Logo

ज्योति समूह विभाजित, पद्म ज्योतिको नेतृत्वमा नयाँ घराना

काठमाडौं– नेपालको पुरानो मध्येको व्यापारिक तथा औद्योगिक घराना ज्योति समूह विभाजन भएको छ । ज्योति समूहबाट आफ्ना सम्पूर्ण कम्पनीहरू सञ्चालन गर्दै आएका पद्म ज्योतिले आइतबार ‘पद्म ज्योति समूह’ घोषणा गरेका हुन् ।

समूहको अध्यक्ष पद्म ज्योतिका साथै मीरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन् । यसअघि ज्योति समूहका मुख्य सदस्य पद्म ज्योति र रूप ज्योति रहेका थिए ।

उनीहरूले पिता मणिहर्ष ज्योतिले सन् १९४० मा स्थापनमा गरेको घरना ‘ज्योति ग्रुप’ बाट आफ्ना कम्पनीहरू सञ्चालन गर्दै आएका थिए । तर, लामो समयदेखि दुई दाजु भाइ (पद्म र रूप) बीच विवाद बढ्दै गएको थियो । आइतबार पद्म ज्योतिले समूहको लोगो सार्वजनिक गर्दै नयाँ औद्योगिक समूह सञ्चालनमा आएको जानकारी गराएको हो ।

अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्षको विरासतलाई कायम राख्नको लागि नयाँ अध्याय सुरू गरिएको बताएका छन् । यो समूह अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा दुई पांग्रे छन् ।

पद्म ज्योति समूहले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्ने र नयाँ पुस्ताको नेतृत्वमा संस्थागत विकासलाई अगाडि बढाउने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्