति गाडी र मोटरसाइकलको हेडलाइट अफ गरेर हिंड्न सक्ने विराटनगर बनाएको उनको दाबी छ । ढाटदेखि रानी नाकासम्म अन्तर्राष्ट्रिय मापदण्डको पोल गाडेर दुवैतर्फ बत्ती बल्ने गरी चालु आर्थिक वर्षको बजेटमा रकम समावेश गरेको मेयर कोइरालाले बताए ।
कला, साहित्य र संस्कृतिको संरक्षणमा अग्रसर
७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगरपालिकाभित्र १२२ जातजातिको बसोबास रहेको देखिन्छ । सबैको आ–आफ्नै भाषा, कला र संस्कृति रहेको छ । महानगरले सबै भाषा, कला र साहित्यको संरक्षण गर्ने उद्देश्यले विराटनगर प्रज्ञा प्रतिष्ठान गरेको छ । विराटनगरको पहिचान झल्किने गरी महानगरको आफ्नै लोगो निर्माण गरी प्रयोगमा ल्याइसकिएको छ । अडियो र भिडियोसहितको महानगरको आफ्नै गीत निर्माण भइसकेको छ ।
शिक्षा क्षेत्रमा महानगरद्वारा उल्लेखनीय प्रगति
विराटनगर महानगरपालिकाले भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यको विकासमा पनि उल्खनीय प्रगति गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा विभिन्न नीति तथा योजना अघि सारी कार्यान्वयनमा समेत ल्याएको छ ।
शैक्षिक गुणस्तर वृद्धि नभएसम्म भौतिक विकासको अर्थ नहुने महानगरका मेयर कोइराला बताउँछन् । कोइराला नेतृत्वको जनप्रतिनिधि निर्वाचित भई आएपछिको हालसम्म १० विद्यालय भवन, ८ वटा विद्यालयमा शौचालय, ८ विद्यालयमा स्वच्छ खानेपानीका लागि फिल्टर प्लान्ट जडान, ९ वटा बालविकास केन्द्रको सवलीकरण र स्तरोन्नति गरिएको छ । त्यस्तै विभिन्न विद्यालयमा ३७० जोर फर्निचर निर्माण, ८ वटा विद्यालयमा पुस्तकालय स्थापना, ६ वटा विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण, ५ वटा विद्यालयमा कप्युटर प्रयोगशाला स्थापना गरिनुका साथै विभिन्न १० भन्दा बढी विद्यालयको मर्मतसम्हारका साथै रंगरोगन, कम्पाउण्डवाललगायतका भौतिक तथा शैक्षिक संरचनाको निर्माण र व्यवस्थापन गरिएको छ ।
यस्तै सबै सामुदायिक विद्यालयमा पंखा र इन्भटरसमेत वितरण गरिएको छ । शिक्षाको मूलधारमा समाहित गर्नका लागि प्रत्येक वर्ष धार्मिक विद्यालयलाई शिक्षक शिक्षण अनुदान उपलब्ध गराइँदै आएको मेयर कोइरालाले जानकारी दिए । महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक र भौतिक तथा व्यवस्थापकीय पक्षको सुधारका लागि महानगरपालिकाले काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए । यसका लागि विद्यालयमा आवश्यक न्यूनतम भौतिक पूर्वाधारको विकास तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरूसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ ।
शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक जिम्मेवार बनाउनका लागि ४२ बुँदे कार्यसम्पादन करार सम्झौतासमेत गरिएको उनले जानकारी दिए । १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रम स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ । बुक फ्रि डेका रुपमा ‘खेल्दै सिक्दै कार्यक्रम’ सञ्चालनमा ल्याइएको छ । हरेक वर्ष विज्ञान प्रदर्शनी, तहगत हाजिरीजवाफ प्रतियोगिता, लोकनृत्य, वादविवाद, वक्तृत्वकलालगायतका अतिरिक्त तथा सहकार्यकलापहरूसमेत सञ्चालन गरिरहेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलले बताए ।
