Logo

प्रकाशकीय

हाम्रो प्रतिबद्धता

नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक पत्रिका कारोबार १५ वर्ष पुगेर आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । कुनै पनि सञ्चार गृहका लागि डेढ दशकको समय आफैंमा धेरै ठूलो होइन । तर पनि डेढ दशक निरन्तर संस्था सञ्चालनमा रहनु भनेको हामी परिपक्व रुपमा अगाडि बढदैछौं भन्ने हो ।

कारोबार प्रकाशन सुरु भएको यो डेढ दशकभित्र मुलुकमा थुप्रै उतारचढाव आए । मुलुकको शासकीय स्वरुपमा परिवर्तन भयो । अहिले मुलुक संघीय गणतन्त्र बनेको छ । तीन तहका सरकार सञ्चालनमा छन् । गाउँघरमै सरकारी सेवा पुगेको छ । राजनीतिक रुपमा यो अवधिमा जति परिवर्तनहरु भए पनि आर्थिक रुपमा मुलुकले उल्लेखनीय गति लिन सकेन र सर्वसाधारण नागरिकको जीवनमा खास परिवर्तन आउन सकेन ।

१५ वर्षको अन्तरालमा मुलुकको बजेट २८५ अर्बबाट १८६० अर्बमा पुगेको छ । कुल बजेटमध्ये ९८० अर्ब चालु खर्च बढ्दा पुँजीगत बजेट २४६ अर्बमात्र बढेको छ । यसले स्पष्ट हुन्छ– हामीले पूर्वाधार विकासमा खर्च बढाउन सकेका छैनौं । योमात्र होइन, सरकारले लगानीका लागि निजी क्षेत्रलाई पनि हौसला दिने काम गर्न सकेको छैन ।

२०७२ सालमा आएको ठूलो भुकम्प, त्यसपछि सामना गर्नुपरेको अघोषित नाकाबन्दी, कोभिड माहामारी र त्यसपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी, समय–समयमा आएका बाढी–पहिरोलगायतले सरकारलाई काम गर्न असजिलो भएको पक्कै हो । तर, समस्यालाई अगाडि राखेर मात्र काम नगर्ने छुट अब सरकारसँग छैन ।

हाम्रो लक्ष्यअनुसार आगामी दुई वर्षभित्र विकासशील मुलुकमा परिणत हुँदैछौं । यसका लागि पनि सरकारले थप ‘डेलिभरी’ गर्नैपर्छ । हामीले मुलुकभित्र पहिलो पटक आर्थिक पत्रिका प्रकाशन गर्नु पछाडिको मुख्य उद्देश्य ‘विकास र समृद्धि’ मा सहयोग पुर्‍याउनु थियो । यस हिसाबले हाम्रो तर्फबाट सरकारलाई सधैं सक्दो सहयोग रहनेछ ।

विकास र समृद्धिमा सहयोग पुर्‍याउने हाम्रो मूल उद्देश्य सँगसँगै एउटा सञ्चार गृहको नाताले अरु पनि कर्तव्य र दायित्व छन् । मुलुकभित्र आर्थिक अनुशासन, सुशासन, अमनचयन, मानव अधिकार, सर्वसाधारण नागरिकको आवाज सरकारसँग पुर्‍याउनु हाम्रो दायित्व हो । यसमा हामी चुकेका छैनौं । श्रद्धेय पाठकवर्गले यसको मूल्यांकन गर्नुभएको छ । हामी आगामी दिनमा अझै परिष्कृत हुँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जाहेर गर्छौं ।

डेढ दशकको यो यात्रामा सरकारी, गैरसरकारी, निजी क्षेत्र एवं सर्वसाधारण नागरिकले कारोबारलाई अपार माया गर्दै आउनुभएको छ । यो यात्रा तपाईंहरुको सहयोग र साथबिना सम्भव थिएन । यो लामो यात्रा सफल बनाउन सहयोग गर्नुहुने अभिभावक, पाठक, विज्ञापनदाता, शुभचिन्तक एवं मित्रजनहरुमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेका छौं ।

अध्यक्ष/टिबिआई पब्लिकेसन्स

प्रतिक्रिया दिनुहोस्