नौ सय दिनमा सक्ने लक्ष्य
एक अर्ब १८ करोडको आयोजना बनाउने सम्झौता
भैरहवा– सिद्धार्थनगर नगर पालिकामा युआरएलआईपी परियोजनाअन्तर्गत शहरी सडक निर्माणसहितका पूर्वाधारका लागि ठेकेदार कम्पनीबीच बिहीबार सम्झौता भएको छ । एसियाली विकास बैक (एडिबी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा उक्त परियोजना सञ्चालन हुन लागेको हो ।
एक अर्ब अठार करोड लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालिका र निर्माण कम्पनी ईकेके इन्फ्रास्ट्रकचर लिमिडेट भारतबीच सम्झौता भएको हो । सम्झौता पश्चात कार्यदेश पाएको नौ सय दिन भित्र निर्माण कम्पनीले योजना सम्पन्न गरिसक्नु पर्नेछ । यो योजनाअन्तर्गत सडक कालोपत्रे, आरसिसी ढलान, नाला, फुटपाथ, सेफ्टी रेलिङ, खानेपानी, बिजुली, स्याटलाइट तथा नगर सौन्दर्यकरणलगायतका काम हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बताए ।
यो योजनालाई नगरको गौरवको आयोजनाको रूपमा लिइएको र समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई आग्रह गरे । एशियाली विकास बैंक (एडिबी) को ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ सञ्चालनका लागि नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट लगानी हुने नगरपालिका योजना शाखाका इन्जिनियर साकार श्रेष्ठले बताए ।
यसअघि एडिबीका आइयुडीपी र आरयुडीपीका योजना सफलता पूर्वक सम्पन्न गरे पश्चात नगरपालिकाले तेस्रो चरणको योजना सुरु गरेको हो । अघिल्ला दुई योजनाको उत्कृष्ट व्यवस्थापन गरेबापत नगरपालिका पुरस्कृत भएको थियो । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरपालिकाको अथक प्रयासले गर्दा अन्य पालिकामा भन्दा यहाँ ठेक्का प्रक्रिया छिटो भएर योजना लागु हुने चरणमा पुगेको बताइन् ।
एडिबीको ऋण लगानीमा हुने युआरएलआईपी योजना रुपन्देहीका सिद्धार्थनगरसहित तिलोत्तमा, देवदह, शैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि आएको छ । तर ती पालिकाहरूमा यो योजना अहिले अध्ययनकै क्रममा छ भने सिद्धार्थनगरमा ठेक्का सम्झौतासम्मको चरणमा आएको हो । यो योजनाअन्तर्गत विभिन्न २७ वटा सडकतर्फ साढे २३ किलोमिटर बढी लम्बाइका सडक निर्माण हुने छ । सडकतर्फ खासगरी सुगरमिल, सुकुनी पथदेखि डण्डा कोरिडोर जाने सडक, भिमकाली पथ, दुर्गा कोलनिका भित्री सडकहरू निर्माण हुने छन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौता पश्चात एक दुई महिना भित्रमै यो योजना कार्यान्वयनको चरणमा जाने बताए । उनले योजना पूरा हुँदा नगरको विकास धेरै अगाडि बढ्ने बताए । धेरै मेहनत गरेर नगरको रणनीतिक योजनालाई समयमै सुरु गर्न सफल भएको समेत उनले बताए । निर्माण कम्पनी इकेके इनफ्रास्टक्चर लिमिटेका प्रतिनिधि विक्रम गौतमले नगरको गौरवको योजनालाई आफूहरूले समयमै पूरा गर्ने प्रतिबद्धता जनाए ।