सर्वसाधारणको रकम मिटरब्याजमा लगानी «

सर्वसाधारणको रकम मिटरब्याजमा लगानी

नेपाल प्रहरीले राष्ट्र बैंकको स्वीकृतिबेगर गैरकानुनी रूपमा आर्थिक कारोबार गर्ने संस्थाको खोजीकार्य अघि बढाएको छ । बैंक तथा वित्तीय संस्था एवं सहकारीकोभन्दा बढी ब्याजदर उपलव्ध गराउने प्रलोभनमा सर्वसाधारणबाट गैरकानुनी रूपमा रकम उठाउने गिरोह पूर्वी नेपालका विभिन्न स्थानबाट पक्राउ परेपछि ब्यूरोले अन्य जिल्लामा पनि अनुसन्धान थालेको हो । राष्ट्र बैंकले पनि यस्तो अपराधमा संलग्न विरुद्धको अभियानलाई निरन्तरता दिन ब्यूरोलाई अनुमति दिएको छ ।
ब्यूरोले वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ विरुद्ध कसूर गरेको अभियोगमा त्यस्ता व्यक्ति तथा संस्थाको करोबारमाथि छानविन अघि बढाइएको जनाएको छ । यस्तो अपराधमा संलग्न गिरोहले सर्वसाधारणबाट उठाएको रकम चर्को ब्याजमा अरुलाई नै लगानी गर्ने गरेको पनि खुलेको छ ।
ब्यूरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले इटहरी, विराटनगर, धरानलगायत स्थानबाट गैरकानुनी रूपमा रकम असुल्ने ८ वटा संस्थाका सञ्चालक तथा कर्मचारी पक्राउ परेपछि त्यस्तै किसिमको अपराध अन्य जिल्लामा पनि हुनसक्ने भन्दै ‘विशेष अपरेसन’ चलाइएको बताए । “विभिन्न क्षेत्रमा लगानी गर्ने भनेर खोलिएका कम्पनीले बैंक÷फाइनान्स र सहकारीले झैं गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको पाइएपछि त्यस विरुद्ध कारवाही थालिएको हो,” एसपी श्रेष्ठले भने, “लगानी कम्पनीको नाममा संस्था दर्ता गर्ने तर काम चाही बैंक÷वित्तीय संस्थाले जसरी गर्नु वित्तीय अपराध नै हो ।” ब्यूरोले धरान, इटहरी र विराटनगरबाट पक्राउ परेका आपन इन्भेस्टमेन्ट प्रालि, हलेसी इन्भेस्टमेन्ट प्रालि, चौतारी इन्भेस्टमेन्ट प्रालि, मन्सुन इन्भेस्टमेन्ट, छिन्ताङ इन्भेस्टमेन्ट, गृहलक्ष्मी इलेक्ट्रोनिक्स सप्लायर्स, न्यु आभास फेन्सी स्टोर र पूर्णागिरी बचत इन्भेस्टमेन्ट प्रालिका ९ जना सञ्चालक पक्राउ गरिसकेको छ । उनीहरूले यी कम्पनीका नाममा सर्वसाधारणबाट १७ कोडभन्दा बढी रकम उठाइसकेको भेटिएको छ । ब्यूरोले अभियुक्तको साथबाट बैंक÷वित्तीय संस्थाकै जसरी छापिएका चेक, आर्थिक कारोबारको बिल÷भरपाई, नगद रसिद, कर्जा प्रवाह गरेको विवरण लगायतका कागजात बरामद गरिसकेको छ । ब्यूरोको अनुसन्धानमा यस्तो अपराधमा संलग्न गिरोहले बचतकर्तालाई आकर्षक ब्याजदर दिने प्रलोभनमा रकम संकलन गर्ने गरेको तर अफ्नो रकम फिर्ता लिन चाहेमा २ देखि ८ प्रतिशतसम्म सेवा शुल्क र ऋण लगानी गर्दा पनि १० प्रतिशतभन्दा बढी सेवाशुल्क कट्टा गर्ने गरेका छन् । तर आफूले सर्वसाधारणबाट जम्मा गरेको रकम तेस्रो व्यक्ति तथा संस्थालाई गैरबैंकिङ च्यानलबाट लगानी गर्ने गरेको पनि खुलेको छ । हाइड्रो, बैंक तथा वित्तीय संस्थालगायतमा सेयर लगानीका लागि पनि यस्तो गिरोहले देशभरका सर्वसाधारणबाट गैरकानुनी रूपमा रकम संकलन गर्ने गरेको ब्यूरोको भनाइ छ ।
प्रहरीले गैरबैंकिङ च्यनलबाट कसैसँग पनि आर्थिक कारोबार नगर्ने सर्वसाधारणसँग अपिल गरेको छ । ब्याजको लोभमा पर्दा गिरोह रकम लिएर फरार हुनसक्ने सम्भावना औंल्याउँदै आर्थिक कारोबार गर्दा धितो, लेनदेन कागज वा कानुनी प्रावधानअनुसार मात्रै अघि बढ्न ब्यूरोले सर्बसधारणलाई सचेत गराएको छ । यस्तो कारोबारबाट व्यक्ति मात्रै नभइ राज्यलाई पनि राजस्व नोक्सानी हुने र बैंक तथा वित्तीय संस्थामा तरलता अभाव तथा त्यस्तो सम्पत्ति अपराधमा पनि प्रयोग हुनसक्ने औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्