नेपाल ऊर्जा ज्योती सम्मान’ स्वर्गीय शैलजा आचार्यलाई «

नेपाल ऊर्जा ज्योती सम्मान’ स्वर्गीय शैलजा आचार्यलाई

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल ऊर्जा ज्योती सम्मान’ पूर्व जलस्रोत मन्त्री स्वर्गीय शैलजा आचार्यलाई प्रदान गर्ने भएको छ । नेपालमा ऊर्जा क्षेत्रको विकासका निजी क्षेत्रलाई प्रवेश गराउन नीतिगत रुपमा दुरगामी र परिवर्तनकारी योगदान गरेको भन्दै उनलाई इप्पानले सम्मान प्रदान गर्न लागेको हो ।
२०५४ सालमा उपप्रधान मन्त्री एवं जलस्रोत मन्त्री भएको बेला निजी क्षेत्रले उत्पादन गर्ने बिजुलीको विद्युत् खरिद दर (पीपीए) प्रति युनिट ३.२० पैसा कायम गरी नेपालमा निजी क्षेत्रले जलविद्युत्मा लगानी गर्नका लागि ढोका खोल्ने काम उनले गरेकी थिइन् । एक लाख राशीको सो सम्मान इप्पान अध्यक्ष शैलेन्द्र गुरागाई, नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भीम गौतम र ऊर्जा क्षेत्रका विज्ञ एवं पूर्व सचिव सुमन शर्मा रहेकोे निर्णायक समितिले छनोट गरेको थियो । छिट्टै हुन लागेको इप्पानको साधारणसभामा सो सम्मान वितरण गर्ने कार्यक्रम रहेको इप्पानले जनाएको छ ।
नेपालको ऊर्जा क्षेत्रमा विभिन्न किसिमले विशिष्ट योगदान पु-याउने लगानीकर्ता, राजनीतिज्ञ, इन्जिनियर, पत्रकार, संघ संस्था आदिलाई प्रदान गर्ने गरी पहिलोपटक इप्पानले सम्मान स्थापना गरेको जनाएको छ । प्रत्येक वर्ष प्रदान गरिने सम्मानका लागि इप्पान अध्यक्ष गुरागाइँले आफ्नी स्वर्गीय छोरी श्रीनिका गुरागाइँको सम्झनामा १० लाख रुपैयाँको कोष स्थापना समेत गरेका छन् ।
सरकारले बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४९ सालमा ल्याएको विद्युत् ऐनबाट जलविद्युत् आयोजनामा निजी क्षेत्रले लगानी गर्न पाउने व्यवस्थासँगै इप्पानको सन् २००१ म इप्पान स्थापना भएको हो । नेपालमा हालसम्म सरकारी र निजी क्षेत्रबाट ११ सय मेगावाट विद्युत् उत्पादन भएकोमा निजी क्षेत्रबाट मात्र ६३३ मेगावाट उत्पादन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्