आर्थिक क्रान्ति सफल भए विकास सम्भव «

आर्थिक क्रान्ति सफल भए विकास सम्भव

हो, हामीलाई विकास र समृद्धिसँगै मुलुकको अर्थतन्त्र पनि बलियो भएको हुनुपर्छ । मुलुकको अर्थतन्त्र बलियो भए मात्र विकासको परिवर्तनले मुलुकको भविष्य उज्ज्वल हुन्छ । जति पनि विकसित मुलुकहरू छन् ती सबै आ–आफ्नो क्षेत्रमा विकासका लहरहरूले भरिपूर्ण बनाएका छन् । किन त ? त्यस देशका अर्थतन्त्र पारदर्शी छ, मुलुकप्रति जिम्मेवार छन् । मुलुक विकास भए मात्र जनता पनि विकसित हुन्छन् भन्ने मान्यता छ ।
आफ्नो उत्पादित वस्तुहरूको उचित बजारीकरण, प्राकृतिक स्रोत र साधनको उचित प्रयोग, मुलुकको सरकारी तथा गैरसरकारी कार्यालयमा निष्पक्ष तरिकाको सेवाभाव आर्थिक पारदर्शितालगायतले गर्दा विकसित मुलुकहरू झन् विकसित हुँदै गइरहेका छन् । जुन देशमा भ्रष्टाचारको गति शून्य छ त्यस देशमा विकास र समृद्धि भएकै छ । हुन त हामी ठूला–ठूला कुरा मात्र गर्छौं तर मुलुक बनाउन भने हरेक ठाउँमा तँछाडमछाड हुन्छ । स–सानो तहका कर्मचारीदेखि ठूला–ठूला तहसम्मको कर्मचारीहरूको घूसकाण्ड, विकास–निर्माणमा ढिलासुस्ती तथा सरकारी आयव्ययको अपारदर्शिता तथा लेखा परीक्षणमा अनियमितताले गर्दा नै मुलुकको हरेक विकास–निर्माणमा बाधा मात्र आइपरेको देखिन्छ ।
बजेटहरू पारित हुन्छन्, समयमै कार्य सम्पन्न हुन नसक्दा विकास निर्माणमा छुट्याईएका बजेट फ्रिज हुन्छन् । सरकारले ल्याएको विकास–निर्माणका आयोजनाहरू शिलान्यास हुन्छन्, कार्य गति निकै सुस्त मात्रामा अघि बढ्छन् ।
हरेक राजनीतिक दलका नेताहरूले भाषणमा मात्र भन्छन्, मुलुकमा आर्थिक क्रान्ति नभए मुलुक विकास हुन सक्दैन । मुलुकमा विकास र समृद्धि ल्याउन आर्थिक क्रान्ति ल्याउनु जरुरी हुन्छ । जब देशमा आर्थिक क्रान्ति हुन्छ त्यहाँ विकासको सम्भव हुन्छ । तर अहिले त्यसको प्रत्याभूति ठीक उल्टो भएको हो कि भन्ने आममानिसको गुनासो छ ।
उदाहरणका लागि केही महिनाअघि मात्रै नागढुङ्गा नौबीसे सुरुङमार्गको शिलान्यास भयो तर स्थानीयको मुआब्जाको कुरा नमिल्दा कतै योजनामा मात्रै सीमित त हुने होइनन् भन्ने आममानिसको गुनासो हुन थालेको छ । त्यस्तैगरी गौरवका योजनामध्ये पानी जहाजको कुरा गर्दा पनि पानीजहाज उद्घाटनभएको वर्ष दिन भैसक्यो तर पानीजहाज कार्यालय स्थापना भएका छन्, तर पानीजहाज सरकारका तर्फबाट आउने कहिले पो हो ? केही दिनअघि मात्रै एक निजी कम्पनीले आफ्नो पानीजहाजको सफल परिक्षण गरेको छ । यो सबै नेपालीका लागि अत्यन्तै खुसीको कुरा हो भने पर्यटन भ्रमण वर्ष नजिकिँदै गर्दा पनि यो समयमा निकै लाभदायी पनि हो ।
वास्तवमा पानीजहाज निजी कम्पनीले ल्याउनु भनेको निकै चुनौतीपूर्ण कुरा हो । हामी सबै नेपालीले गर्व गर्नैपर्छ । आशा गरौँ, नेपाल सरकारले ल्याएको नेपाली झन्डावाहक पानीजहाज कहिले आउने हो, प्रतीक्षामा रहौँ । त्यस्तैगरी अर्को योजना भनेको काठमाडौँमा मोनोरेल । हो, तपाईं–हामीले केही वर्षअघि नै राजधानीमा मोनोरेलको आशा गरेका थियौँ, तर त्यो आशा नभई निराशामा मात्रै सीमित हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावताका घोषणापत्रमा भनेका थिए— राजधानीमा अब मोनोरेल आउँछ ।
तर, आज निर्वाचित भएर जिम्मेवारी सुम्पेको पनि साढे दुई वर्षभन्दा बढी भइसक्यो, खोइ त नेपाली जनताले मोनोरेलको प्रत्याभूति गर्न पाएको ?
यसरी जनताको आँखामा छारो हाल्न पाइन्छ ? मोनोरेलको विषयमा के–कस्तो तयारी भएको छ ? जनतालाई जानकारी छ ? यो पनि केवल योजनामा मात्र सीमित हुने देखिएको आममानिसको बुझाइ छ । त्यस्तै गरी अर्को विकास निर्माणका योजना मध्य राजधानीमा भ्युटावरको अवस्था कस्तो छ ? राजधानीको मुटु रत्नपार्क स्थित पुरानो बस पार्कमा निर्माणाधीन भ्यू टावर बन्ने कहिले ? यसको सिलन्यास भएको पनि वर्षौं बितिसक्यो । अझसम्म पनि बनि सकेको अवस्था छैन । कति योजनामा बन्ने हो त्यो पनि सर्वसाधारणलाई जानकारी छैन । दरबार हाई स्कूल बनिसके, एतिहासिक धरहरा तेस्रो तलासम्म उठिसक्यो, तर यो भ्यू टावर भने कहिले उठ्ने हो ? त्यस्तै गरी एतिहासिक रानीपोखरीको अवस्था पनि उस्तै छ । भूकम्पले क्षति पु¥याएको पनि आज पाँच वर्ष हुन लागिसक्यो तर पूर्ण निर्माण भने अति नै सुस्त गतिमा अगाडि बढिरहेको अवस्था छ । अहिले आएर कामहरू धमाधम अगाडि बढिरहेको अवस्था देखिन्छ, तर यो पहिले नै बनिसक्नुपर्ने थियो ।
त्यो पनि विभिन्न संचारमाध्यमहरूमा पटक–पटक प्रकाशन तथा प्रसारण भएर मात्र यो ऐतिहसिक महत्व बोकेको रानीपोखरी पूर्ण निर्माण हुनेक्रम जारी छ । तर कहिले सम्पन्न हुने हो त्यो भने प्रतीक्षामा नै रहौँला ।
एतिहासिक सम्पदाहरू पनि उस्तै तरिकाले अगाडि बढिरहेका छन । राज्य संचालन हुने ठाउँ सिँहदरबार नै आजसम्म पनि पूर्णनिर्माणकै क्रममा छ । किन यति ढिला ? केले रोक्यो विकास निर्माणको काम ? कि विकास निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले धोका दिएर त होइन ? कि विकास निर्माणमा छुट्टिएको बजेटमा भएको भ्रष्टाचारले गर्दा ? हो, तर आम मानिसहरूले सोच्ने भनेकै मुलुकमा भएको भ्रष्टाचारका कारणले हरेक विकास–निर्माणका कामहरू अलपत्र छन्, ढिलासुस्ती छन् । यो त भए सरकारको तहमा रहेका केही विकास निर्माणका योजनाहरू अरू धेरै योजनाको अवस्था केकस्ता छन् । तर हामी साँच्चै आत्मसात् गरी मनन गर्ने हो भने हाम्रो देसमा धेरै ठाउँमा भ्रष्टाचारले जालो फिँजिसकेको अवस्था छ । भ्रष्टाचारसँगै तस्करी पनि उत्तिकै मौलाएको छ । यसमा पनि बढी अन्तराष्ट्रिय गिरोहले मुलुुकमा बढी अपराध सिर्जना गरेको देखिन्छ ।
