Logo

रारामा पर्यटकीय चहलपहल बढ्यो

मुगु– कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटकीय चहलपहल बढेको छ । जुम्लाको कनका सुन्दरी हुँदै रारा अर्थात् महेन्द्र तालसम्मको हवाई र सडक अवस्थामा सुधार हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । मौसम खुलेसँगै रारा तालको सप्तरंगी दृश्य हेर्न, घुम्न, अध्ययन अनुसन्धान गर्न आउने विदेशी बढेका छन् ।

पर्यटक बढेपछि रारामा रहेका घोडा व्यवसाय सञ्चालन गर्दै आएका स्थानीयले समेत राम्रो आम्दानी गर्न थालेका छन् । विगत वर्षभन्दा पछिल्ला वर्षहरूमा कर्णाली राजमार्गको सडक निमार्ण कार्यमा दैनिक सुधार हुँदै जान थालेपछि कर्णाली प्रदेशलगायत देशका मुख्य शहर पोखरा, काठमाडौ, नेपालगञ्ज, विराटनगर, चितवनलगायतका ठाउँबाट नेपाली भाषाको उद्गम थलो जुम्लाको कनका सुन्दरी हुँदै रारा आउने पर्यटकहरू बढेका हुन् ।

दशै तिहार सकिएपछि रारामा दैनिक ४०–५० जनासम्म स्थानीय पर्यटक घुम्न आउने गरेका छन् । रारा पुग्ने पर्यटकहरूलाई लक्षित गरी घोडा चढाएर रारा तालको विभिन्न स्थानसम्म पुर्‍याउनको लागि पछिल्लो समय घोडा व्यवसाय संघ गठन गरिएको छ । पालैपाले पर्यटकहरूलाई रारा घुमाउने गरेको र दैनिक दुई तीन हजार रुपैयाँसम्म आम्दानी हुने गरेको घोडा व्यवसायी जीवन रावलले बताए ।

रारा घुम्न आएका पर्यटकहरूलाई सल्यरीबाट राराताल, हुटु, मुर्माटप, महादेव मन्दिरलगायतका विभिन्न स्थानसम्म घुमाउने गरेको उनले बताए । घोडा व्यवसाय समितिको निर्णयअनुसार पालैपालो गरेर जाने गरेको उनले जानकारी दिए । हिजो आज मौंसम सफा भएकोले रारातालको पुरै दृश्य देखिने गरेको उनको भनाइ छ । सोही कारण रारा घुम्न आउने पर्यटक बढेका हुन् ।

रारा घुम्न आउने पर्यटकहरूको सहजताको लागि विभिन्न घोडा व्यवसायीहरू गठन भएका छन् । यी घोडा व्यवसायीहरूको दैनिक आम्दानी बढाउने र पर्यटकहरूमा कसरी व्यवहार गर्ने भन्ने हिसाबले कार्यालयले घोडा व्यवसायहरूको सहजता र स्थानीय घोडा चालकको आम्दानीको राम्रो स्रोत बनाउनको लागि ऐन कानुन निमार्ण गर्न लागेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख महोश न्यौपानेले बताए ।

पछिल्लो समय राराको पुरै दृश्य हेर्न मुर्माटपमा आन्तरिक पर्यटक बढेका छन् । त्यहाँबाट सैपाल, छायाँनाथ, चंखेली, चुचेमारा हिमालसहित अन्य धामिर्क तिर्थस्थलको रूपमा रहेको बाजुरा, हुम्ला, जुम्ला, बाजुरा, अछामलगायतका ७ जिल्लाको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्