Logo

खानेपानी विकासको अग्रपंक्तिमा हिमा, दुई वर्षमा १३ सय घरधुरीमा धारा, सातै वडा आफ्नै भवनमा

घरदैलोको सरकार घरघरमा खानेपानी उपहार

जुम्ला– हिमा गाउँपालिका–५ निवासी ५० वर्षिया छुमकली रावतको चार दशक बढी समय खोलाको दूषित पानी बोक्दै बित्यो । स्रोत भए पनि गाउँसम्म पानी ल्याउने लगानी नहुँदा दशकाैंदेखि छुमकलीजस्तै सयाैं सर्वसाधारणलाई खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता थियो । गाउँमा भएका ४/५ वटा जीर्ण भएका धाराले गाउँको आवश्यकता धान्न नसक्ने र कतिपय अवस्थामा घण्टाैं लाइनमा बसेर रित्तै घर फर्किनु परेको छुमकलीको तितो अनुभव छ ।

जीर्ण भए पनि गाउँमा धारा नभएका होइनन् । तर माग र आवश्यकतानुसार गाउँमा पानी नभएपछि खोलाकै दूषित पानी पिउने बाध्यता हटेन । हरेक नागरिकलाई स्वच्छ खानेपानीको अधिकार हुने कुरा संविधानमै उल्लेख छ । विडम्बना छुमकली जस्ता सयांै नागरिक शुद्ध खानेपानीको पहुँचबाट वन्चित हुन बाध्य थिए । हिमाबासीलाई संघीयतापछि सञ्चालित घरदैलोको सरकारले भने घरघरमा खानेपानी उपहार दिएको छ । हाल जुम्लाकै पहिलो इनलाइन क्लोरिनेसन (शुद्धीकरण) गरेको खानेपानी धारा घरआँगनमै छल्किँदा छुमकली दंग छिन् ।

छुमकलीसहित हिमाको बाजागाडका १३६ घरमा इनलाइन क्लोरिनेसन प्रविधिको खानेपानी धारा पुगेका छन् । ‘अहिले घरघरमा धारा पुग्दा जीवनका ४० वर्ष खोलाको पानी पिउनु परेको बाध्यता कथाजस्तै लागेको छ,’ उनले भनिन्, ‘खोलाको पानी बोक्दै वर्षौं बित्यो । पानीकै कारण घरमा झगडा हुन्थ्यो । सरसफाइ त परै जावस् राम्ररी पिउनै पुग्दैन थियो । धारा पानी नखाई मरिजाउँला सुच्या छियाँ । कस्तो भाग्य घरघरै धारा पुग्या । हामीले पानीका दु:ख पायापुनि छोरानातिले नपाउने भया ।’

घरमै शुद्ध पानीधारा पुगेपछि बाजागाडा गाउँकी ७० वर्षीया बुझी रोकाया पनि खुसी छन् । गाउँमा धारा नहुँदा बिहान ४/५ नबज्दै गाग्री बोकेर खोला जानुपर्ने कष्ट भोगेकी रोकाया घरघरमा धारा पुग्दा निकै सुखको अनुभूति भएको बताउँछिन् । भन्छिन्, ‘घरमा धारा पुग्नु भनेको विकासको अनुभूति हुनु हो । समयको बचत हुनु पनि हो । प्राय: घरायसी काममा संलग्न महिलाहरुलाई पानी नहुँदा भोग्नुपर्ने समस्या अन्त्य भएका छन् । अत्यावश्यक भएरै होला घरघरमा पानी पुगेपछि धेरै सुविधाको अनुभूति हुन्छ ।’

घरघरमा शुद्ध खानेपानी धारा पुग्दा छुमकली र बुझी रोकाया मात्र होइन, हिमाका करिब १३ सय घरधुरी नै उत्साहित छन् । एक घर एक धाराको विकास भएपछि बाजागाडा बासीको खोलाको पानी खाने बाध्यता र खानेपानी अभावको समस्या अन्त्य भएको स्थानीय दलवीर रावत बताउँछन् । हिमा गाउँपालिका जिल्लाका आठ स्थानीय तहमध्ये खानेपानी विकासका हिसाबले अंग्रपंक्तिमा देखिएको छ ।

