Logo

कारोबारको १५ वर्षः यस्तो छ निजी क्षेत्रको धारणा

काठमाडौं– २०४६ को राजनीतिक परिवर्तनपछि राजनीतिलाई समाचारको मुख्य विषयवस्तु बनाएर ‘ब्रोडसिट’ मा पत्रिकाहरु प्रकाशनको बाढी आइरहेका बेला १५ वर्षअघि २०६६ मा कारोबार दैनिकको प्रकाशन सुरु भएको थियो ।

टिविआई पब्लिकेसन्सले राजनीतिक पत्रिकाको भीडभन्दा पर पुगेर मुलुकमा पहिलो पटक आर्थिक विषयवस्तुलाई सबैभन्दा बढी महत्व दिने गरी कारोबार दैनिक प्रकाशन सुरु गरेको थियो । यो आफैंमा पहिलो र जोखिमपूर्ण कार्य थियो । अहिले कारोबार आफ्नो क्षेत्रमा सबैभन्दा लोकप्रिय र अब्बल बन्न सफल भएको छ ।

मुलुकको आर्थिक विकास र समृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य राखेर प्रकाशित हुँदै आएको कारोबारलाई निजी क्षेत्रले कसरी हेरेको छ ? हामी आफ्नो लक्ष्यमा खरो रुपमा उत्रिन सफल छौं वा छैनौ ? हामीले अझै केकस्ता विषयमा सुधार गर्न आवश्यक छ ? कारोबारको १५ औं वार्षिकोत्सवका अवसरमा निजी क्षेत्रका संघसंगठनका प्रतिनिधिहरुसँग लिएको धारणा ।

चन्द्रप्रसाद ढकाल
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
विगत १५ वर्षमा अर्थतन्त्रका मुद्दालाई पेचिलो रुपले उठाउन कारोबारले खेलेको भूमिकालाई हामी निजी क्षेत्रले एउटा सशक्त प्रयासका रुपमा लिएका छौं । देशको पहिलो आर्थिक दैनिकको जिम्मेवारी पनि स्वतन्त्र, निपक्ष र सन्तुलित रुपमा निर्वाह गर्न सकेको मेरो बुझाइ छ । निजी क्षेत्रको आवाज बुलन्द बनाउन कारोबार सहयोगीमात्रै नभएर स–साना व्यापारी व्यवसायीहरुको आवाज बन्न सफल भएको छ । अब आगामी दिन अझ सशक्त र निपक्ष रुपमा आर्थिक मुद्दा उठाउन यो १५ वर्षको अनुभवले कारोबार थप बल पुग्नेछ भन्ने विश्वास लिएको छु ।

राजेशकुमार अग्रवाल
अध्यक्ष, नेपाल उद्योग परिसंघ
बितेका १५ वर्षमा हामीले धेरै उतारचढावको अनुभूति गरेका छौं । समग्र अर्थतन्त्रको विकासका निजी क्षेत्रसँगै नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण योगदान गरेका छन् । त्यसमध्ये आर्थिक क्षेत्र केन्द्रित कारोबार दैनिकले यसलाई राम्रोसँग पैरवी गरेको छ । आर्थिक विषयमै केन्द्रित भएर दैनिक पत्रिका प्रकाशन हुनु निजी क्षेत्रका लागि पनि राम्रो पक्ष हो । आगामी दिनमा नीतिगत विषय, आर्थिक मुद्दा एवं सहज व्यावसायिक वातावरण निर्माण गरी समग्र अर्थतन्त्रको विकासका सवालमा यस पत्रिकाले थप गहन भूमिका खेल्ने विश्वास छ ।

कमलेश अग्रवाल
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श
कारोबार राष्ट्रिय आर्थिक दैनिकले आर्थिक मुद्दामा राम्रो पैरवी गर्न सफल भएको छ । सरकार र निजी क्षेत्रको बीचमा निष्पक्ष भएर सूचना प्रवाह गर्ने, व्यावसायिक वातावरण निर्वाह गर्ने सवालमा महत्वपूर्ण भूमिका खेलेको छ । उद्यम व्यवसायको प्रवद्र्धन, आर्थिक मुद्दाहरुमा गहन विश्लेषण र अपडेटेड जानकारी पाठकलाई दिन सफल भएको छ ।

सुयोग श्रेष्ठ
अध्यक्ष, विकास बैंकर्स संघ नेपाल
मुलुकको अर्थतन्त्रको विकासलाई मूलधार बनाएर समाचार तथा लेखमार्फत सरोकारवाला निकायलाई झकझकाउँदै अर्थतन्त्रको विकासमा कारोबार राष्ट्रिय आर्थिक दैनिकले महत्वपूर्ण तथा सशक्त भूमिका निर्वाह गर्दै आएको छ । बैंकिङ क्षेत्रको विकासलाई मूल विषय बनाएर समाचार तथा विचार सम्प्रेषण गर्दै यस क्षेत्रको विकासका समेत कारोबार राष्ट्रिय आर्थिक दैनिकले भूमिका खेल्दै आएको छ । कारोबार दैनिकको अबको यात्रा झनै सशक्त बनोस्, शुभकामना ।

उपेन्द्रप्रसाद पौड्याल
अध्यक्ष, सिबिफिन
विगतदेखि नै कारोबार राष्ट्रिय आर्थिक दैनिक मैले पढ्दै आएको पत्रिका हो । कारोबार दैनिक भोलिका दिनमा अझ परिष्कृत रुपमा खोजमूलक पत्रकारितामा अगाडि बढ्छ भन्ने विश्वासका साथै शुभकामना व्यक्त गर्दछु । कारोबार दैनिकको कलर फरक आएको मलाई अझै पनि सम्झना छ । अन्य विदेशी पत्रिकाहरूकै जस्तो गरी यो पत्रिका आएको थियो ।

सुनिल केसी
अध्यक्ष, नेपाल बैंकर्स संघ
विशुद्ध आर्थिक क्षेत्रको पत्रिकाको रुपमा सुरू भएको कारोबार दैनिकले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाई आफूलाई नेपालको अग्रणि मिडियाको रुपमा स्थापित गर्न सफल भएको छ । कारोबार दैनिकले नेपालको बैंकिङ क्षेत्रको विकासमा पुर्‍याएको योगदानप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । कारोबारको १५ औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण बैंकिङ क्षेत्रको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्