Logo

निजी क्षेत्रमा जाने कर्जा २.५ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा २.५ प्रतिशतले मात्र बढेको छ ।

यो कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो गत वर्षभन्दा २.५ प्रतिशतले बढी हो । गत कात्तिकसम्ममा निजी क्षेत्रमा जाने कर्जा ९९ अर्ब ४० करोड रुपैयाँ थियो । यो त्यसअघिका तुलनामा २.१ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको यो वर्षको चार महिनाको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत छ । अघिल्लो वर्ष यो बेलामा यस्तो अंश क्रमशः ६३.१ र ३६.९ प्रतिशत थियो ।

अहिले निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.६ , विकास बैंकहरुको २.० र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ । यो कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु)को सुरक्षणमा १३.५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६६.० प्रतिशत छ । गत वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ र ६७.३ प्रतिशत थियो।

बैंकका अनुसार कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.१, निर्माण क्षेत्रतर्फको कर्जा १.८, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.१ प्रतिशतले बढेको छ । यस्तै यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.६, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.९ र उपभोग्य क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ । तर, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७, मार्जिन प्रकृतिको कर्जा १९.६, ट्रष्ट रिसिट (आयात) कर्जा २२.१, हायर पर्चेज कर्जा २.१, नगद प्रवाह कर्जा ०.६ प्रतिशतले बढेको छ । यस्तै रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.७ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६.६ प्रतिशतले घटेको छ । कात्तिकसम्ममा कुल आन्तरिक कर्जा भने बढ्न सकेको छैन । बैंकका अनुसार चार महिनामा कुल आन्तरिक कर्जा १ं.३ प्रतिशतले मात्र बढेको हो । अघिल्लो वर्ष कात्तिकसम्ममा यस्तो कर्जा २.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा यो कात्तिक मसान्तमा यस्तो कर्जा ५.१ प्रतिशतले बढेको छ ।

मुद्रास्फीति
यो कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत थियो । यसमध्ये खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत छ । अघिल्लो वर्ष यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.९८ प्रतिशत र ४.९९ प्रतिशतले थियो ।

बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्य ३३.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ प्रतिशत र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ । यस्तै मरमसला उप–समूहको १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको मूल्य १०.४१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको छ । बैंकका अनुसार ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य ६.१९ प्रतिशतले र सहरी क्षेत्रका ५.३९ प्रतिशतले बढेको छ ।

वैदेशिक व्यापार
कात्तिकसम्ममा कुल वस्तु निर्यात ४.२ प्रतिशतले बढेर ५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्ष निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ८.४ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८.३ प्रतिशत र ३.० प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, तयारी पोशाक, जुस, अदुवा लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, कात्तिकसम्ममा कुल वस्तु आयात ०.२ प्रतिशतले बढेर ५ खर्ब १३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको आयातमा ३.८ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ०.९ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयतमा ५.० प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारीसाधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्टस्लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पाटर््स, विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ ।

यो अवधिमा कुल वस्तु व्यापार घाटामा ०.३ प्रतिशतले कमी आएको छ । अहिलेसम्म वैदेशिक व्यापारमा मुलुकले ४ खर्ब ६० अर्ब ७२ करोड घाटा व्यहोरेको छ । अघिल्लो वर्ष यस्तो घाटामा ३.३ प्रतिशतले कमी आएको थियो । अहिले निर्यात–आयात अनुपात १०.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो ९.९ प्रतिशत थियो ।

सेवा आय
कात्तिकसम्ममा खुद सेवा आय २२ अर्ब ९५ करोडले घाटामा छ । अघिल्लो वर्ष खुद सेवा आय २७ अर्ब ८९ करोडले घाटामा थियो । सेवा खाता अन्तर्गत भ्रमण आय ३.८ प्रतिशतले बढेर २६ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय २५ अर्ब ८७ करोड थियो । यस्तै भ्रमण व्यय १०.३ प्रतिशतले बढेर ६८ अर्ब ३१ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ३७ अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ६१ अर्ब ९२ करोड रहेकामा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड थियो ।

रेमिटेन्स आय
बैंकका अनुसार कात्तिकसम्ममा रेमिटेन्स आय ९.१ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिटेन्स आय २२.५ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः एक लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ थियो ।

चालु खाता र शोधनान्तर
बैंकका अनुसार कात्तिकसम्ममा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा छ । अघिल्लो वर्ष यो ९७ अर्ब १० करोडले बचतमा थियो । यस्तै शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा छ । अघिल्लो वर्ष यो एक खर्ब ५० अर्ब २४ करोडले बचतमा थियो ।

विदेशी विनिमय सञ्चिति
गत असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति अहिले १०.५ प्रतिशतले बढेर २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोडबाट ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको छ । यो चार महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्