भूकम्पबाट भत्किएका शिक्षा र स्वास्थ्यका संरचना निर्माण हुँदै
वीरेन्द्रनगर– कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना निर्माण गर्नका लागि अख्तियारी प्रदान गरेको छ । गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय तथा स्वास्थ्य संस्था निर्माण गर्नका लागि प्रदेश सरकारले नाम र संख्या टुंगो लगाएर अख्तियारी प्रदान गरेको हो ।
जाजरकोट र सल्यानबाट भूकम्पबाट भत्किएका भौतिक संरचनाको विवरण आएलगत्तै प्राथमिकताका आधारमा पहिलो चरणमा दुई जिल्लामा भौतिक संरचना निर्माण गर्नका लागि जिल्लामा अक्तियारी पठाएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताए । मंसिर १८ गते निर्णय गरेर जिल्लामा पठाएको उनले जानकारी दिए । जाजरकोटको बारेकोट–६ को सीता माध्यमिक विद्यालयलाई ७५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै बारेकोट–२ को जनज्योति आधारभूत विद्यालय अर्यनलाई ५० लाख, बारेकोट–९ स्थित दिपेन्द्र माध्यमिक विद्यालय सक्लालाई ७५ लाख, बारेकोट–७ सुवाकोटलाई ७५ लाख, बारेकोट–१ बयालमा रहेको भगवती आधारभूत विद्यालयलाई ५० लाख विनियोजन गरिएको पूर्वाधार विकास कार्यालय, जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्रप्रसाद जैसीले बताए ।
त्यस्तै नलगाड नगरपालिकामा नलगाड नगरपालिका–६ स्थित निर्मल ज्योति आधारभूत विद्यालयलाई ७० लाख, नलगाड–८ को पञ्च भयार माध्यमिक विद्यालयलाई ७० लाख, नलगाड–७ को त्रिभुवन प्राथमिक विद्यालयको भवन निर्माण गर्न ७० लाख, नलगाड–३ को कैलाशकन्या आधारभूत विद्यालय ४५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै भेरी नगरपालिका–१० स्थित भैरव आधारभूत विद्यालय भुरचौरलाई ५५ लाख, भेरी नगरपालिका–७ को सूर्यज्योति आधारभूत विद्यालय मिथेन्ग्रालाई ६० लाख, भेरी–३ स्यालास्थित विजय प्राथमिक विद्यालय ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
छेडागाड नगरपालिकाको छेडागाड नगरपालिका–७ टिकाचौरमा रहेको भानुभक्त आधारभूत विद्यालय निर्माण गर्न ७५ लाख, छेडागाड–१० स्थित सरसस्वती आधारभूत विद्यालय काफ्लाको भवन निर्माण गर्न ६० लाख, छेडागाड–९ राजिकोट स्थित शान्ति आधारभूत विद्यालयको भवन निर्माण गर्न ६० लाख र छेडागाड–४ को दिपेन्द्र आधारभूत विद्यालय चौरजेवाको भवन निर्माण गर्न ६० लाख रकम विनियोजन गरी अख्तियारी दिइएको छ ।
त्यस्तै कुशे गाउँपालिका–२ स्थित मान्नेढुंगा माध्यमिक विद्यालय टालेगाउँलाई ७५ लाख, त्यस्तै वडा नम्बर ८ को नेपाल राष्टिय प्राथमिक विद्यालय भवन निर्माण सँटालाई ७५ लाख, वडा नम्बर ६ को छहरागाउँस्थित पुतली प्राथमिक विद्यालयको भवन निर्माणका लागि ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै शिवालय नगरपालिकामा पाँचवटा विद्यालय बन्ने भएका छन् । जनता प्राथमिक विद्यालय शिवालय–८ लाई ६० लाख, नेरा मावि शिवालय–२ सिस्नेलाई ६० लाख, शिवालय–२ कालिका प्राविलाई ६० लाख, नेपाल राष्ट्रिय मावि शिवालय–१ लाई ५५ लाख र शिवालय–६ को सरस्वती माविलाई ४५ लाख रकम विनियोजन गरी अख्तियारी प्रदान गरिएको छ ।
त्यस्तै जुनिचाँदे गाउँपालिकामा ५ वटा विद्यालय निर्माण हुने भएका छन् । जसमा जुनिचाँदे–५ को जय गौरव प्रावि खातीगाउँलाई ६५ लाख, वडा नम्बर २ को सरस्वती आधारभूत विद्यालयलाई ७५ लाख, वडा नम्बर २ को भैरव माविलाई ७५ लाख, वडा नम्बर ८ को पदन ज्योति माविलाई ७५ लाख र वडा नम्बर ९ को कालिका प्रावि लातालाई ४५ लाख विनियोजन गरिएको छ । जाजरकोटमा २२ वटा विद्यालय पहिलो चरणमा निर्माण हुन लागेका हुन् ।
कहाँकहाँ निर्माण हुँदैछन् स्वास्थ्य संस्था ?
बारेकोट–३ स्थित सामुदायिक स्वास्थ्य एकाई कठर रुससिललाई ५० लाख रुपैयाँमा भवन निर्माण गर्न लागिएको छ । त्यस्तै वडा नम्बर ४ को जिरीमा रहेको सामुदायिक स्वास्थ्य एकाईलाई ५० लाखमा निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । नलगाड नगरपालिका–१२ को भगवती स्वास्थ्य चौकी औलगुत्तालाई ५० लाख, वडा नम्बर ४ को स्वास्थ्य चौकी लहँलाई ४५ लाख विनियोजन गरिएको छ ।
भेरी नगरपालिका–२ को स्वास्थ्य चौकी बाहुनथानालाई ४० लाख, वडा नम्बर ६ को गंगटियालाई ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्वास्थ्य चौकीलाई ५० लाख, वडा नम्बर ८ को सामुदायिक स्वास्थ्य एकाई रुवलाई ५० लाख, वडा नम्बर ६ को सुवानाउली स्वास्थ्य एकाईलाई ४५ लाख रकम विनियोजन गरिएको छ ।
त्यस्तै जुनिचाँदे गाउँपालिका–२ स्थित मजकोट स्वास्थ्य चौकी निर्माण गर्न ५० लाख, वडा नम्बर ११ को कोताङ स्वास्थ्य चौकी निर्माण गर्न ५० लाख विनियोजन गरिएको छ । त्यसैगरी सल्यानको दामा गाउँपालिकामा चारवटा विद्यालय निर्माण हुने भएका छन् । दार्मा गाउँपालिका–५ स्थित अन्नासक आधारभूत विद्यालयलाई ७५ लाख, वडा नम्बर ४ को कालिका आधारभूत विद्यालयलाई ७५ लाख विनियोजन गरिएको छ ।
सिद्धकुमाख गाउँपालिकाको ४ सागिनेमा रहेको जनसेवा आधारभूत विद्यालयलाई २५ लाख र शारदा नगरपालिका–५ को जनकल्याण आधारभूत विद्यालयलाई २५ लाख रकम विनियोजन गरिएको छ । स्वास्थ्य संस्थाहरूमा कुमाख गाउँपालिका–३ सामुदायिक स्वास्थ्य एकाई निर्माण गर्न ५० लाख, बागचौर नगरपालिका–३ को आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न २५ लाख विनियोजन गरिएको छ । रुकुम पश्चिममा भने अझै निर्माणका लागि भौतिक संरचनाको टुंगो लागेको छैन ।