Logo

काँकडभिट्टबाट भेनीयर निर्यात दुई सय ४२ प्रतिशतले बढ्यो

बिर्तामोड– नेपालको पूर्वी नाका काँकडभिट्टबाट दुई सय ४१ दशमलव ९४ प्रतिशतले भेनीयर निर्यात वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको अवधिमा भन्दा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भेनीयर सीटको निर्यात वृद्धि भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताएका हुन् ।

काँकडभिट्टा नाका भएर आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा ४ करोड ८१ लाख ११ हजार रुपैयाँ मूल्यबराबरको भेनीयर सीट निर्यात भएकोमा चालु आर्थिक वर्ष २०८१/८२ कोे साउनदेखि कात्तिक मसान्तसम्ममा १६ करोड ४५ लाख १२ हजार मूल्यबराबरको भेनीयर सीट भारत निर्यात भएको उनले बताए । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा भेनीयर सीट निर्यात व्यापारमा वृद्धि भएको उनको भनाइ छ ।

२०७९ साउन १ देखि २०८१ असोज मसान्तसम्म पूर्वीनाका काँकडभिट्टाबाट पाँच अर्ब ९२ करोड मूल्यबराबरको भेनीयर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताए । २७ महिनामा काँकडभिट्टा नाकाबाट ७३ करोड ६४ लाख मूल्यबराबरको भेनीयर पत्ती पाँच अर्ब १८ करोड रूपैयाँ मूल्यबराबरको प्लाईबोर्ड भारत निकासी भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिए ।

नेपाल भेनीयर उत्पादक संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनीयर उद्योगले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

नेपालमा विदेशी मुद्रा आर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनीयर र प्लाई काठको निर्यातले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउँदै उनले भारतबाट भेनीयर र प्लाइ आयात गरेर माग धान्नुपर्ने अवस्था रहेकामा हाल भेनीयर र प्लाईबोर्डमा नेपाल आत्मनिर्भर मात्र नभएर भारत निकासी गर्ने मुलुक बनेको बताए । नेपालमा भेनीयर पत्ती सिधैँ भारत निर्यात हुने गरेको उनको भनाइ छ ।

पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठबाट भेनीयर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको बताउँदै उनले पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठको गोलिया काठबाट भेनीयर पत्ती उत्पादन हुने र भेनीयर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको जनाए । नेपाल भेनीयर उत्पादक संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले भेनीयरले प्लाई उद्योगको लागि कच्चापदार्थ उत्पादन गर्ने र नेपालको निजी वनलाई व्यवसायिक बनाउन टेवा पुर्‍याउँदै आएको बताउँदै भेनीयरको संरक्षण सरकारले गर्नुपर्ने बताए ।

भेनीयर व्यवसाय सरकारलाई धेरै राजस्व बुझाउने र धेरैलाई रोजगारी प्रदान गर्ने भए पनि भेनीयर उद्योग संकटमा परेको बताउँदै उनले नेपालमा उत्पादन भएको भेनीयरलाई भारतलगायत तेस्रो मुलुक निर्यातका लागि वातावरण बनाइदिन आग्रह गरे । हाल नेपालमा एक सय २० भन्दा बढी संख्यामा भेनीयर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको उनले जानकारी दिए ।

झापामा सबैभन्दा बढी ३८ भेनीयर उद्योग स्थापना भएको र भेनीयर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरू स्थापना भएको नेपाल भेनीयर उत्पादक संघका केन्द्रीय महासचिव दिनेश शाक्यले जानकारी दिए । प्लाइउड उद्योगहरूले आफूलाई आवश्यक पर्ने कच्चा पदार्थको ८० प्रतिशत आपूर्ति गर्नका लागि उद्योगभित्रै एक सयभन्दा बढी भेनीयर मेसिन जडान गरेकाले त्यसले आफूहरू समस्यामा परेको उनको भनाइ छ ।

विदेशी मुद्रा भित्र्याउने र राजस्व अभिवृद्धिमा योगदान पुर्‍याउने भेनीयर उद्योगप्रति राज्यको नीति सकारात्मक हुनुपर्ने र प्रोत्साहनको वातावरण बनाउनुपर्ने उनले बताए । भेनीयर पत्ती भारत निकासी गर्दा प्रति केजी ६ रुपैयाँका दरले भन्सार महसुल बुझाउनु परेको भए पनि प्लाईबोर्डको भारत निकासीमा शून्य भन्सार महसुल कायम गरेर सरकारले आफूहरूलाई सौतेलो व्यवहार गरेको उनको भनाइ छ ।

नेपाल भेनीयर उत्पादक संघले भेनीयर उद्योगप्रतिको विभेदकारी नीति हटाउन र भन्सार महसुल घटाउन पटक–पटक माग गरे पनि त्यसको हालसम्म सुनुवाइ नभएकाले सरकारले भेनीयर उद्योगप्रतिको विभेदकारी नीति हटाउन र भन्सार महसुल घटाउन पहल गरेर आफूहरूलाई न्याय दिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्