त्रिभुवन विमानस्थल माघ १९ बाट आठ घण्टामात्र बन्द
काठमाडौं– नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने समय दुई घण्टाले घटाउने भएको छ । स्तरोन्नतिका लागि विमानस्थल कात्तिक २३ बाट दैनिक १० घण्टा बन्द हुँदै आएकोमा माघ १९ देखि आठ घण्टामात्र बन्द हुने भएको हो ।
त्यस दिनदेखि विमानस्थल बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म सञ्चालन हुने प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘माघ १९ बाट विमानस्थल बिहान र राति सञ्चालन समय दुई घण्टा थप हुनेछ । निर्माण जारी राख्ने र क्रमशः सञ्चालन अवधि वृद्धि गर्दै लगिने योजना छ ।’ सामान्य समयमा विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएकोमा प्राधिकरणले स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्म (१० घण्टा) सबै उडान बन्द गरेर विमानस्थल विस्तारको काम गरिरहेको छ । प्राधिकरणले क्षमता र गुणस्तर अभिवृद्धि गर्न विमानस्थल मर्मतको काम गर्दै आएको छ ।
हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेशनल एप्रोन र विमानस्थल पूर्वतर्फको ह्यांगर एप्रोन गरी तीन प्याकेजमा स्तरोन्नति र विस्तारको काम गर्दैछ । दुई सय जनशक्ति परिचालन गरेर काम भइरहेको र हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको आयोजना निर्देशक श्रेष्ठले बताए । प्राधिकरणले एसियाली विकास बैंकको १५ अर्ब रुपैयाँ ऋण लगानीमा विस्तारको काम अगाडि बढाएको हो । प्रमुख श्रेष्ठले भने, ‘विमानस्थल स्तरोन्नतिसँगै रनवे र ट्याक्सी वेको क्षमता वृद्धि हुनेछ । एयर ट्राफिक कन्ट्रोलरलाई ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुनेछ ।’ विमानस्थलको मुख्य धावनमार्गसँगै समानान्तर ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।
विमानस्थल स्तरोन्नतिपछि धावनमार्गको क्षमता २० देखि २५ प्रतिशत वृद्धि हुने आयोजना प्रमुख श्रेष्ठले बताए । आईकाओले तोकेको विमानस्थल मापदण्ड पालना हुनेगरी निर्माण कार्य अगाडि बढेको हो । कात्तिक २३ देखि चैत १८ गतेसम्म विमानस्थल बन्द गरेर विस्तार गर्ने योजना छ । ‘विमानस्थल स्तरवृद्धिको कार्य गर्दा रनवेको दक्षिण जोड्ने समानान्तर तथा एक्जिट ट्याक्सी वेहरु निर्माण सम्पन्न गरी प्रयोगमा आएसँगै रनवेको अकुपेन्सी समय धेरै घट्ने र रनवे, ट्याक्सी वेको क्षमता करिब २० देखि २५ प्रतिशतसम्म वृद्धि हुन्छ,’ आयोजना प्रमुख श्रेष्ठले भने । अहिलेको ट्याक्सी वे रनवेदेखि ११० मिटरको दूरीमा छ भने निर्माणाधिन ट्याक्सी वे रनवेभन्दा १७२.५ मिटरको दूरीमा हुनेछ । यसो गर्दा आईकाओको मापदण्ड परिपालना हुने आयोजनाको दाबी छ । निर्माणाधिन १८ वटा पार्किङ एप्रोन तयार भएपछि विमान आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुने प्राधिकरणको भनाइ छ ।
२०७७ सालमा पनि प्राधिकरणले विमास्थलको धावनमार्ग विस्तार गरेको थियो । त्यसबेला धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि विमानस्थल बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो ।