Logo

कारोबार स्वतन्त्र र निष्पक्ष पत्रकारिताको आत्मा हो: अध्यक्ष भट्ट

काठमाडौं– टीबीआई पब्लिकेसन्सका अध्यक्ष भवन भट्टले कारोबार दैनिकले अर्थतन्त्रसँग सम्बन्धित सत्यतथ्य खबर पस्कने गरेको बताएका छन् । कारोबार दैनिकको १५औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै अध्यक्ष भट्टले भने ‘हामी कसैसँग बार्गेनिङ गर्दैनौं, कसैलाई दुख पनि दिदैनौं । स्वतन्त्र र निष्पक्ष पत्रकारिता हाम्रो आत्मा हो ।’

अध्यक्ष भट्टले मुलुकको आर्थिक समृद्धिका लागि सरकारलाई सुझाव दिने गरी समाचार आउने गरेको नदेखिएपछि यही ‘ग्याप’ लाई पुरा गर्न १५ वर्ष अघि कारोबार प्रकाशन सुरु गरिएको जानकारी दिए । उनका अनुसार कारोबार पत्रिका प्रकाशनको विशुद्ध उद्देश्य मुलुकको आर्थिक विकास र समुन्नतिका लागि सहयोग पुर्‍याउनु हो । यही कारण कारोबारमा प्रकाशित हुने समाचारहरु सरकारलाई सुझाव दिने गरी निष्पक्ष हुन्छन् ।

कार्यक्रममा कारोबारका सम्पादक बालकृष्ण ज्ञवालीले कारोबार स्थापना भएको डेढ दशक हुनु भनेको पत्रिकाको समग्रपक्ष अनुभवी र व्यवहारीक बनेको भन्दै अब कुनै पनि गल्ति गर्ने छुट नभएको बताए । ‘मुलुकमा अनलाइन पत्रिकाहरु बढ्दै गएका कारण छापा माध्यमको भविष्य के हुने हो भन्ने शंका एकातर्फ सही हो’ सम्पादक ज्ञवालीले भने ‘तर कारोबार दैनिक छुट्टै विधाको पत्रिका भएको एंव आफ्नो क्षेत्रमा निकै लोकप्रिय बनेकाले यसको भविष्य राम्रो छ ।’

अहिलेसम्म कारोबार निष्पक्ष भइ सरकार निजी क्षेत्र र आम उपभोक्ताको विषयमा जसरी प्रस्तुत भएको छ भविष्यमा अझ निखारताका साख समाचार पस्किने प्रतिवद्धता ज्ञवालीको थियो । पत्रिका राम्रो हुन सम्पादकिय पक्ष मात्रै बलियो भएर नहुने भन्दै उनले मार्केटिङ, सर्कुलेसन तथा सबै कर्मचारीहरुको उत्तिकै मिहनेत आवश्यक पर्ने बताए ।

त्यसैगरी कारोबारका प्रशासन प्रमुख भरतबहादुर चन्दले पहिलो राष्ट्रिय आर्थिक दैनिक १६ औं वर्ष प्रवेशको अवसरमा सबै सरोकारवाला पक्षलाई धन्यवाद दिंदै मुलुकको समग्र विकासका लागि आर्थिक विकास अपरिहार्य भएको बताए । काराबोर स्थापना भएपछि यसले देशमा आर्थिक मुद्दाहरु उठान गरेको तथा आर्थिक समृद्धिमा महत्त्वपूर्ण टेवा दिएको उनको भनाइ थियो । डेढ दशकको सफलताले कारोबारको काँधमा थप जिम्मेवारी आएको पनि उनले बताए ।

टीबीआई पब्लिकेसन्सको माउ कम्पनी विवि होल्डिङका हरिभक्त श्रेष्ठ, हेमन्त वराल र राज रेग्मीले कारोबारले प्रकाशनको १५ वर्ष पुरा गरेकामा शुभकामना दिंदै अहिले कारोबारले बजारमा आफ्नै किसिमको सकारात्मक छाप छोडेको बताए । उनीहरुले आगामी दिनमा कारोबार अझै जिम्मेवार संचार सस्थाका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्