निजी अस्पतालले नर्सलगायत स्वास्थ्यकर्मीलाई सरकारीसरह सेवा सुविधा दिनुपर्ने
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई सरकारीसरह सेवा सुविधा दिन पत्राचार गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निजी अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारीभन्दा सेवा सुविधा कम नगर्ने गरी व्यवस्था मिलाउन निर्देशन दिए पछि मन्त्रालयले अस्पतालहरुमा पत्राचार गरेको हो ।
यस्तै अतिरिक्त समय काम गर्नेका लागि थप भत्ताको व्यवस्था मिलाउने व्यवस्था गर्न पनि पौडेलले भनेपछि सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।
सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा मन्त्रालयबाट पत्राचार भएको हो।
मन्त्री पौडेलले यसअघि सार्वजनिक प्रतिबद्धता गरेअनुसार मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तिमा सरकारसरह लागू गर्न लागिएको हो।
मन्त्रालयले पठाएको पत्रमा न्यूनतम पारिश्रमिक तथा सुविधा सरकारीभन्दा नघट्ने गरी लागू हुनुपर्ने उल्लेख छ। यसैगरी, तोकिएको भन्दा बढी काम गरेमा अतिरिक्त व्यवस्था लागू गर्न पनि भनिएको छ।
यसैगरी मन्त्रालयले करार गरेर मात्र जनशक्ति राख्न तथा ज्यालादारीमा काम गराउन नपाउने निर्णय गरेको छ।
मन्त्रालयले न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि नर्सिङ तथा स्वास्थ्य जनशक्तिलाई बैंकबाट मात्र पारिश्रमिक उपलब्ध गराउन पनि पत्राचार गरेको छ।