पर्यटकको गन्तव्य बन्दै रसुवाको खाम्जिङ
धादिङ– काठमाडौंबाट एक सय २५ किलोमिटर दूरीमा रहेको रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको वृद्धिममा रहेको खाम्जिङ गाउँ पर्यटकीय गन्तव्य बन्न थालेको छ । काठमाडाैंबाट नजिकको दुरीमा रहेको रसुवा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य गन्तव्य मध्येको एक हो । पछिल्लो समय यो पर्यटकको विश्राम स्थल बनेको छ । वरपर अजंगको पहाडबीचमा पारिलो र जता फर्के पनि हिमशृखला मात्र देखिने स्थान छ ।
त्यही स्थानमा झुरुप्प परेको बस्तीले स्याफ्रुबाट त्यस स्थानमा पुग्न पर्यटक गन्तव्य बन्न थालेको हो । पछिल्लो समय पथप्रदर्शकले लाङटाङ पदयात्रा तय गर्दा खाम्जिङमा एक दिन विश्राम गर्ने तालिका बनाउने गरेका छन् । काठमाडौंको धुवाँ, धुलो, कोलाहल वातावरणबाट टाढिएर खाम्जिङको शान्त वातावरणले पर्यटकलाई आनन्द दिने पर्यटन व्यवसायी बलराम न्यौपानेले बताए । धेरैजसो पर्यटक खाम्जिङको तामाङ बस्तीमा एक दिन नबसी लाङटाङको यात्रा तय गर्दैनन् ।
बाटाको संकेतले एकछिन कताबाट लाङटाङ जाँदा ठीक हुन्छ भन्नेमा मन दोधार बन्ने गर्छ । खाम्जिङको उकालो चढ्दै चारै तिरको हरियाली हेर्न मन पराउनेहरू उकालो लाग्छन् । बिहानीको शीतल छहारीसँगै भोटेकोशी र लाङटाङ खोलाबाट आउने चिसो हावाले एकछिन भने पनि खोला किनारामा बसौँ–बसौँ लाग्ने बनाउँछ । खोलाको बहाबसँगै सांगीतिक धुनमा लाङटाङ जानेहरू तेर्साे लाग्छन् । वृद्धिम हुँदै लाङटाङ पुग्ने कि लाङटाङ खोलाको तीरैतीर बम्बो हुँदै लाङटाङ जाने, त्यो आफूमा निर्भर हुन्छ ।
जहाँबाट जाँदा पनि अन्तिम उद्देश्य उही लाङटाङ पुग्ने हुन्छ । भोटेकोशीको पुलमै लेखिएको छ, वृद्धिममा यहाँलाई स्वागत छ । त्यहाँ दुई विकल्पका पदमार्ग छ । लाङटाङको पुरानो पैदल मार्ग खाम्जिङ जाने या नयाँ पदमार्गका रूपमा विकास भएको लाङटाङको तीरैतीर उकाली–ओराली गर्दै हिँड्नाको मज्जा छुट्टै हुन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक खलखल पसिना निकाल्दै वृद्धिमको खाम्जिङ लम्कने गर्छन् ।
नजिकै हरिया वनपाखा, लमतन्न बगिरहेको भोटेकोशीको दृश्य नियाल्दै हिँड्दा यात्रा गरेको पर्यटकले पत्तै पाउँदैनन् । वृद्धिम खाम्जिङ पुग्न गोरेटो बाटो जाने की सडकमार्गबाट जाने दुई विकल्प छन् पर्यटकलाई । दृश्यावलोकन गर्दै सुसेली हाल्दै हिँड्नेका लागि सल्लाघारीको पातले सुसेलेर बोलाएजस्तो हुन्छ जसको मज्जा अर्को रोमाञ्चक पक्ष बन्छ । स्याफ्रुबेँसी भन्दामाथि जति उक्लियो उति नै रोमाञ्चक देखिन्छ । उकालो चढ्दै गर्दा सर्पजस्तै देखिने चिलिमे जाने सडक पर्यटकको अर्को आकर्षण हो ।
करिब दुई घण्टाको पैदल यात्रापछि जिल्लाको पुरानो पर्यटकीय पदमार्गमा पर्ने वृद्धिमको खाम्जिङ पुगिन्छ । एक हजार नौ सय ८० मिटर उचाइमा रहेको खाम्जिङ तामाङ सांस्कृतिक पदमार्ग हो । खाम्जिङबाट स्याफ्रुबेँसी, हिमाली श्रृृखलाको मनोरम दृश्यावलोकन गर्न पाइने भएकाले एक दिन भने पनि आन्तरिक तथा बाह्य पर्यटक हिमाली दृश्य हेर्न यहाँ बस्ने गर्छन् । त्यसैले वृद्धिम पुग्ने पर्यटक एक दिन भने पनि घरबासमा बसेर स्थानीय खानाको परिकारको स्वादमा भुल्ने गरेको स्थानीयवासी तेन्जिङ तामाङले बताए ।
खाना, बस्न र बिहानको चियासहित एक दिनको पाँच सय होमस्टेको शुल्क छ । सबैका घरमा पाहुना बस्नका लागि राम्रो व्यवस्था गरेका छन । शहरका बजारका होटेलभन्दा पनि सफा र चिटिक्कका कोठामा राखेर खाम्जिङवासी पर्यटकलाई नयाँ सिस्नु र ढिँडोले स्वागत गर्छन् । पुरानो पैदलमार्ग भएकाले पर्यटक एक दिन यहाँ बसेर आफ्नो गन्तव्यतर्फ लाग्ने गरेको पर्यटन व्यवसायी स्थानीयवासी तेन्जिङले बताए । धार्मिक, सांस्कृतिक भेषभुषा र रहनसहनमा धनी रहेको रसुवाको वृद्धिममा पर्ने खाम्जिङवासीको पहिचान छुट्टै छ ।
चीनको तिब्बतसँग साइनो गाँसेको खाम्जिङले गाउँ आउने जोसुकै पर्यटकलाई स्थानीय खानाको परिकार र तिब्बती चिया चखाउन भ्याइहाल्छ । पर्यटक पनि तिब्बती चिया भनेपछि उसै हुरुक्क हुन्छन् । चैत, वैशाख, असोज र कात्तिकमा खाम्जिङबाट लाङटाङ जाने विदेशी पर्यटक पदयात्रा नै सजिलो मान्छन् । विदेशी पर्यटक मात्र पदयात्रा गर्छन् भन्ने भ्रम चिर्दै अहिले नेपाली तन्नेरीहरू पनि आउने गरेको होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष निशान गजुरेलले बताए ।
सुन्दर खाम्जिङ पर्यटकको आकर्षणका लागि समय समयमा तिब्बती र शेर्पा नाचले पर्यटकलाई बसिरहौँ झैँ लाग्ने बनाउँछन् । बिहानीको सूर्योदयले नजिकैका हिमाललाई लाली चढाइदिएको दृश्य बिहान उठ्ने बित्तिकै हेर्न पाइन्छ । त्यसैले यहाँ आउने पर्यटक एक दिन खाम्जिङ बसेर भने पनि बिहानको चियाको चुस्कीसँगै हिमालसँग आँखा जुधाउँछन् । बिहानको हिमाली सौन्दर्यसँगै तिब्बती भेषभूषामा सजिएका फरासिला मनका धनी शेर्पा–शेर्पिनीको मुस्कान र खानाको परिकारले विदेशीलाई मात्र होइन आन्तरिक तन्नेरी पर्यटकको पनि मन पगाल्ने गर्छ ।
तामाङ सांस्कृतिक सम्पदा मार्गअन्तर्गत करिब सात दिनको पदमार्गबाट पनि खाम्जिङ पुग्न सकिन्छ । पर्यटकलाई एक दिन स्याफ्रु राखेर त्यहाँबाट गोल्जुङको तामाङ बस्ती हुँदै काठले छाएको एकैनासले बनेका गत्लाङ ल्याएर दृश्यावलोकन गराएपछि चिलिमे, नागथली थुमनबाट एक घण्टा पैदल झरी भोटेकोशी पुल तराइन्छ । पुल तरेसँगै रसुवागढी स्याफ्रुबेँसी जाने सडकलाई छिचोल्दै वृद्धिमको लिङलिङ भई पर्यटकीयस्थल खाम्जिङ पुग्न सकिन्छ ।