स्थानीय स्तरमा उपलब्ध स्रोतको अधिकतम प्रयोग गरी विकास साझेदार निकायको सहकार्य र आफ्नै लगानीमा हिमाले खानेपानी विकासमा विशेष जोड दिँदै आएको छ । नेपालको संविधान २०७२ को भाग–३ को मौलिक हक अन्तर्गत धारा–३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ र सफा खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने उल्लेख छ । कुनै पनि नागरिक शुद्ध खानेपानीको पहुँचबाट बन्चित नहुन् भन्ने संविधानको परिकल्पना छ ।

सोही अनुसार तीनै तहका सरकारले खानेपानीमा नागरिकको पहुँच वृद्धि गर्न काम गर्नुपर्ने हो । संघीयता कार्यान्वयनको साढे ७ वर्ष बित्दा समेत स्रोत भए पनि कर्णालीका स्थानीय तहले खासै खानेपानी विकासको क्षेत्रमा उल्लेखनीय काम गरेको देखिन्न । तर जुम्लाको हिमा गाउँपालिकाले भने वातावरण संरक्षणसँगै नागरिकको आधारभूत आवश्यकताभित्र पर्ने खानेपानीको विकासमा उल्लेखनीय उपलब्धी हासिल गरेको कुरालाई नकार्न सकिँदैन ।

बितेको दुई वर्षको अवधिमा मात्रै हिमा गाउँपालिकाका ७ वटै वडाका विभिन्न गाउँमा गरी एक हजार तीन सय घरधुरीमा शुद्ध खानेपानी धारा पुगेको छ । जिल्लाकै एकमात्र चन्दननाथ नगरपालिका र सुगमका थुप्रै बस्तीले खानेपानीको चरम अभाव झेलिरहेको अबस्थामा हिमाले दुई वर्षमै १३ सय घरधुरीमा एक घर एकधारा पुर्‍याउनुलाई उदाहरणीय कामका रुपमा लिन सकिन्छ ।

हिमामा सञ्चालित सुस्वा परियोजनासँगको साझेदारी र आफ्नै लगानीमा करोडौ खर्चेर हिमाले खानेपानीको विकास र विस्तारलाई प्राथमिकता दिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । ‘बाउबाजेले खानेपानी अभाव हुँदा झेल्नुपरेको कष्टसँग साक्षत्कार छु । यसबाट महिला दिदीबहिनी बढी प्रभावित हुन्छन्,’ अध्यक्ष शाहीले भने, ‘हिमालाई खानेपानी, सरसफाइ तथा स्वच्छतामा जिल्लाकै अब्बल पालिका बनाउने अठोट छ । पालिकाका सबै वडामा एक घर, एक धारा, शौचालय, आनीबानी परिवर्तन लगायतका क्षेत्रमा समेत काम गर्छौं । खानेपानी क्षेत्रमा लगानी अभाव हुन दिइने छैन । पानीको बहुआयामिक सदुपयोग तथा संरक्षणमा ध्यान दिन स्थानीय जागरुक हुनुपर्छ ।’

उनले थपे, ‘टुक्रे विकास गर्नुभन्दा हामीले हिमाको खानेपानी समस्यालाई पूर्ण रुपमा समधान गर्ने सोच राखेका छौं । पछिल्ला जनप्रतिनिधिले खानेपानीमा लगानी नै गर्न नपरोस् भन्ने हाम्रो सोच छ । वर्षौदेखि खोला नदीको दूषित पानी पिउनुपर्ने बाध्यताको अन्त्य गर्न लागिपरेका छाैं । खानेपानी विकासको गतिमा सुस्वा परियोजनाको उल्लेखनीय साथ छ ।’ हिमाले खानेपानीको विकाससँगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएको छ । सामुदायिक विद्यालय सुधार गर्न र निजी विद्यालयप्रतिको आकर्षण घटाउन हरेक वर्ष पढाइ मेला गर्नुका साथै प्रतिभा पहिचान समेत गर्दै आएको छ ।

जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, पूर्वाधार लगायतका क्षेत्रको आधारभूत विकाससँगै चुस्त सेवा प्रवाहमा जोड दिँदै आएका छन् । जसको अग्रपंक्तिमा हिमा गाउँपालिका देखिन्छ । तुलनात्मक रुपमा पूर्वाधार विकास, प्रत्येक वडामा आफ्नै भवन, लाखौं वृक्षरोपणको अभियान, डिजिटल सेवाको अवधारणा, खानेपानी विकासमा क्रान्तिलगायत काम हिमाले निरन्तर अघि बढाएको छ । पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोप्ने अभियान अन्तर्गत ५० हजारभन्दा बढी बिरुवा रोपिएको छ ।

कुन कुन गाउँमा पुग्यो पानी ?
हिमा गाउँपालिका साविकका बड्की,महावै पाथरखोला र कालिकाखेतू गाविस मिलेर बनेको छ । ७ वटा वडामा विभाजित हिमा गाउँपालिका कृषि, पर्यटन, जडिबुटि, धार्मिक पर्यटनको प्रचुर सम्भावाना बोकेको क्षेत्र हो । कूल जनसंख्या १२ हजार ६१२ र २ हजार ३ सय ७७ घरधुरी रहेको हिमाका एक हजार तीन सय घरधुरीमा धारा पुगेको छ । सुस्वा परियोजना अन्तर्गत ५ सय ४० वटा धारा निर्माण भएका छन् ।

जसमा हालसम्म सुस्वा परियोजनाले हिमाको खानेपानी विकासका लागि ३ करोड ९१ लख रुपैयाँ लगानी गरेर ५४० वटा धारा निर्माण गरेको सुस्वा परियोजना संयोजक सुमित्रा शाहीले बताइन् । उनका अनुसार हिमाको बड्की गाउँका १६६ घरधुरी, बाजागाँडाका १३६, डाडाबाँडाका ७०, देवारगाउँका ७०, मर्चि गाउँका ६६ र बागबजारका २० घरधुरी धारा निर्माण भएका छन् ।

संयोजक शाहीले भनिन्, ‘इनलाइन क्लोरिनेसन गरेको पानी जिवाणुरहित हुन्छ । कोलिफर्मले जीवाणु मार्छ । जसले गर्दा नागरिकको स्वास्थ्यमा कुनै असर पर्दैन । यो प्रविधि कर्णालीकै पहिलो हो । कर्णालीका अधिकांश नागरिक अझै शुद्ध पानीको पहुँचमा पुगेका छैनन् । त्यसैले इनलाइन क्लोरिनेसन प्रविधि सबै खानेपानी आयोजनामा लागू गर्न जरुरी छ ।’

त्यस्तै, हिमा गाउँपालिकाले करिब साढे ३ करोड बढीको लगानीमा बृहत् हिमा खानेपानी आयोजना निर्माण कार्य थालनी गरेको छ । जसमा धाँचु गाउँका ४ घरधुरी, जार्जी गाउँका ८८, तली कुडुका १०२, सिम्तलीका ७४, खेतुका २२, सानो चिउडीको २४ र ठूलो चिउडीका ९६ घरधुरीमा एक घर एक धारा निर्माण भएको हिमा गाउँपालिकाका इन्जिनियर तोर खड्काले बताए ।

साथै कुडु गाउँका ८४ घरधुरी, बुअका १३० घरधुरी र जोगीबाडाका ८४ घरधुरीमा धारा पुगेको छ । जसमा किर्डाक नेपालले ५६ लाख लगानी गरेको छ । बुअमा गाउँमा हिमा गाउँपालिकाले ६० लाख खर्चेर १३० घरधुरीमा खानेपानी धारा निर्माण गरेको छ । कुल २३ सय ७७ घरधुरीमध्ये अब अब एक हजार घरधुरीमा एक घर एक धारा पुर्‍याउन हिमाले निरन्तर काम गरिरहेको छ ।

हिमाले दीर्घकालीन महत्त्वको खानेपानी आयोजना निर्माण गरी नागरिकको पीडामा मलम लगाएको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले बताइन् । हिमाले संघीयताको पहिलो पाँच वर्षमा नीति निर्माण कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक पूर्वाधारलगायतका क्षेत्रको आधारभूत विकास गरेको छ ।

पालिकाका ७ वडामध्ये ६ वटा वडा आफ्नै भवनमा सञ्चालित छन् । ७ नम्बर वडा बाहेक सबै वडामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । पालिकाभरिका नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गरिएको छ । १ नम्बर वडाले भत्ता बुझ्न नि:शुल्क गाडीको व्यवस्था गरेको छ । उल्लेखनीय कामहरुलाई हेर्दा हिमा गाउँपालिका विकास र सेवा प्रवाहमा जिल्लाकै नमुना पालिका बनेको छ ।

