Logo

पर्यटन प्रवर्द्धन गर्दै सुनछहरी गाउँपालिका

नेपालको संविधानले व्यवस्था गरेअनुसार लुम्बिनी प्रदेशअन्तर्गत रोल्पा जिल्लाका १० स्थानीय तहमध्ये सुनछहरी गाउँपालिका एक हो । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक सुन्दरताका साथै, पर्यटकीय दृष्टिकोणबाट अति महत्वपूर्ण छ । सुनछहरी झरना, कोठीभीर, गोङबाङ युद्धस्थल, बिवाङ दह, तिलाचन ताल, जेल्बाङको चौकी आक्रमण स्थल, जेल्बाङको फलाम, सुनखानी, जलजलालगायतका स्थानलाई धार्मिक, प्राकृतिक र युद्ध पर्यटनलाई अन्तरसम्बन्धित बनाई पर्यटन क्षेत्रलाई विकास गरेर लैजान सकिने अवस्था रहेको यस गाउँपालिकामा पर्यटन विकासको सम्भावना पनि प्रचुर मात्रामा रहेको छ । गाउँपालिकालाई मूलप्रवाह बनाएर अविरल बगिरहने लुंग्री खोला, फगाम खोला, गजुल खोला तथा अन्य नदीले थप सौन्दर्यता प्रदान गरेको पाइन्छ ।

धार्मिक तथा भाषिक रूपमा विविधतामा एकता रहेको यो गाउँपालिकामा चाडपर्वका समयमा गरिने विभिन्न क्रियाकलापले यहाँको सामाजिक र सांस्कृतिक उत्कृष्टता झल्काउने गर्छन् । यस गाउँपालिकाको जलजलामा ब्रह्मा पूजा वर्षको तीन पटक, भदौरे पूजा, जेठासी मेला, मंसिरे मेला, लुङ्मा मेला, माघे संक्रान्ति मेला, कुल बराह मेला, भुमे पूजा आदि सांस्कृतिक पूजा, पर्व मनाउने गरिन्छ । यहाँ रहेका प्राचीन र ऐतिहासिक सम्पदाहरूको संरक्षण, स्तर वृद्धि तथा यहाँको भूमे पर्व तथा मेलाहरूलाई पर्यटन प्रवद्र्धनमा उपयोग गर्न सकिने अवस्था छ ।

सुनछहरी गाउँपालिकाभित्र रहेको अर्को महत्वपूर्ण धार्मिक तथा प्राकृतिक स्थल बिवाङ दह हो । स्थानीयका अनुसार यो दह प्राचीन कालमै प्राकृतिक रूपमा नै उत्पत्ति भएको पाइन्छ । उत्तर, दक्षिण र पूर्व तथा पश्चिम चारैतिरबाट अग्ला–अग्ला पहाडले घेरिएको र दक्षिण–पूर्वतिरबाट हल्का खुलेर पानी बगेको उपत्यकाजस्तै देखिने यो बिवाङ दह प्राचीन कालमा कतै उल्का पिण्डको विस्फोट भएर बनेको अनुमान गर्न सकिन्छ । रोल्पा जिल्लाकै एकमात्र जिवित दह र राप्ती नदीको उद्गम विन्दु मुहान पनि भएकाले सुनछहरी गाउँपालिकाले यसको संरक्षणमा दीर्घकालीन गुरुयोजनासहित जलवायु अनुकूलन गतिविधि गर्ने योजना बनाएको पाइन्छ । यो दह वरिपरि रहेको विशाल चौर घाँसे मैदानमा प्रशस्त मात्रामा मुसाहरू पाइने हुँदा त्यहाँको रैथाने मगर भाषामा मुसा लाई ‘बि’ र चौरलाई ‘वाङ’ भनिने भएकाले मुसा पाइने चौर भन्दा मगर खाम भाषामा ‘बिवाङ’ भनिएको पाइन्छ ।

बिवाङ दहमा प्रत्येक वर्षको साउन–भदौ महिनामा पर्ने ऋषितर्पणी पूर्णिमाको दिन भेडाको साँधा (थुमे) द्वारा ब्रह्माको पूजा गर्ने गरिन्छ । निःसन्तान दम्पतीले आफूले चाहेको वर मनमनै माग्ने र मागेको वर अरूलाई नभन्ने चलन छ । तर, यहाँका मानिसको हजारौँ वर्षको अनुभवले मागेको वर पूरा हुन्छ भन्ने जनविश्वास छ ।

सुनछहरी गाउँपालिकालाई जलवायु अनुकूलन पर्यटन विकास गर्न सुनछहरी झरनालई सुरुवाती बिन्दु मान्दै झिन्जा घोगा, फूलबारी लेक, लुङ्माडाँडा, भव धुरी, गोङवाङ, कोठीभिर, विवाङ, रावाङ, तिलाचन, दङवाङ, वुजुधुरी हुँदै तिनकिल्ला लेकसम्म गुरिल्ला पदमार्ग निर्माण गर्ने, तिनकिल्ला, सिद्ध दरबार, लुडटुड, उत्तरगंगा, खारधुरी, जलजला, धरमपानी, रानीवासा हुँदै ओखरेनीसम्म गुरिल्ला म्याराथन मार्ग निर्माण गर्ने, बिवाङ, तिलाचन, दङवाङ, पाङवाङ, यावाङ, जलजला, माझिवाङ गोङ दह आदि स्थानमा कृत्रिम तलाउहरू निर्माण गरी पर्यावरण संरक्षण गर्ने, घोगा, राडरी, गोङवाङ, बिवाङ, दङवाङ, थनवाङ, तिनकिल्ला र ओखरेनीमा घरवास कार्यक्रम (होमस्टे) को विकास र विस्तार गर्ने, सो गुरिल्ला पदमार्गमा आवश्यक धर्मशाला, प्रतीक्षालय, शौचालय, खानेपानी, यात्रु बिसौनी तथा सेल्फी पार्कहरूको आवश्यक मात्रामा निर्माण गर्ने, यहाँको प्राकृतिक, धार्मिक, युद्ध पर्यटन, भाषा र संस्कृतिको प्रवद्र्धन संरक्षण र प्रयोग गरेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउने रणनीति बनाउने, साथै सुनछहरी गाउँपालिकालाई अर्गानिक कृषि उत्पादनको हब बनाई व्यावसायिक अर्गानिक कृषि उत्पानमार्फत आत्मनिर्भर बनाउने र कृषिलाई पनि पर्यटन प्रवद्र्धनको महत्वपूर्ण अंग बनाउने, वुजुधुरीमा सहिद स्मृति गणतन्त्र पार्क बनाई २०७ जना सहिदको शिलालेख निर्माण गर्ने र उक्त स्थानलाई प्राचीन कालदेखि आधुनिक नेपालको वास्तविक इतिहास झल्किने गरी ऐतिहासिक नेपाल पार्कको रूपमा विकास गरी पर्यटकीय गन्तव्य बनाउने, बलिदान गाउँ अर्थात् सहिदहरूको रातो गाउँले चिनिने जेलवाङको लुङटुङमा डिपिआरअनुसार सहिद स्मृति पार्क निर्माण गर्ने र अनुमानित ४–५ सय वर्षअगाडि लोप भएका फरक मानव ‘तोपाछोपा’ को इतिहासलाई संग्रहित पर्यटन विकास गर्ने स्थानीय निकायको योजना छ ।

विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोतसाधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गरेको अवस्था देखिन्छ ।

देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेशमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रुपमा विकास गर्नु उपयुक्त देखिन्छ ।

तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक–सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ, जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

नेपालको लुम्बिनी प्रदेशमा अवस्थित रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका भू–बनोट, प्राकृतिक सुन्दर र ऐतिहासिक–सांस्कृतिक संवृद्धिका दृष्टिले अद्वितीय रहेको छ । यो क्षेत्र मनोरम प्राकृतिक सुन्दरता, वातावरणीय एवं जैविक विविधतासहित विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिले भरिपूर्ण छ । मनोरम सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको संगम स्थल हो । सुनछहरी क्षेत्र नेपालको ऐतिहासिक थलोका रूपमा समेत रहेको पाइन्छ । यहाँको परम्परागत जीवनशैली र सभ्यताको प्रतिनिधित्व गर्दै आएको सांस्कृतिक र ऐतिहासिक धरोहर सुनछहरी हो । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण सुनछहरीले आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटनको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण एवं प्रवद्र्धन प्रभावकारी नहुनु, व्यवस्थित रूपमा होमस्टेलगायत पर्यटकीय सुविधाहरूको उपलब्धतामा कमी, सुरक्षित पर्यटनप्रति आश्वस्त पार्न नसक्नु, व्यवस्थित होटल नहुनु, पर्यटन प्रवद्र्धनका निम्ति आवश्यक नीतिनियम तथा ज्ञानको अभाव, पर्यटकीय विकासका लागि आवश्यकीय सूचना, बाटो, धारा, पथ प्रदर्शकहरू होटल व्यवसाय, बैंक, वित्तीय संस्था आदिको अभाव प्रमुख समस्याका रूपमा रहेको छ, जसको फलस्वरूप यहाँका बासिन्दाले खास रुपमा फाइदा लिन सकेको स्थिति छैन ।

अतः यस पालिकाको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । सुनछहरी गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । त्यस्तै सो पालिकाको विकासका लागि व्यवस्थित खानेपानीको पर्याप्त उपलब्धता, बाटोघाटोको आवश्यक व्यवस्था, टे«किङ रुटको सम्भाव्यता अध्ययन, प्रभावकारी होटल तथा होमस्टेको स्थापना, पुरातात्विक अन्वेषण र संरक्षण, युद्ध संग्रहालयको स्थापना, धार्मिक पर्यटनलाई प्रोत्साहन, पर्यटन सूचना केन्द्रको स्थापना, जनचेतना अभिवृद्धि गर्दै नमुना पर्यटन गाउँपालिका निर्माण गर्नु आजको आवश्यकता हो ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाएर गरिबी न्यूनीकरण गर्दै सुनछहरी गाउँपालिकालगायत देशभरिका मानिसहरूको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्