Logo

खाद्य कम्पनीको बिक्री केन्द्र ७५३ वटै स्थानीय तहमा पुग्दै

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ७५३ वटै स्थानीय तहमा बिक्री केन्द्र स्थापना गर्ने भएको छ । स्थानीय तहमा उत्पादन हुने कृषिजन्य रैथाने बालीको खरिद र बजारीकरण गर्ने तथा सुलभ रूपमा नियमित खाद्यान्न उपलब्ध गराउने उद्देश्यले कम्पनीले सबै स्थानीय तहमा बिक्री केन्द्र स्थापना गर्न लागेको हो ।

दुर्गम जिल्लामा उत्पादन हुने वस्तुले बजार नपाउँदा खेतबारीमै कुहाउनुपर्ने बाध्यता र अत्यावश्यक खाद्यवस्तुको सहज उपलब्धता नहुने समस्या देखिएकाले स्थानीय तहमा बिक्री केन्द्र स्थापना गर्न लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए । गोदाम, विद्युत व्यवस्थापन, बिक्री केन्द्र निर्माण र व्यवस्थापन खर्च स्थानीय पालिकाले व्यहोर्ने शर्तबमोजिम कम्पनीले बिक्री केन्द्र स्थापना गर्ने उनले जानकारी दिए ।

कम्पनीले बिक्री केन्द्रमा खाद्यान्न ढुवानी, बिक्री व्यवस्थापन र बजारीकरण खर्च व्यवस्थापन गर्ने उनले बताए । यस्तै, विभिन्न शर्तसहित बाजुराको दुर्गम तथा विकट क्षेत्रमा पर्ने हिमाली गाउँपालिकासँग सम्झौता गर्ने कम्पनीको तयारी रहेको प्रमुख आचार्यले जानकारी दिए । अन्य गाउँपालिकासँग पनि सम्झौताका लागि प्रक्रिया अघि बढेको छ । हिमाली गाउँपालिकाको वडा नम्बर एक विच्छ्यामा खाद्य बिक्री केन्द्र स्थापना गरिनेछ । यसका लागि कम्पनीले २५ सय क्विन्टल चामलको व्यवस्थापन गर्नेछ ।

हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीले कम्पनीसँग बाजुराको विकट क्षेत्रको विच्छ्यामा खाद्य बिक्री केन्द्र स्थापना गर्न हुन लागेको सम्झौताले स्थानीय खुसी भएको बताइन् । केन्द्र स्थापना हुँदा बुढीनन्दा नगरपालिकाको कोल्टी बजारमा भात खानका लागि दुई दिन लगाएर चामल खरिद गर्नुपर्ने बाध्यता अन्त्य हुने सार्कीको भनाइ छ । ‘खाद्यको बिक्री केन्द्र हुँदा विच्छ्याका स्थानीयले रैथाने बाली उत्पादन गरी उपार्जन गर्न सक्छन् । आम्दानीको स्रोत नहुँदा भारतमा रोजगारीका लागि जानुपर्ने बाध्यता छ,’ उनले भनिन् ।

कम्पनी प्रमुख आचार्यका अनुसार पालिका र कम्पनीबीच हुने सम्झौतामा खाद्यान्नको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरण प्रभावकारी वनाउन सहकार्य गर्ने तथा स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको संकलन, बजारीकरण र बिक्रीको सुनिश्चितताका विषय समेटिने छन् । कम्पनीले खाद्यान्नको ढुवानी र दैनिक बिक्री व्यवस्थापन मिलाउने, जनशक्ति व्यवस्थापन तथा कम्प्युटर, बिलिङ प्रणाली सञ्चालन गर्नेछ । यसैगरी स्थानीय तहले संकलन गरेका रैथाने बालीहरूको खरिद र बजारीकरण गर्ने, बिक्री केन्द्रमा आवश्यक पर्ने खाद्यान्नको नियमित आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी कम्पनीको रहेछ ।

हिमाली गाउँपालिकाको जिम्मेवारी गोदाम, विद्युत र बिक्री कक्षको व्यवस्थापन रहनेछ । यसैगरी गाउँपालिकाले पालिकामा रहेका जनतालाई कम्तिमा ३ महिनासम्म धान्ने मौज्दात क्षमता भएको गोदाम उपलब्ध गराउनु पर्नेछ । यसैगरी आवश्यक विद्युत÷इन्टरनेट र स्थानीय जनतालाई पायक पर्ने स्थानमा बिक्री केन्द्रको व्यवस्था निःशुल्क रुपमा उपलब्ध गराउनेछ । साथै स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरू संकलन र व्यवस्थापन गर्नुपर्छ । गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित्त रैथाने बालीहरु चिनो, कागुनु, भटमास, कोदो, फापर, मार्सी चामल आदि संकलन गर्नुका साथै ती बालीको उपलब्धता अध्ययन गरी खाद्य कम्पनीलाई जानकारी गराउनु पर्नेछ । यस्तै रैथाने बाली संकलन गरी निश्चित समयका लागि भण्डार समेत गरिदिनु पर्ने शर्त कम्पनीको छ ।

गाउँपालिकाले आफ्नो पालिकाको खाद्यान्न मौज्दात व्यवस्थापनको अवस्था नियमित रुपमा अनुगमन तथा निगरानी गर्नुका साथै त्यसको संरक्षण र सुरक्षा व्यवस्थापन पनि गर्नु पर्नेछ । यसैगरी स्थानीय कृषक र उत्पादकहरूलाई प्रोत्साहन अनुदान तथा आवश्यक तालिमको व्यवस्था गर्नु पर्नेछ । विद्यालय दिवा खाजामा स्थानीय रैथाने उत्पादनका साथै कम्पनीबाट उत्पादित पौष्टिक तत्व स्तरोन्नति गरिएको चालमसमेत प्रयोग गर्ने कुराको सुनिश्चतता समेत पालिकाले गर्नु पर्नेछ । यसैगरी खाद्यान्नको गुणस्तर, मूल्य निर्धारण र ढुवानी मापदण्डहरू कम्पनीको नियमअनुसार दुवै पक्षको सहमतिमा तय गरिनेछ । बिक्री केन्द्रको सञ्चालन समय स्थानीय आवश्यकता अनुसार निर्धारण गरिनेछ । रैथाने बाली खरिद गर्दा स्थानीय कृषकको उत्पादनलाई प्राथमिकता दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्