पाँच वर्षको अवधिमा अघिल्ला जनप्रतिनिधिले टुंगो लगाउन नसकेको पालिकाको प्रशासनिक केन्द्र पनि अध्यक्ष शाहीले टुंगो लगाई प्रशसकीय भवन निर्माण प्रक्रिया बढाएका छन् । सीमित स्रोतले असीमित चाहना परिपूर्ति गर्न आवश्यक योजना चाहिन्छ । इच्छाशक्ति भएमा बजेट अभाव बाधक बन्न सक्दैन भन्ने उदाहरण हिमा बनेको छ । जनताले प्रत्यक्ष महसुस गर्ने तर हेर्दा देख्दा सानो लाग्ने आधारभूत विकासमा हिमा अग्रसर छ ।

बर्खामा बाइक बगाउने हिमा प्रवेशद्वारको खोलामा पुल बनाएपछि रारा जाने पर्यटकलाई ठूलो राहत भएको छ । बढ्दो जलवायु परिवर्तनबाट बच्न, वातावरण संरक्षण गर्न तथा बाढी, भू–क्षयजस्ता घटना न्यूनीकरण गर्न ‘ग्रिन रोड ग्रिन रिभर’को नीति अनुसार पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोप्ने अभियान समेत थालिएको छ । खानेपानी विकासलाई विशेष प्रथामिकता दिएका कारण पनि वाताबरण जोगाउन हिमा सक्रिय छ ।

पूर्वाधार विकासमा गति
मुलुकमा संघीयता कार्यान्वयनको ७ वर्ष बित्यो । जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले भाडाकै घरमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी लगायतका क्षेत्रको आधारभूत विकास र सेवा प्रवाह गरे । जुम्लाका ६० वटै वडाका गाउँगाउँमा बाटा पुगेका छन् । घरदैलोमै प्रशासनिक सेवा मिलेको छ । यद्यपि, जुम्लाका आठवटै स्थानीय तह र करिब ९० प्रतिशत वडा पालिका भाडाकै घरमा सञ्चालित छन् । हिमा गाउँपालिकाका भने ७ वटा वडामध्ये चारवटा वडामा सुविधा सम्पन्न भवन निर्माण भएका छन् ।

दुर्गम गाउँका नागरिकलाई सहज, सरल छिटो र छरितो सेवा प्रवाह गर्न पालिकाले चारवटा वडामा नयाँ पक्की भवन निर्माण गरी सञ्चालनमा ल्याएको छ भने वडा नं.१, ५ र ६ का कार्यालय गाविस भवनमा सञ्चालित छन् । संरचना बिना छिटो छरितो सेवा प्रवाहमा मात्र समस्या हुन्न । व्यवस्थाको स्थायित्वका लागि पनि संरचना जरुरी छ । सिंहदबारको अधिकार मात्र हैन संरचना पनि गाउँमा पुर्‍याउने लक्ष्यअनुसार हिमाका गाउँगाउँमा सिंहदबार ठडिएका छन् । सात वडामध्ये ६ वटा वडा आफ्नै भवनमा छन् ।

साथै पालिकाको प्रशासनिक भवन निर्माण प्रक्रिया पनि अघि बढेको छ । करिब ९ करोड लगानीमा बन्ने सुविधायुक्त भवनको माटो परिक्षण गरेर शिलान्यास समेत भइसकेको छ । नयाँ भवन बन्न बाँकी हिमा गाउँपालिकाका वडा नं. १, ५ र ६ मा ढिलोमा दुई वर्षमा वडा भवन बनाइने अध्यक्ष शाहीको भनाइ छ । पाँच वर्षभित्र पालिकाको प्रशासनिक भवनसमेत निर्माण गरिने छ ।

हाल हिमा गाउँपालिका कार्यालयबाहेक सातवटा वडा कार्यालयका चार नयाँ र तीन पुराना आफ्नै भवन छन् । वडा नं. ७ को भवन पालिकाको एक करोड ५६ लाख लागतमा निर्माण गरेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनका अनुसार भवन निर्माणपश्चात सात नम्बर वडावासी छिटो सेवा पाउने छन् । हिमाले खानेपानी, पूर्वाधार विकास, वातावरण संरक्षणका क्षेत्रमा गरेको काम अन्य पालिकाका लागि अनुसरण योग्य छन् ।

प्रतिक्रिया दिनुहोस्