भ्रमण वर्षको भव्य शुभारम्भ «

भ्रमण वर्षको भव्य शुभारम्भ

नेपाल भ्रमण वर्ष २०२० को बुधबार भव्य कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । राष्ट्रिय र क्षेत्रीय स्तरमा संघीय र प्रादेशिक सरकारले मुलुकका विभिन्न स्थानमा भ्रमण वर्षको विधिवत शुभारम्भ गरेका हुन् ।
काठमाडौंको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्वलन गरी उद्घाटन गरिन् । विभिन्न झाँकी र साँष्कृतिक कार्यक्रमपछि उनले विधिवत उद्घाटन गरेकी थिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले प्रकृतिलाई मासेर नभई जोगाएर मात्र नेपालको पर्यटन विकास गर्नुपर्ने बताइन् । उनले दुई दशकदेखि शिथिल नेपालको आर्थिक सामाजिक अवस्था अब पर्यटनका माध्यमबाट उकास्नुपर्ने बताइन् । सबैको सहयोग र सहभागिताबाट भ्रमण वर्ष महाभियानका रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले यसलाई सफल पार्न सबै नेपालीलाई एक जुट हुन आह्वान पनि गरिन् । पर्यटनलाई आर्थिक आधारका रुपमा लिई मुलुकको योजनाबद्ध पर्यटन विकासमा जोड दिँदै उनले यसका लागि स्रोत र साधनको उपयोग गर्न आग्रह गरेकी थिइन् । उनले भनिन्, “वसुधैव कुटुम्बकमको मान्यताबाट प्रेरित भई विश्व शान्ति, मानवता र भ्रातृत्वका लागि नेपालीहरू एकजुट हुनुपर्छ ।”
राष्ट्रपति भण्डारीले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको र यहाँ सगरमाथा, लुम्बिनी, चितवन, अन्नपूर्णबाहेक अन्य थुप्रै पर्यटन गन्तव्य भएको बताउँदै पर्यटन विकासका लागि प्राकृतिक, सांस्कृतिक, पर्यावरणीयमैत्री र भौतिक विकास गर्नुपर्नेमा जोड दिइन् । पर्यटकलाई देशभित्रै उत्पादन भएका वस्तु खानपान र प्रयोग गराउनुपर्ने सुझाव पनि उको थियो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल स्थायी शान्ति, स्थिरता, समृद्धि र सुशासनको बाटोमा रहेको र नेपालमा लगानीको उपयुक्त वातावरण बनेको भन्दै विश्व समुदायलाई भने, “आउनुहोस्, नेपाल लगानीको लागि ‘भर्जिन ल्यान्ड’ हो । नेपाल प्रकृतिको अनुपम सिर्जना हो। यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस्। जिन्दगीभरका लागि मीठो अनुभव लिएर जानुहोस् ।” उनले नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूर्ण संस्कृतिमा रमाएर जिन्दगीभरका लागि अद्भुत अनुभुति सँगालेर जान पनि आग्रह गरे ।
पर्यटनबाट प्राप्त हुने राजस्व तथा रोजगारी बढाई समग्र आर्थिक वृद्धि, प्रति व्यक्ति आय एवं कुल गार्हस्थ उत्पादनमा पर्यटनबाट हुने योगदानको हिस्सा बढाउने आफूहरुको लक्ष्य रहेको उनले बताए । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तार, पर्यटनमा गुणस्तर, बजारीकरण र ब्रान्डिङ, मानव संशाधनको विकास, सांस्कृतिक सम्पदाको विकास, पर्यटनमा अध्ययन(अनुसन्धान र अभिलेखीकरणमा मन्त्रालयले जोड दिएको मन्त्री भट्टराईको भनाइ छ ।
“नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउने कार्यक्रम छ,” उनले भने । मन्त्री भट्टराईले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको उच्च प्राथमिकताको राष्ट्रिय गौरवको आयोजना भएको भन्दै आफूहरूले देखेको सपना र राखेको उद्देश्य पूरा गर्नका लागि निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अनिवार्य छ। त्यसैले यो विमानस्थल हाम्रो लागि निर्विकल्प हो। त्यसमा राष्ट्रिय सहमति कायम भएको बताए ।
निजी क्षेत्रले नेपाल भ्रमर्ण वर्ष २०२० को तयारीमा देखाएको सक्रीय सहभागिता र आगामी अभियानका लागि जाहेर गरेको प्रतिबद्धता असाध्यै सराहनीय रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्