कात्तिकमा महंगी ५.६० प्रतिशत , रेमिटेन्स ९.१ प्रतिशतले बढ्यो
काठमाडौं– चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको यो वर्षको चार महिनाको देशको आर्थिक तथा वित्तिय स्थितिअनुसार रेमिटेन्स आय नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ ।
बैंकका अनुसार यो अवधिमा आयात ०.२ प्रतिशतले बढेको छ भने निर्यातमा ४.२ प्रतिशतले सुधार आएको छ । यस्तै शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ । यस्तै सरकारको खर्च ४१५ अर्ब २ करोड र राजस्व परिचालन ३२३ अर्ब २४ करोड रहेको छ ।
बैंकका अनुसार विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ ।
यस्तो छ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्ट