महानगरले शैक्षिण गुणस्तर वृद्धिका लागि शिक्षकहरूलाई दक्ष बनाउने कार्यक्रम पनि अघि सारेको छ । कार्यक्रमअन्तर्गत करिब ३ सय ५० जनाभन्दा बढी शिक्षकलाई क्षमता विकास तालिम दिएको छ । संस्थागत विद्यालयबाट प्रदान हुने छात्रवृत्तिका लागि मापदण्ड बनाई ५ हजार ३ सय ३६ जना विद्यार्थीलाई छात्रवृत्तिसमेत दिइएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षामा लक्षित वर्गको पहुँच वृद्धिका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । महानगर बहुप्राविधिक शिक्षालयबाट चार वटा इन्जिनियरिङ विषयमा अत्यन्तै न्यून शुल्कमा २५८ जना विद्यार्थी अध्यापन गर्दै आएका छन् भने २ सय जनाभन्दा बढीका लागि कम्प्युटर हार्डवेयर, कुक, इलेक्ट्रिकल मेसन, प्लम्बिङसहितका विषयमा १६ सय ९६ घन्टे तालिम सञ्चालन गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा महानगरको महत्त्वपूर्ण कार्य
विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ । महानगरले दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थ पोष्टलाई अस्पतालमा स्तरोन्नति गरेको छ । दुवै अस्पतालमा जनशक्ति र उपकरणको समेत राम्रो व्यवस्था गरेको छ । महानगरले रानी अस्पतालमा फिजियोथेरापी, भिडियो एक्स–रेलगायतका सुविधा थप गरेको छ । जसका कारण स्वास्थ्य सेवा लिन सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । आफ्नो घर आँगन नजिकै स्वास्थ्य सेवा पाउँदा अत्यन्तै खुसी लागेको स्थानीय रमेश साह बताउँछन् ।
यसबाहेक महानगरअन्तर्गतको दुवै अस्पतालमा बर्थिङ सेन्टर सञ्चालन गरेको छ । यस्तै रानी अस्पतालमा एक्स–रे र स्वास्थ्य बिमा फार्मेसी सेवा पनि सञ्चालनमा भइरहेको छ । बैजनाथपुर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको छ । यसअघि रानी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ । महानगरले विगत दुई वर्षदेखि १९ वटै वडामा नि:शुल्क स्वास्थ्य शिविर र आँखा शिविर सञ्चालन गर्दै आएको छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले बताए ।
वडा नम्बर ५ को स्वास्थ्य केन्द्रमा प्रत्येक हप्ता आइतबार, ८ मा सोमबार, ११ मा मंगलबार, १४ मा बुधबार, १७ मा बिहीबार र १९ नम्बर वडामा शुक्रबार क्लिनिक सञ्चालन भइरहेको छ । क्लिनिकमा जाँच गरेपछि मोतियाबिन्दु पहिचान भएकाहरूको नि:शुल्क शल्यक्रिया गरिनेछ । तोकिएको क्लिनिकबाट आँखाको जाँच हुनुका साथै मोतियाबिन्दु पहिचान भएकालाई तत्कालै शल्यक्रिया गरिँदै आएको छ । क्लिनिकमा जाँचपछि सेवाग्राहीले चस्मा र औषधिसमेत नि:शुल्क प्राप्त गरिरहेका छन् ।
यस्तै महानगरले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर नि:शुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको छ । हालसम्म १ हजार २ सयभन्दा बढी ज्येष्ठ नागरिकले यो सेवा प्राप्त गरिसकेका छन् । महानगरले नि:शुल्क एम्बुलेन्स र शवबाहन सेवासमेत प्रदान गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा महानगरले विराटनगरवासीलाई नि:शुल्क रगतसमेत उपलब्ध गराउँदै आएको छ । महानगरले सुशासन, पारदर्शिता, जवाफदेहिता र सरसफाईसँगै स्वास्थ्य क्षेत्रमा पनि राम्रो काम गरिरहेको नागरिक समाजको भनाइ छ ।
