Logo

साताको सेयर

कर्जा बढ्यो, बढेन सेयर बजार

काठमाडौं– पछिल्लो समय सेयर बजारमा कर्जा लगानी बढिरहे पनि बजारको वृद्धि भने सुस्ताएको छ । बजार माथि उठ्न नसक्दा लगानीकर्ता निराश बन्न थालेका छन् ।

बजार उल्लेख्य बढ्ने अपेक्षा गरिए पनि सुस्ताइरहेको छ । गत बिहीबार २७३४.९४ विन्दुमा रहेको नेप्से परिसूचक आइतबार २६८९ विन्दुमा झरेको थियो । साताको पहिलो दिन भएको गिरावटले मंगलबारसम्म निरन्तरता पायो । जसअनुसार सोमबार २६७६.१५ विन्दुमा झरेको परिसूचक मंगलबार २६६९.८३ विन्दुमा ओर्लियो ।

बुधबार भने परिसूचक १.७१ प्रतिशत बढेर २७१५.७२ विन्दुमा पुग्यो । बिहीबार सेयर बजारमा पुनः गिरावट आयो । बिहीबार परिसूचक १.२३ प्रतिशत घटेर २६८२.२९ विन्दुमा झरेको छ । साताभरमा ४ दिन बजार घटेको र एक दिनमात्रै बढेको देखिन्छ ।

यो हप्ता सेयर बजार ५२.६४ अंकले घटेर २६८२ विन्दुमा बन्द भएको छ । विगत एक महिनादेखि आरसआई ५०–६० बीचमा खेलिरहेकोले बजार २६०० देखि २८०० सम्म साइडवेयजमा चलिरहेको देखिन्छ । प्रायः इन्डिकेटरहरुले पर्ख र हेरको स्थिति देखाइरहेको प्राविधिक विश्लेषक सुवाशचन्द्र ढुंगाना बताउँछन् ।

‘बजारले नयाँ तल्लो विन्दु पनि बनाउन नसकेकोले माथिल्लो रेन्जमा रिअकुमुलेसन फेज चलिरहेको हो भनेर बुझ्न सकिन्छ । बजारले २८०० को ठूलो मनोवैज्ञानिक अवरोधलाई तोड्न सके क्रेता हाबी हुने र २६१० तल लागे लगानीकर्ताको मनोविज्ञान कमजोर हुने देखिन्छ,’ उनले भने, ‘साप्ताहिक पाइभोट विन्दु २७३० माथि बजार टिक्न सकेमा बजारको करेक्सन सकियो भनेर मान्न सकिन्छ । अर्को हप्ता बजार माथि लागे सामना गर्नुपर्ने अवरोध २८००–२८६० हो भने तल आएमा हेर्नुपर्ने सपोर्ट २५७८–२६१० हो ।’

प्रायः डिसेम्बर र जनवरी महिनामा बजार सकारात्मक नै रहेको इतिहास भएकोले लगानीकर्ता अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् । नेप्से परिसूचक मात्रै हैन, पछिल्लो समय सेयर कारोबार रकम पनि घटिरहेको छ । करिब २० अर्ब हाराहारी दैनिक कारोबार हुने गरेको सेयर बजार अहिले ६ अर्ब हाराहारीमा झरिसकेको छ ।

बजार बढ्नका लागि अनुकूल समय भए पनि लगानीकर्ताको मनोबल घटेका कारण उत्साह नआएको देखिन्छ । ब्याजदर एकल अंकमा झर्नु, बैंकमा लगानीयोग्य रकम पर्याप्त हुनु लगायतका कारण सेयर बजारमा लगानी सहज अवस्थामा रहेको छ । तर, बजार बढ्न नसक्दा लगानीकर्ताको मनोबल घटेको सेयर बजारका जानकार महेश रिजाल बताउँछन् । साथै दोस्रो त्रैमासको चाप, अर्थतन्त्रमा आएको सुस्तता र मौद्रिक नीतिको समीक्षामा लचकता नआउँदा पनि सेयर बजार बढ्न नसकेको उनले बताए । बेलाबखत सरकार परिवर्तनको हल्ला आइरहने गरेकाले पनि बजार थप अघि नबढिरहेको उनको तर्क छ ।

सेयर बजारमा निराशा छाए पनि कर्जा लगानी भने बढ्दो क्रममा देखिएको छ । चालु आवको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल मार्जिन कर्जा १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । असोज अन्तिमसम्ममा १ खर्ब ५ अर्ब रुपैयाँ रहेको यस्तो कर्जा एक महिनामा नै २ अर्ब रुपैयाँले बढेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जाको क्याप हटाइदिएपछि सेयर धितो कर्जा निरन्तर उच्च दरमा बढ्न थालेको छ । गत साउनमा एक अर्ब ३३ करोड रुपैयाँले बढेको सेयर धितो कर्जा भदौ महिनामा करिब साढे ८ अर्ब रुपैयाँ र असोज महिनामा करिब ६ अर्ब रुपैयाँले बढेको थियो । कात्तिकमा पनि २ अर्बभन्दा धेरैले यस्तो कर्जा बढेको छ ।

सेयर बजारका जानकार अम्बिर बोगटीले अहिले अर्थतन्त्रमा सुस्तता आएका कारण बजार बढ्न नसकेको बताए । सेयर बजारमा लगानी बढ्न अनुकूल समय भए पनि लगानीकर्ताको मनोबल घटेको कारण समस्या सिर्जना भएको उनको भनाइ छ । अर्थतन्त्र सुधार भएर उद्योगधन्दा, घरजग्गा, सेयर बजार सबै क्षेत्रमा चलायमान आउने उनले बताए । सेयर बजारले अगाडि बढ्ने प्रयास गरे पनि अर्थतन्त्रमा आएको सुस्तताकै कारण सुस्त अवस्थामै रहेको उनी बताउँछन् ।

गत असार अन्तिमसम्ममा ९० अर्ब ९ करोड रुपैयाँ रहेको सेयर धितो कर्जा साउनमा ९१ अर्ब ४४ करोड, भदौमा ९९ अर्ब ७६ करोड, असोजमा १ खर्ब ५ अर्ब ८२ करोड र कात्तिकसम्ममा १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नै करिब १८ अर्ब रुपैयाँ कर्जा सेयर बजारमा गएको छ ।
यसले पछिल्लो समय लगानीकर्ताले धमाधम बैंकबाट सेयर धितो कर्जा लिएर सेयर बजारमा लगानी गर्न थालेको देखिएको छ ।

मौद्रिक नीतिमा लिइएका लचक नीतिले गर्दा सेयर बजार बढ्ने आशामा लगानीकर्ताले बैंकबाट कर्जा लिएर बजारमा लगानी गर्दै आएका छन् । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्