कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुन:निर्माण
काठमाडौं- काठमाडौंको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’ निर्माण सम्पन्न भएको छ । एघार मिटर उक्त कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौंको व्यस्त कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो ।
काठमाडौं व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो । त्यसलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरु परिचालन गरी विस्तृत अध्ययन गराएको थियो । प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए ।
गत साउन २८ गते विज्ञहरुले निरीक्षण गरी लागत अनुमान तयार पारी स्वीकृत गरिएको थियो । सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजार मा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । कात्तिक १ गते पुरातत्व विभागले कलभर्ट निर्माणमा सहमति दिएपछि निर्माणले गति लिएको थियो ।