चिल्ला सडक र ठूला भवनलाई मात्रै विकास देख्ने समाजको मनोवृत्तिका कारण महानगरले मानवीय सूचांकको विकासमा गरिरहेको महत्त्वपूर्ण कार्यहरू ओझेलमा पर्ने गरेको नागरिक समाजका अगुवा रामबाबु दाहाल बताउँछन् । महानगरले आफ्नो स्रोतले भ्याएसम्म उपलब्धिमूलक कार्य गर्दै आएको उनको भनाइ छ । महानगरपालिकाको प्रशासनिक भवनमा हेल्थ डेस्क पनि सञ्चालनमा ल्याइसकेको छ । यस्तै बसपार्कमा स्तनपान कक्ष सञ्चालनमा ल्याएको महानगरले प्रशासनिक भवनमा पनि स्तनपान कक्ष सञ्चालनमा ल्याइसकेको छ ।
यसले सेवा लिन आउने आमाहरूलाई सहज हुने उपमेयर शिल्पा निराला कार्कीको भनाइ छ । बाल स्वास्थ्य विशेष ध्यानमा राखी १९ वटै वडामा बाल स्वास्थ्य विशेष शिविर, कुपोषित बालबालिकाहरूलाई पोषण प्याकेज वितरण, नवजात शिशुलाई न्यानो कपडासहितको प्याकेज, ५ वर्षभन्दा मुनिका बालबालिकाका लागि मोरङ सहकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखा संयोजक यादवले बताए ।
अटिज्म सेवा केन्द्र सञ्चालन
महानगरले ३० लाख रुपैयाँको लागतमा विराटनगर–४ दूधफारममा महानगर अटिज्म सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले चालु आर्थिक वर्षका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ३० लाख रुपैयाँ खर्च गरेर केन्द्र सञ्चालनमा ल्याइसकेको छ । हाल सो केन्द्रमा २५ जना बालबालिका रहेका छन् । उनीहरूलाई फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), अकुपेस्नल थेरापी, बियबियर थेरापी, अभिभावकलाई मनोचिकित्सा सेवा उपलब्ध गराउने गरिएको छ । उनीहरूलाई तालिम प्राप्त ९ जना कर्मचारीहरूले सेवा प्रदान गरिरहेको स्वास्थ्य महाशाखाका संयोजक यादवले जानकारी दिए ।
शुद्ध खानेपानी उपलब्ध गराउने बाचा पूरा हुने क्रममा
जाइकाको करिब २ अर्ब रुपैयाँ अनुदान सहयोगमा विराटनगरमा खानेपानीको परियोजना सुरु भइसकेको छ । सन् २०२६ भित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पहिलो चरणमा यो परियोजना महानगरका १ देखि १४ नम्बर वडालाई समेट्नेछ । त्यसपछि अर्को परियोजना ल्याउनका लागि पहल भइरहेको छ मेयर कोइरालाले चुनावी घोषणपत्रमा उल्लेख गरेअनुसार आफ्नो कार्यकालमा विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता पूरा हुने क्रममा रहेको बताए । परियोजनाको काम हाल धमाधम भइरहेको छ ।
नगर प्रहरीमार्फत सर्पको उद्धार
विराटनगर महानगरपालिकासहित छिमेकी पालिकामा समेत पुगेर महानगरको नगर प्रहरीले घरभित्र प्रवेश गरेको सर्पको उद्धार जारी राखेको छ । घरभित्र पसेको सर्पको नगर प्रहरीले २४ सै घन्टा उद्धार गरी डिभिजन वन कार्यालयलाई बुझाउने गरेको छ । हालसम्म २ सय ५० भन्दा बढी सर्पको उद्धार गरेर वन कार्यालयलाई बुझाइएको छ ।
विभिन्न स्थानमा डिप बोरिङ जडान
आगलागीको समयमा दमकलमा पानी भर्न सहज होस् भनेर महानगरले विभिन्न स्थानमा डिपबोरिङ जडान गरेको छ । विराटनगर–१० स्थित सन्सारीमाईस्थान र महानगर परिसरमा डिप बोरिङ जडान गरिसकेको छ । निजी क्षेत्रसित समन्वय गरेर सेन्ट्रल मललगायतका स्थानमा पनि तत्कालै पानी भर्ने व्यवस्था मिलाइएको वारुणयन्त्रको समेत जिम्मेवारी सम्हालिरहेका नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।
जाइकाको अनुदान सहयोगमा विराटनगरमा जारी खानेपानी सुधार परियोजनाअन्तर्गत महानगरका विभिन्न ३५ स्थानमा फायर हेड राख्ने सम्झौता भइसकेको छ । खानेपानी परियोजनाको निर्माण सम्पन्न भइसकेपछि ३५ ठाउँबाटै चौवीसै घण्टा दमकलमा पानी भर्न सकिनेछ ।