२७ वर्षदेखि बन्द टिकापुर विमानस्थल अब नियमित सञ्चालनमा
काठमाडौं- कैलालीको टिकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आइतबारबाट सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आएको हो । आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ५ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको छ ।
पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईंलगायतले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिकापुर नगरपालिकाका प्रमुख प्रमुख थारुले टिकापुरको विमानस्थल ओझेलमा परेको र आझेलमा परेको विमानस्थल जसरी पनि चलाउनुपर्ने भनेर आफू लागिपरेको बताए ।
उनले फलत: अहिले विमानस्थल सञ्चालनमा आएको र टिकापुरकै सम्पत्ति भएको बताए । पटक पटकको छलफलबाट विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको बताए । विमान अवतरणका क्रममा सयौँको संख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए ।