ग्रामीण सडकमा तीनवटा मोटरेबल पुल बन्दै
पर्वत– पर्वतका ग्रामीण सडकमा चालु आर्थिक वर्षमा तीनवटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार पैंयु गाउँपालिकाको सरौखोलास्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी–गिज्यान सडकअन्न्तर्गत मोदीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो ।
तीनवटा पुलमध्ये दक्षिण पर्वतको पैंयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । २५ मिटर लामो उक्त पुलको ४५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ । चार करोड ४३ लाख रुपैयाँ लागतमा पुल निर्माण भइरहेको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए । उनका अुनसार यो पुल निर्माणको जिम्मा कस्तुरी कन्स्ट्रक्सनले पाएको छ । यो पुलमा हालसम्म एक करोड ८३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैंयु गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङदी, भोक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए । पुल निर्माणपछि बाह्रैमास सहज रूपमा उक्त सडक सञ्चालन हुने स्थानीय खगेन्द्र तिवारीले जानकारी दिए । यता कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्नेगरी मल्याङदीखोला माथि मोटरेबल पुल निर्माण कार्य पनि सुरु हुन थालेको छ ।
१६ मिटर लामो यो पुल झण्डै दुई करोड ५० लाख रुपैयाँ लागतमा बन्न लागेको हो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुल पनि दुई वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख अर्यालले बताए । यो पुलका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन भएको छ । यो पुल निर्माण पश्चात कुश्मा नगरपालिकाको वडा नंं. ९ पिपलटारी, वडा नंं. ८ कटुवाचौपारीका साथै फलेवास नगरपालिकाका शंकरपोखरी, खानीगाउँ, थापाठाना, भँगरा, कार्किनेटा लगायतका बासिन्दा लाभान्विन हुनेछन् । पुल अभावमा अहिले यहाँका नागरिक जोखिम मोल्दै खोला वारपार गर्न बाध्य भएका छन् ।
यसैगरी मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने परादी–मोदी–गिज्यान–ठाना–तिलाहार सडकमा पर्ने मोदीखोलामा पनि मोटरेबल पुल निर्माण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका–८ परादी र मोदी गाउँपालिका–६ गाडतारा जोड्ने उक्त पुल चालु आर्थिक वर्षदेखि निर्माण गर्न लागिएको हो । पुलको टेण्डर आह्वान भइसकेको छ । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुलका लागि स्रोत सुनिश्चित हुनुका साथै चालु आर्थिक वर्षका लागि ९० लाख रुपैयाँ विनियोजन भएको र केही दिनमा निर्माण कार्य सुरु हुने कार्यालयले जनाएको छ ।
पुल निर्माणको कुल लागत झण्डै १० करोड ४५ लाख रहेको छ भने यसको लम्बाइ ७५ दशमलब ६ मिटर रहेको छ । परादी–गाडतारा–गिज्यान–ठाना–तिलाहार हुँदै कास्कीको सल्यान–भदौरे–पोखरा सडकको ट्रयाक खुलेको लामो समय भए पनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन । पुल निर्माण भएपछि यो सडकलाई मध्यपहाडी लोकमार्गको विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधिसमेत छोटिने मोदी गाउँपालिका–६ तिलाहारका वडाध्यक्ष दिपेन्द्रजंग लामिछानेले जानकारी दिए ।