केही दिनअघि मात्रै चिनियाँ मुलका नागरिकलाई नेपालको विभिन्न स्थानमा रहेर आपराधिक क्रियापलाप गर्ने चिनिया १२२ जना अपराधीहरूलाई राजधानीको विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको थियो । यसमा अन्तर्राष्ट्रिय गिरोह पनि सक्रिय रहेको देखिन्छ । त्यस्तै गरी केही महिना अघि मात्रै राजधानीको विभिन्न ठाउँबाट विभिन्न बैंकको एटिएम ह्याक गरी ठुलै मात्रमा रकमहरू चोरी गरेका थिए । यिनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको थियो भने विभिन्न मुलुकबाट आउने विदेशी पर्यटकहरूबाट अवैध लागूपदार्थहरू प्रहरीले बरामद गरेको विभिन्न संचारमाध्यमहरूमा सुनिँदै आएको छ । यसरी पटक–पटक आपराधिक गिरोहमा संलग्न अन्तर्राष्ट्रिय गिरोहहरूले पनि मुलुकमा आतंक मच्चाइरहेको अवस्था छ । हरेक बैंक वित्तिय क्षेत्र, सार्वजनिक ठाउँबाट भित्रिने मुलुकमा राजस्व चुहावट, सार्वजनिक पदको दुरुपयोगले गर्दा भ्रष्टाचार मौलाएकाले गर्दा आज मुलुकको अर्थतन्त्र पनि धेरै ओरालो लागेको अवस्था छ ।
जहाँ भ्रष्टाचारको अन्त्य हुन्छ त्यहाँ मुलुक संवृद्ध हुन्छ । यसमा सबै राजनीतिक दल एकताबद्ध हुनु जरुरी देखिन्छ । पछिल्लो चरणको राजनीतिक अवस्थालाई फर्केर हेर्ने हो भने राजनीति दल भित्र पनि आ–आफ्नो गुटबन्दीले गर्दा होस् या सरकारको असन्तुष्टिका कारण होस्, कोही दलले सरकार छाडेको अवस्था छ भने कोही दल महाधिवेशनको तयारीमा रहने नेतृत्व चयनको भागबन्डाले गर्दा कतै पार्टीमै नराम्रोे धब्बा त लाग्ने होइन भन्ने उच्च नेत्रृत्व दलका नेताहरूको सोचाइले गर्दा पार्टी हाँक्ने नेतृत्वको खोजीमा दलहरूबीच तछाँडमछाड हुने देखिएको छ ।
यसरी वातावरण सिर्जना हुँदा कसरी मुलुक विकासको समृद्धितर्फ अघि बढ्छ ? केही दिन अघि मात्रै समाजवादी पार्टीले सरकार छाडेको अवस्था छ । समाजवादी पार्टीले राखेको धारणाहरू, समस्याहरू वार्ताको माध्यमबाट पनि त समस्याको समाधान खोज्न सकिन्थ्यो नि, सरकार छाड्नुपर्ने नै त थिएन । यसले मुलुकमा समृद्धि होइन, अराजक सिर्जना हुन्छ ।
अहिले त झन् मुलुकमा पर्यटन भ्रमण वर्ष आउन केही दिन मात्र बाँकी छँदा यसरी सरकार छाड्नु राम्रो होइन । आमराजनीतिक दलले सरकारलाई साथ दिई एकबद्ध भई पर्यटन भ्रमण वर्ष सफल बनाउनु जरुरी हुन्छ । पर्यटन भनेको मुलुकको अर्थतन्त्र विकासको मेरुदण्ड हो । त्यसैले त अथिति देव भवः भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्