Logo

किवी खेतीमा जमेका श्रीकृष्ण

धादिङ– जिल्लामै पहिलो पटक किवी खेती सुरु गरेका श्रीकृष्ण अधिकारी अहिले अरुलाई किवी खेतीमा आउन प्रेरण बाँड्दै हिँडिरहेका छन् । आफूले १५ रोपनी जग्गामा २०७२ सालदेखि खेती गरेर र तेस्रो वर्षबाट राम्रो आम्दानी गरेकाले अरुलाई पनि सिकाउन मन लाग्छ भन्छन् अधिकारी । मध्ये पहाडी क्षेत्रमा राम्रो खेती गर्न सकिने किवीका लागि धादिङको माटो र हावापानी उपयुक्त छ ।

अन्य बालीभन्दा खेती गर्न सजिलो एक पटकको लागनीबाट वर्षौं उत्पादन लिन सकिने भएकाले किवी खेतीमा लागेको अधिकारीले बताए । सुरुमा तीन सय बिरुवा लगाएको तेस्रो वर्षबाट उत्पादन सुरु भयो । सुरुमा अलि लगानी परे पनि दीर्घकालसम्म हुन्छ । एक वर्ष बढी उत्पादन हुने र अर्को वर्ष कम उत्पादन हुने हुन्छ । यो वर्ष करिव साढे दुई टन उत्पादन भयो । उत्पादन भण्डार गर्ने क्रममा दिनप्रतिदिन तौल कम हुँदै जान्छ ।

हालसम्म एक टन बिक्री गरें । अब एक टन बिक्री गर्न सकिन्छ । मैले ग्रेडिङ गरेर किवी बजार लान्छु । ए ग्रेडको प्रतिकेजी तीन सय रुपैयाँ र बी ग्रेडलाई दुई सय रुपैयाँमा बिक्री गरिरहेको छु । सी ग्रेडको लाई प्रतिकेजी पचास रुपैयाँमा बिक्री गरिरहेको छु । धादिङ बजारमा मेरा नियमित उपभोक्ता छन् । उहाँहरूले फोन गरेर माग गर्छन । म घर घरमा पुर्‍याउन जान्छु । त्यही भएर लामो समयसम्म किवी भण्डार गरेर राख्न परेको छ ।

व्यापारीलाई बिक्री गर्दा सस्तोमा बिक्री गर्नुपर्ने भएकाले दिइन । बरु लामो समय दु:ख गरेर भए पनि आफ्नै उपभोक्तालाई बेच्छु भनेर व्यापारीलाई दिइन । गत वर्ष एक हजार दुई सय क्विन्टल बिक्री गर्दा तीन लाख ५० हजार रुपयाँ आम्दानी भएको थियो । यस वर्ष २० क्विन्टल बिक्रीबाट पाँच लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । जिल्लामा तरकारी तथा फलफूल राख्ने शीतभण्डार नभएकाले लामो समय राख्न नसकिएकाले राम्रो मूल्य पाउन नसकेको अधिकारीले बताए ।

लामो समय कपडा पसल गरेका नीलकण्ठ नगरपालिका–३ का श्रीकृष्ण अधिकारीले २०७२ सालबाट वडा नं. १ काउलेमा किवी खेती गरेका छन् । अन्न खेतीको तुलनामा किवी खेतीबाट तीन गुणाभन्दा बढी फाइदा लिन सकिन्छ । किवीको नियमित सेवनले निरोगी बन्न मद्दत गर्नुका साथै किवीलाई बढी पौष्टिक आहारको रूपमा समेत लिएको अधिकारीले बताए । विस्तारै जिल्लाको रुवीभ्याली, नेत्रावती डवजोङ, गजुरी, बेनिघाट रोराङका र नीलकण्ठकै ज्यामरुङमा समेत किसानले किवी खेतीको सुरुवात गरेका छन् ।

कम लागतमा बढी आम्दानीको गर्न सकिने किवी खेती धादिङको लागि उपयुक्त खेतीका रूपमा रहेको छ । तीनै तहको सरकार मिलेर धादिङलाई किवीको हब बनाउन लाग्नुपर्ने अधिकारीको धारण छ । युवाहरू पलायन भइरहेको बेला किवी खेतीको विस्तारले बाँझो जमिन सदुपयोग हुनुका साथै देशमा नै रोजगारी सिर्जना हुनेछ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय पदार्थ बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्