हल्दिया बन्दरगाह नेपाललाई उपयुक्त

हल्दिया (भारत)-नेपालका लागि तेस्रो मुलुकसँगको व्यापारमा आयात निर्यातका निमित्त प्रयोग गरिने कोलकाताभन्दा हल्दिया बन्दरगाहको प्रयोग नेपालको हितमा देखिएको छ । पारवाहन सेवामा पटक–पटक समस्या बेहोर्दै आएको नेपाली आयातकर्ताहरूले सामान आयात गर्नका लागि हल्दिया बन्दरगाह प्रयोग गर्नसके नेपालीहरूको व्यापार व्यवायमा पनि केही सहज हुने अपेक्षा गरिएको छ ।
भारतको पश्चिम बंगालको मुख्य सहर कोलकाताको बीचमा कोलकाता बन्दरगाह रहेकोले त्यहाँबाट सामान आयात गर्दा जाम हुने, भन्सार चेकजाँचले समस्या आउने साथै कन्टेनर समयमा नआउँदा विलम्ब शुल्क तिर्नुपर्ने बाध्यताका कारण आर्थिक भार थपिने भएकोले नेपालमा आइपुग्दा सामान महँगो पर्न जाने व्यावसायीहरूले बताउने गरेका छन् । हल्दिया बन्दरगाह प्रयोग गर्नसके कन्टेनरहरू सिधै वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आइपुग्ने र आयातकर्ताहरूले विलम्ब शुल्क र अन्य थप खर्च बेहोर्नुपर्ने बाध्यताबाट मुक्त हुन सक्छन् । कोलकातामा आयात गरिएको कन्टेनरहरू भीडभाडका कारण जथाभावी कन्टेनर राखिने र नेपाली आयातकर्ताहरूलाई पनि जानकारी हुन नसक्ने भएकोले पनि समस्या हुने गरेको छ ।
तर, हल्दियामा भने कन्टेनर फ्रेट सिस्टम (सीएफएस) प्रविधि प्रयोग गरिएकोले आफुले आयात गरिएको कन्टेनर सजिलै पत्ता लाग्ने र ढुवानीमा सजिलो भइ छिटो गन्तब्यमा पुग्नसक्ने भएकोले हल्दिया नेपालीहरूको हितमा हुने देखिएको हो । यद्यपि, नेपाली आयातकर्ताहरूले भने हल्दिया बन्दरगाहलाई विश्वासिलो भने मान्न सकेका छैनन् । हल्दिया बन्दरगाहलाई नेपाली आयातकर्ताहरूले विश्वसनीय रूपमा लिन नसक्दा नेपाली आयातकर्ताहरू कोलकताबाटै सामान आयात गर्न बाध्य भएको हल्दिया बन्दरगाह टर्मिनलका वरिष्ठ बजार व्यवस्थापक तपनसेन गुप्ताले बताए । उनले भने, “नेपाली आयातकर्ताहरूले हल्दिया बन्दरगाहलाई विश्वसनीय रूपमा लिएका छैनन्, उनहरूलाई हल्दियाको सेवा सुविधाको बारेमा यथेष्ट जानकारी नभएर पनि नेपाली हितमा प्रयोग गर्न नसकिएको हो ।” नेपालमा आयात गरिने डर्टी कार्गोहरू धेरैजसो हल्दिया बन्दरगाहबाट नै आउने गरेको र समय पनि कम लाग्ने भएकोले नेपाली आयातकर्ताहरूको लागि यो बन्दरगाह प्रयोग गर्न सके नेपालको हितमा रहेको गुप्ताको दावी छ ।
नेपालले हालसम्म भारतबाट प्रयोगका लागि पाएको ३ वटा बन्दरगाहमध्ये दोश्रो बन्दरगाह हल्दिया हो । कोलकाताबाट करिब १ सय २५ किमीको दूरीमा रहेको यो बन्दरगाहबाट नेपालका लागि आयात हुने रासायनिक मल तथा कोइलाजस्ता डस्टी कार्गो आउने गर्छ । यहाँबाट रेलमा ढुवानी गरी वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सोलस्थित रेल्वे स्टेशनमा कोइला लगिन्छ भने रासायनिक मल वीरगञ्जकै सिर्सिया सुक्खा बन्दरगाहमा लगिन्छ । यहाँबाट रक्सौल वीरगञ्जको दूरी करीब ८ सय २५ किलोमिटर छ । यहाँबाट निर्वाध रूपमा मालबाहक रेल रक्सोल÷वीरगञ्जसम्म पुग्न मुस्किलले ३ देखि ४ दिनमात्र लाग्छ । कोलकाताको सहज र सस्तो विकल्प भए पनि नेपाली आयातकर्ताले तुलनात्मक रूपमा यो बन्दरगाहको प्रयोग हालसम्म कम नै गर्ने गरेका छन् ।
कोइला, जिप्सम, क्रुड आयल, रासायनिक मललगायत बल्क तथा डस्टी कार्गो आयातका लागि मात्र नेपाली आयातकर्ताले यो बन्दरगाह प्रयोग गर्ने गरेका छन् । मालबाहक कन्टेनर प्रायः कोलकाता बन्दरगाह हुदै आयात गर्न रुचाउँछन् । तर कोलकाता बन्दरगाहमा हुने अव्यवस्था, जाम आदि समस्याको कारण नजिकको बिकल्प हल्दिया बन्दरगाह हुँदाहुदै पनि नेपाली आयातकर्ताको ध्यान हल्दियामा जान सकेको छैन ।