करोडौं लगानीको सब्जीमण्डी सञ्चालन हुन नसक्दा स्थानीय आक्रोशित
बिर्तामोड– झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई खोलाको किनारमा रहेको पुरानो भुटानी शिविरमा करोडौंको लगानीमा निर्माण गरिएको सब्जीमण्डी सञ्चालन हुन नसक्दा स्थानीय आक्रोशित बनेका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई खोलाको किनारमा रहेको पुरानो भुटानी शिविरमा सब्जीमण्डी निर्माण कार्य अगाडि बढाएको र पटक–पटक गरेर हालसम्म एक करोड ६८ लाखभन्दा वढी लगानी भइसके पनि उक्त सब्जीमण्डी भने अहिलेसम्म सञ्चालन हुन नसक्दा स्थानीय आक्रोशित बनेका हुन् ।
संघीय सरकारले बुद्धशान्तिको वडा नम्बर– ४ स्थित टिमाई खोलाको किनारमा रहेको पुरानो भुटानी शिविरमा आर्थिक वर्ष २०७६/०७७ देखि सब्जीमण्डी निर्माण कार्य अगाडि बढाएको र सब्जीमण्डी निर्माणमा हालसम्म आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा एक करोड २० लाख ३२ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा ४७ लाख ७८ हजार रुपैयाँ गरी कुल एक करोड ६८ लाख रुपैयाँ खर्च भएको बुद्धशान्ति गाउँपालिकाका इन्जिनियर विक्रम दाहालले बताए । यति रकममा उक्त सब्जी मण्डीमा १२ वटा सटर सहितको कोठा, एउटा मण्डी, बेरा र सार्वजनिक शौचालय निर्माण भएको उनले जानकारी दिए ।
पहिलेको सरकारले यस ठाउँमा कृषि ज्ञान केन्द्र बनाउने योजना राखेको भएपनि चिस्यान केन्द्रका निम्ति आएको बजेट माथिबाट काटिएपछि कृषि संकलन केन्द्रलाई प्रभावकारी ढंगले सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । चिस्यान केन्द्र निमार्णका निम्ति एक करोड जति रकम आवश्यक पर्ने र उक्त रकम बुद्धशान्ति गाउँपालिकासँग नभएका कारण चिस्यान केन्द्र बनाउन नसकिएको बताउँदै उनले मदन भण्डारी राजमार्ग बनिसकेपछि यसको एक्सेस विस्तार हुने र जसले गर्दा सञ्चालन गर्न पनि सजिलो हुने भएकाले यो वर्षबाट सटर भाडाका निम्ति ठेक्का आह्वान गरेको जानकारी दिए ।
बुद्धशन्ति–४ का वडाध्यक्ष शेरबहादुर रायाले अझ राम्रो गरी संरचना निमार्ण गरेर जिल्लाकै राम्रो सब्जीमण्डी बनाउने योजना रहेको बताए । उनले सब्जीमण्डीमा बाहिरतिरबाट पनि आएको तरकारी राखेर बिक्री गर्ने योजना रहेको बताउँदै बाहिरबाट आएको तरकारी स्टोर गर्न चिस्यान केन्द्र आवश्यक हुने भएकाले चिस्यान केन्द्र बनाउन आएको बजेट फिर्ता भएकाले आफूहरुले चिस्यान केन्द्र निर्माण गर्न नसकिएको जनाए । स्थानीय सरकारसँग चिस्यान केन्द्र स्थापना गर्न पर्याप्त बजेट नभएकाले यसलाई सोचेअनुसारको निर्माण गर्न नसकिएको बताउँदै उनले सोचे अनुरुप सञ्चालन गर्न नसकिएको जनाए ।
ठेक्का प्रक्रियाबाट यसलाई चाडै सञ्चालनमा ल्याउन आफूहरू लागिपरेको बताउँदै उनले यसलाई भाडामा सञ्चालन गर्न बुद्धशान्ति गाउँपालिकाले सूचना निकाल्दा कोही पनि नआएका कारण पुन: दोस्रो पटक सूचना प्रकाशित गरेको जनाए । यता स्थानीय हुईशल लामा अघिल्लो जनप्रतिनिधिकै कार्यकालमा यो सब्जीमण्डी प्रयोगका निम्ति तयार भइसकेको बताउँदै हालका जनप्रतिनिधिले यसलाई सञ्चालन गर्न चासो नदिएको बताउँछन् । शान्तिनगरभित्रका कृषकहरुले धेरै तरकारी उत्पादन गर्ने भएकाले यो सब्जीमण्डीलाई काठमाडौंको कालिमाटी जस्तै बनाउन सकिने आशा निराशामा परिणत भएको उनले बताए ।
सहरी क्षेत्रका सब्जी बजारमा लोड अनलोड गर्दा जाम हुने समस्या भएकाले यहाँबाट तरकारी वितरण गर्ने अवधारणा अनुसार सब्जीमण्डी तयार भए पनि जनप्रतिनिधि परिवर्तन भएपछि त्यसलाई सञ्चालन गर्न चासो नदेखाएको उनको भनाइ छ । आफ्नै आगनमा करोडौंको लगानीमा बनेको सब्जीमण्डी सञ्चालनमा नआउँदा किसानहरू बिर्तामोड, चारआली र धुलाबारी लगायतका बजार जानु परेकाले किसानलाई गाह्रो भइरहेको बताउँदै उनले यही सब्जीमण्डीमा तरकारी बेच्न सके किसानले आम्दानी राम्रो गर्न सक्ने भएकाले तत्काल सब्जीमण्डी सञ्चालनमा ल्याउन सरकारसँंग माग गरे ।
यसैगरी अर्का स्थानीय करण थेवे करोडौंको लगानीमा बनेको सब्जीमण्डी सञ्चालनमा नआउनु दु:खद् रहेको बताउँछन् । शान्तीनगरका किसानका लागि बनाइएको सब्जीमण्डी निर्माण सम्पन्न भएको यतिका वर्षमा पनि प्रयोगविहीन हुँदा किसानहरू अझैं पनि आफ्नो तरकारी बेच्न दलालकै भर पर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ । उनले नागरिकको करबाट बनेका यस्ता करौडौंका संरचना सञ्चालन नगरेर सरकारले यसक्षेत्रका किसानलाई झन पीडामाथि पीडा थपेको बताए । उनले शान्तिनगरको सब्जीमण्डी तत्काल सञ्चालन गर्न स्थानीय सरकारसँंग माग गरे ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ शान्तिनगर तरकारी उत्पादनका लागि प्रख्यात क्षेत्र रहेको र यहाँ उत्पादन भएका तरकारी झापाको बिर्तामोड, धुलाबारी, चारआली र दमकलगायतका सहरमा बिक्री हुने गरेको छ । शान्तिनगरमा उत्पादन भएका तरकारी भारतको पश्चिम बंगाल प्रान्तको पानीटेंकी, नक्सालबाडी तथा सिलिगुडी लगायतका सहरमा समेत बिक्री हुने गरेको छ । यहाँको तरकारी उत्पादनलाई मध्यनजर गर्दै संघीय सरकारले बुद्धशान्तिको वडा नम्बर ४ स्थित टिमाई खोलाको किनारमा रहेको पुरानो भुटानी शिविरमा आर्थिक वर्ष २०७६/०७७ देखि सब्जीमण्डी निर्माणकार्य अगाडि बढाएको थियो ।