सरकारले घरजग्गा व्यवसायलाई माथि उठाउँछ ः अर्थमन्त्री पौडेल
काठमाडौं–अर्थमन्त्री विष्णु पौडेलले घरजग्गा व्यवसायलाई धरासायी हुनबाट सरकारले बचाउने बताएका छन्।
नेपाल जग्गा तथा आवास विकास महासंघको शुक्रबार भएको तेस्रो महासभामा बोल्दै मन्त्री पौडेलले घरजग्गा व्यवसायलाई उठाउने गरी सरकारले काम गर्ने बताए।
‘तपाईहरुले राखेका सबै माग पूरा गर्न नसकिए पनि सरकारले यो व्यवसायलाई धरासायी हुन दिँदैन,उनले भने, ुढुक्क हुनुहोस्। हामी सकारात्मक छौं।’
उनले सरकारले घरजग्गा व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नीतिगत रूपमा पहल गरिरहेको जानकारी दिए।
अनुमति प्राप्त कम्पनीबाट घरजग्गा व्यवसाय हुनपर्ने, ब्रोकरलाई लाइसेन्सको प्रबन्ध गर्नुपर्ने तथा ल्याण्ड पुलिङ र हाउस पुलिङमा निजी क्षेत्रलाई सहभागी गराउनु पर्ने लगायतका व्यवसायीका माग प्रति सरकार सकारात्मक रहेको अर्थमन्त्री पौडेलले बताए।
सरकारले निजी क्षेत्रको सहभागिता बिना व्यवस्थित बसोबासको कल्पना गर्न नसक्ने उनको भनाइ छ। पौडेलले यो व्यवसायलाई उद्योगको मान्यता दिन सरकार सकारात्मक रहेको पनि बताए।
कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले खाना, नाना र छाना मानिसको मुख्य आवश्यकता भएको भन्दै सरकारले जनतालाई बासको व्यवस्था गरिदिनुपर्ने बताए।
घरजग्गा व्यवसायमा रहेका समस्याहरू आपसमा छलफल गरी समाधान गर्न सकिने प्रतिबद्धता उनले व्यक्त गरे।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यवस्थित सहरीकरणका लागि घरजग्गा व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताए।
घरजग्गा व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न महासंघले पहल गरिरहेको उनको भनाइ छ।