गरिमा समृद्धि योजना पुस ७ गतेदेखि निष्कासन हुने
काठमाडौं– गरिमा समृद्धि योजना पुस ७ गतेदेखि सार्वजनिक निष्कासन तथा बिक्री खुला हुने भएको छ । गरिमा विकास बैंक कोष प्रवर्द्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब रूपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ सार्वजनिक रुपमा निष्कासन हुन लागेको हो ।
उक्त योजनामा प्रतिइकाई १० रूपैयाँको दरले आवेदन दिन सकिनेछ । कुल योजनाको आकारमध्ये १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा पुस २१ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । गरिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो बन्दमुखी योजना हो ।